राजा हरिसिहं देवले खनेको पोखरीको नाममा ब्रम्हलूट (भिडियाेसहित)

प्राचिन राजा हरिसिंह देवले खनेको दावी गरिएको पतारी पोखरी जिर्णोद्वारका नाममा अनियमितता भएको पाइएको छ। पतारी पोखरी सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका–३ मा पर्छ। 

सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिकाले पतारी पोखरी जिर्णोद्वार तथा राजा हरिसिंह देव मन्दिर निर्माणका लागि विनियोजन गरेको १ करोड ५० लाख रुपैयाँबाट १५ प्रतिशत रकमान्तर गरि अनियमितता गरिएको खुल्न आएको हो। 

पतारी पोखरीको माटो खन्ने तथा पानी भर्ने शिर्षकमा रकमान्तर गरि अनियमितता गरिएको प्रमाण बिएल नेपाली सेवाले फेला पारेको हो ।

विएल नेपाली सेवालाई प्राप्त प्रमाणअनुसार राजा हरिसिंह देव मन्दिर निर्माणको मात्रै होइन, अन्य शिर्षकमा विनियोजित रकम पनि पतारी पोखरीमा माटो खन्ने र पानी भर्ने शिर्षकमा रकमान्तर गरि पटक–पटक अनियमितता गरेको देखिन्छ।

पतारी पोखरी जिर्णोद्वार तथा राजा हरिसिंह देव मन्दिर निर्माणका लागि आर्थिक बर्ष ०७४।०७५ मा विनियोजित १ करोड ५० लाखबाट पतारी पोखरीको माटो खन्न र पानी हाल्न १५ लाख रकमान्तर गरिएको देखिन्छ।  गाउँपालिकाको मुल सडक (रामपुर ब्रम्हपुरी सीमा स्तम्भसम्म) को मर्मतका लागि विनियोजित ३७ लाखबाट पनि १६ लाख रुपैयाँ रकमान्तर गरिएको देखिन्छ। (तस्वीरमा हेर्नुहोस्) 

त्यस्तै, श्री ज।न।ल।मावीको फिल्डमा माटो भर्ने आयोजनाको २ लाख र बजार व्यवस्थापनको लागि माटो फिलिङ गर्ने कार्यको २ लाख रुपैयाँ पनि सो पोखरीको माटो निकाल्ने र पानी भर्ने शिर्षकमा रकमान्तर गरिएको बिएल नेपाली सेवालाई प्राप्त गाउँ कार्यपालिकाको बैठकको माईन्युट पुस्तिकामा उल्लेख छ।

बजेट रकमान्तरका लागि बसेको कार्यपालिकाको बैठकको निर्णयमा उल्लेख गरिएको छ– पतारी पोखरीको माटो खन्ने तथा पानी भर्ने आयोजनाको लागि १० लाख र २५ लाख गरि कूल रकम ३५ लाख पुर्याइएको छ।

उतिबेला रकमान्तर गरिएको उक्त रकम पतारी पोखरीको माटो निकाल्ने र पानी भर्ने कार्यमा लगाइएको भने पाइदैन ।
 
‘सिरहामा भएका अन्य पोखरीभन्दा पतारी पोखरी निकै गहिरो र कहिल्यै पानी नसुक्ने पोखरी हो,’ एक स्थानीयले बिएल नेपाली सेवासँग भने, ‘पतार पोखरीको नाममा बर्षेनी अनियमितता गर्दै आएको बिषयमा गाउँपालिका प्रमुख रामबल्लभ साहबिरुद्ध अख्तियारमा उजुरी पनि परेको छ।

बजेट रकमान्तर गर्न बसेको बैठकको अध्यक्षता गाउँपालिका प्रमुख साहले गरेको देखिन्छ। त्यस्तै रकमान्तर गर्ने निर्णयमा गाउँपालिका उपाध्यक्ष आशादेवी यादव, गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतले हस्ताक्षर गरेका छन्।

