जसले घरबाटै स्वर्ण जितिन्

सेतोपाटी

काठमाडौँ
तस्बिर : सेतोपाटी

सविता बुढा

कोरोनाभाइरसले प्राय: सबै सामुहिक खेल बन्द भएका बेला धनगढीकी कराते खेलाडी वर्षा साउदले स्वर्ण पदक जितेकी छन्।

अनलाइनबाटै भएको राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनसिप’मा प्रथम हुँदै वर्षाले स्वर्ण पदक र नगद पुरस्कार जितेकी हुन्।

भदौ अन्तिमतिर सामाजिक सञ्जालमा काठमाडौंमा प्रतियोगिता हुने भनेर खबर पाएपछि उनले नाम दर्ता गरेकी थिइन्।

मोहना नदी किनारको बालुवामा अभ्यास गरिरहेकी उनले घरको छतमा भाइलाई भिडिओ खिच्न  भनिन्। 

भिडिओ मेसेन्जरमा पठाइन्।

एक महिनापछि काठमाडौंबाट फोन गरेर एक जना साथीले उनले स्वर्ण जितेको बताए। उनलाई ढुक्क भएन। 

आयोजकसँग सम्पर्क गरिन्। अनलाइन प्रतियोगितामा उनले स्वर्णसँगै दस हजार नगद पुरस्कार पाएको आयोजकले बताए। 

धनगढी कराते एकेडेमीकी प्रशिक्षक वर्षा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनसिप’ सहभागी भएकी थिइन्।

प्रतियोगिताका निर्णायक आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता तथा १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक गंगाराम महर्जन र १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ थिए।

विजेतालाई दिइने नगद पुरस्कारको प्रायोजन पूर्वराष्ट्रिय कराते च्याम्पियन विजय लामा गरेका थिए।

काता र कुमिते दुबै स्पर्धामा सुदूरपश्चिम प्रदेशकी च्याम्पियन वर्षाले राष्ट्रिय खेलकुद परिषदद्वारा हालका वर्षमा आयोजित सबै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएकी छन्।

प्रकाशित मिति: : 2020-10-28 12:43:00

प्रतिकृया दिनुहोस्