अमेरिकी चुनाव प्रभावित पार्न के रुस अहिले पनि सक्रिय छ?

संजोग आचार्य

न्यूयाेर्क

२० अक्टुबरमा अमेरिकाको जस्टिस डिपार्टमेन्टले ६ रुसी सैन्य अधिकारीमाथि ग्लोबल साइबल आक्रमणको आरोप लगायो। 

यसको दुई दिनपछि २२ अक्टुबरमा फेरि अर्को एडभाइजरी जारी गर्दै रुसी ह्याकर्सले राज्य र स्थानीय सरकारी नेटवर्कलाई निशाना बनाउँदै दुईवटा सर्भरबाट तथ्यांक चोरी गरेको आरोप लगायो। 

अमेरिकाको राष्ट्रपति चुनावभन्दा दुई साताअघि आएको यो रिपोर्टले चुनावको तटस्थतामाथि नै गहिरो प्रश्न चिन्ह खडा भएको छ। साथै डर पनि बढेको छ– भोटिङ प्रक्रियामा केहि गडबडी त हुने होइन? यस्तो अवस्थामा चुनावको नतिजालाई लिएर प्रश्न उठ्नु जायज पनि हो। 

रुसी ह्याकर्सले अमेरिकी चुनावलाई प्रभावित पार्न यसपालि पनि गडबडी गरेकै हुन त? कुनै एउटा देश अर्को देशको चुनावी प्रक्रियालाई कसरी प्रभावित पार्न सक्छ? एक साताभन्दा पनि कम समय रहेको अमेरिकी चुनावभन्दा अगाडि फेरि यी सबै ठूलो प्रश्नको रूपमा तेर्सिन थालेको छ।  

चुनावको अन्तिम मिति नजिकिँदै जाँदा केही समयअघि मात्र सिनेटको एउटा गोप्य सूचना बाहिरिएको थियो। 

जसमा भनिएको थियो–रुसले रिपब्लिकन पार्टीका राजनीतिक मामिलाका व्यवस्थापक पल म्यानफोर्टमार्फत २०१६ को चुनावलाई प्रभावित पारेको थियो। जसका कारण डेमोक्रेटिक पार्टीका प्रत्यासी हिलारी क्लिन्टनले अप्रत्यासित हार बेहोर्नुपरेको थियो। 

रिपब्लिकन पार्टीको बहुमत भएको सिनेटले नै तयार पारेको रिपोर्टमा भनिएको थियो– २०१६ मा विकिलिक्समार्फत रुसले प्राप्त गरेको डेटाका कारण ट्रम्पले जितेका हुन। यो अभियानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रत्यक्ष संलग्न थिए। 

कम्प्युटर नेटवर्क ह्याक गरेर यस्तो जानकारी सम्प्रेसित गरिएको थियो, जसले हिलारीलाई नोक्सान पुर्‍यायो।  

सिनेटको रिपोर्टभन्दा अगाडि रुसी प्रभावलाई लिएर विशेष छानवीन समिति पनि गठन गरिएको थियो। जसलाई रोबर्ट मुलरले नेतृत्व गरेका थिए। उनले दुई वर्ष लामो अनुसन्धानमा कुनै प्रमाण जुटाउन सकेनन्, त्यसैले छानवीनलाई बीचमै बन्द गर्नु परेको थियो।

रुसको सरकारी समर्थनवाला ह्याकिङ समूहको गतिविधिको विषयमा यसपालि फेडरल ब्यूरो अफ इन्भिेस्टिगेसन (एफबीआई) र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको साइबर सेक्युरिटी एजेन्सीले एडभाइजरी जारी गरेको छ। 

एडभाइजरीमा यसपालिको चुनावमा रुसले कसलाई लक्षित गरेको छ, त्यो सार्वजनिक गरिएको छैन। तर, रुसी ह्याकर्सले अमेरिकी नीति र सरकारी कामकाजलाई प्रभावित तुल्याउन यस्तो हर्कत गरिरहेका छन्।  

‘हाउ टु लुज द इन्फरमेसन वारः रसिया, फेक न्युज एन्ड द फ्युचर अफ कन्फ्लिक्ट’ कि लेखिका निना जेकोभिक भन्छिन्, ‘रुसले २०१६ मा अमेरिकी मतदातालाई दिग्भ्रमित गर्न सफल भयो। यसपालि त उसलाई यसको आवश्यकता नै छैन।’

राष्ट्रपति डोनाल्ड ट्रम्प आफै दावी गरिरहेका छन्– ‘मेल–इन’ भोटिङ ठगी हो। उनले डेमोक्रेट्समाथि मेल–इन भोटिङमार्फत मत चोरी गरेको आरोप लगाइसकेका छन्। उनले नर्थ क्यारोलिनाका मतदातालाई दुई पल्ट भोट गर्न आवहन गरेका थिए, जुन गैरकानुनी हो।  

गत सेप्टेम्बरमा होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको एउटा फेक आइडीमार्फत एउटा सूचना बाहिर ल्याइएको थियो, जसमा भनिएको थियो–रुसले ई–मेल भोटिङको आलोचना गरेको छ। कोरोना महामारीको बेला भएको यो प्रचार वास्तवमा अमेरिकाको चुनावी प्रक्रियालाई दिग्भ्रमित गर्नुथियो। यो झुटो प्रचार थियो। 

मस्कोले शीतयुद्धको बेला पनि अमेरिकामा हुने गरेको जातिय राजनीति र पुलिस बर्बरताबाट फाइदा उठाउने गर्दथ्यो। यसपल्ट यो मुख्य मुद्धा नै बनिरहेको छ।  
अमेरिकामा अहिले पनि एक चौथाई मानिस २०१६ को चुनावमा रुसी हस्तक्षेप भएको स्विकार गर्छन। 

सन् २०१६ को चुनाव जस्तै अहिले डेमोक्र्याट उम्मेदवार जो वाइडेनलाई पनि यही डरले सताइरहेको छ। वाइडेनले एउटा अन्तर्वार्तामा भनेका थिए– अमेरिकाको सुरक्षा र एकतामा रुस सबैभन्दा ठूलो खतरा हो। 

आफ्नो चुनावी अभियानमा वाइडेन सबैभन्दा बढी आक्रामक रुससँग देखिएका थिए। केही साताअघि मात्र वाइडेनको आलोचनाविरूद्ध पुटिनले प्रतिक्रिया दिनुपरेको थियो। 

२९ सेप्टेम्बरमा क्लिभल्याण्डमा भएको पहिलो प्रेसिडेन्सियल डिबेटमा वाइडेनले ट्रम्पलाई पुटिनको ‘बच्चा’ भनेर सम्बोधन गरेका थिए। उनले ट्रम्पको चार वर्षे कार्यकालको समीक्षा गर्दै सबै मित्र राष्ट्रसँग झगडा गरेको र सत्रु राष्ट्रलाई अंगालेको आरोप लगाएका थिए। 

अमेरिकी विश्लेषकको दावीलाई मान्ने हो भने–चुनावको बेला मतदातालाई दिग्भ्रमित पार्नु रुसको पुरानै रणनीति हो। रुसले कम्प्युटर वा नेटवर्कलाई मात्र ह्याक गर्देन, उसले अमेरिकीहरूको चेतनालाई पनि ह्याक गर्न खोज्छ। 

यसका लागि उसले अविश्वासको माहौल बनाउने अभियान थाल्छ। अहिले यसैको असर अमेरिकी चुनावमा देखिएको त होइन?

प्रकाशित मिति: : 2020-10-29 08:01:00

प्रतिकृया दिनुहोस्