त्यस्तै अन्य हस्ताक्षरकर्तामा लक्ष्मिपुर पतारी गाउँ कार्यपालिकाका सदस्य क्रमशः मनिकलाल यादव, धर्मेन्द्रकुमार राय यादव, हनुमान मण्डल , जिरिया चमार, रितादेवी मोची, अमृतादेवी दास र सत्यनारायण साह छन्।

गाउँकार्यपालिका सदस्य विद्यानन्दन साह सुडी, देवकुमार यादव, राजेश्वर साह सुडी र किसुन वातित्माले भने अख्तियारको कारवाहीमा परिने सम्भावना रहेकाले उक्त निर्णयमा आफूले सहि नगरेको बताए।
 
गाउँपालिका अध्यक्ष साहबाट मोटो रकमको प्रस्ताव आएको थियो , निर्णयमा हस्ताक्षर नगरेका एक कार्यपालिका सदस्यले बिएल नेपाली सेवालाई भने, ‘जनप्रतिनिधि भएर यस्तो काम गर्नु हुदैन भनेर हामी चार जना सदस्यले निर्णयमा हस्ताक्षर गर्न मानेनौं।’ 

सन् १३२६ मा डोय राज्यका उत्तराधिकारी हरिसिंह देव हाल भारत दिल्लीका तुर्क बादशाह गयासुद्दिन तुगलकसँग पराजित भई उत्तरी पहाडी इलाका बागमतीको बाटो हुँदै भादगाउँ (भक्तपुर) पुगेका थिए। 

भनिन्छ– सिन्धुलीपछि भक्तपुर र काठमाडौंमा बसेका राजा हरिसिहं देव फर्किएर पतार (हालको लक्ष्मिपुर पतारी) मा बसेका थिए। उनको पहलमा पतारी पोखरी खनिएको शिलालेखमा उल्लेख छ। 

पर्यटकीय दृष्टिले महत्वपूर्ण पतारी पोखरी र पोखरीकै किनारमा रहेको हरिसिंह देव मन्दिर पर्यटन बोर्डमा पनि सूचिकृत छ।

पतारी पोखरी र राजा हरिसिहं देव मन्दिर निर्माण र जिर्णोद्धारका नाममा  गाउँपालिकाले प्रत्येक आर्थिक बर्ष करोड बढी रकम विनियोजन गर्दै आए पनि हालसम्म पोखरी वरिपरी ढलान गर्ने कार्य मात्र भएको स्थानीयको गुनासो छ। 

‘विगतका बर्षहरूमा टेण्डर गर्न सकेनौँ,’ मन्दिर र पोखरी रहेको वडा नं। ३ का वडाध्यक्ष हनुमान मण्डल भन्छन्, ‘चालु आर्थिक बर्षमा मन्दिर बनाउन र पोखरी जिर्णोद्धारका लागि २ करोड छुट्याएका छौँ, छिटै टेण्डर गर्छौँ।’

पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको राजा हरिसिहं देव मन्दिर निर्माण र पोखरीको जिर्णोद्धारमा प्रदेश सरकारले कुनै पनि सहयोग नगरेकोमा दुःखेसो गर्दै गाउँपालिका प्रमुख रामबल्लभ साहले भने, ‘यो ऐतिहासिक पर्यटकीयस्थलको नाममा मैले अनियमितता गरेको भनेर बिपक्षी दलका चुनाव हारेकाले आरोप लगाएका हुन्, त्यसमा कुनै सत्यता छैन।’

गाउँपालिकाले १ करोड खर्चिएर पोखरी वरीपरी ढलान गरेको दावी साहको छ।

तर स्थानीयहरू गाउँपालिका प्रमुख साह, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार महत , वडा नं ३ का अध्यक्ष हनुमान मण्डल र उक्त पोखरी जिर्णोद्धार उपभोक्ता समितिमा बसेका वडाध्यक्षका भाई अनरुद्ध कुमार मण्डलको मिलोमतोमा अनियमितता भएको दावी गर्छन्।

प्रकाशित मिति: : 2020-11-02 19:53:00

प्रतिकृया दिनुहोस्