शुक्रबार, ०२ जनवरी २०२६

अनियमितता गर्दै, घर ठडयाउँदै, अख्तियार मौन

News Image
• • •

सरकारले काममा पारदर्शीता होस् भनेर उपभोक्ता समिति गठन गरेर विकास निर्माण कार्यलाई अगाडि बढाइरहेको कुरा त तपाईहरू सबैलाई जानकारी भएकै विषय हो। तर, उपभोक्ता समिति नै नक्कली भए? तपाईहरू यसलाई के भन्नु हुन्छ? 

अवश्य नै तपाईहरूको उत्तर हुनेछ, आर्थिक हिनामिना अर्थात भ्रष्टाचार। यस्तै, आर्थिक हिनामिनाको ठूलो उदाहरण लक्ष्मीपुर पतारी गाउँपालिकामा देखिएको छ। यहाँ कागजमा मात्र उपभोक्ता समिति गठन गरेर विकास निर्माणको नाममा आर्थिक चलखेल भएको प्रमाण बिएल नेपाली सेवाले प्राप्त गरेको छ। 

लक्ष्मीपुर पतारी गाउँपालिकाले २०७४ सालयता १५ वटा विकास निर्माणको सम्झौंता एउटै उपभोक्ता समितिसँग गरेको थियो। जसको अध्यक्ष राजेश कुमार साह बताइएको छ। विभिन्न मितिमा यो उपभोक्ता समितिसँग १ लाख रुपैयाँको दरले विकास निर्माणको ठेक्का लगाएको देखिन्छ। तर, कामको मूल्यांकनसहित गरिएको सम्झौंतापत्रमा हस्ताक्षर भने कसैको छैन। 

राजेशले २०५४ मा मात्र होइन, स्थानीय निकायको निर्वाचन भएर गाउँपालिकामा जनप्रतिनिधि हावी हुँदासमेत धेरै सम्झौंता गरेर पैसा निकासा गरेका छन्। 

राजेश कै हाराहारीमा विभिन्न निर्माण कार्यको सम्झौंता गरेर गाउँपालिकाबाट रकम लिनेमा पप्पु साहको नाम पनि अगाडि छ। 
नाताका हिसाबले राजेश र पप्पु गाउँपालिका अध्यक्ष रामबल्लभ साहको आफन्त मानिन्छन्। र, लेनदेनको बिषय गोप्य रहने भएकाले अध्यक्ष रामबल्लभले अधिकांश विकाश निर्माणको ठेक्का विभिन्न उपभोक्ता समिति गठन गरेर यि दुईलाई दिने गरेको स्थानीयको अरोप छ। 

घर ठड्याँउने होडबाजी 

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको विकास निर्माणका लागि गठन हुने उपभोक्ता समितिमा बसेर गरेको अनियमितताले पतारी बजारमा घर ठड्याँउने होडबाजी चलेको तथ्य पनि खुलेको छ। अनियमितता गरि ठड्याँइएका पक्की घरमा तल्ला थप्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ। धेरै उपभोक्ता समितिमा बसेका राजेश र पप्पुले पतारी बजारमा पक्की घर ठड्याँएका छन्। उपभोक्ता समितिमा बसेर गाउँपालिकाको विकास निर्माणको काममा व्यापक अनियमितता गरेको पैसाले उनीहरुले पतारी बजारमा पक्की घर ठड्याँएको खुल्न आएको छ।

पतारी बजारस्थित राजा हरिसिहं देवको मन्दिरको पूर्व दिशामा राजेशको घर छ। एकतले उनको घरमा अहिले तल्ला थप्ने र बिस्तार गर्ने काम भइरहेको छ। राजेशले उक्त घरमा किरानाको होलसेल पसल खोलेका छन्। राजेशको घरभन्दा करिब ३० मिटर पश्चिम–दक्षिणमा रहेको पप्पुको दुईतले घरमा भने एनसीसी बैंकको शाखा छ। घरका सबै सटर भाडा लगाएका छन्। राजेश र पप्पु दुबैको विगतको आर्थिक हैसियत विचरा भन्ने स्थितीको थियो। जब स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्षमा रामबल्लभ साह विजयी भए, यसपछि उनीहरुको आर्थिक हैसियत चुलिएको स्थानीयवासी बताउँछन्। 

पतारी बजारमा पतारी पोखरीको छेउमा फुसको घरमा साधारण किराना पसल सञ्चालन गरेर बसेका थिए, राजेश। पप्पुका पिता देवनारायण साह पनि पतारी बजारमा फुसको घरमा कपडा सिलाउने सामान्य टेलर सञ्चालन गर्थे। एक स्थानीय भन्छन्, ‘तर स्थानीय तहको चुनावपछि यी दुबै करोडपति बनेका छन्। उपभोक्ता समितिबाट अनियमितता गरेर राजेश र पप्पुले पतारी बजारमा पक्की घर ठड्याँएको ओप्पन सेक्रट हो।’ 

उनीहरुले गरेको अनियमितताको बिषयमा पतारीमा धेरैपटक आवाज उठेको थियो। तर सम्बन्धित निकायले मौनता साँधेपछि आफूहरूको केही नलागेको स्थानीय बताउँछन्। ‘नातामा राजेश गाउँपालिका अध्यक्ष रामबल्लभ साहका भतिज हुन भने पप्पु भाञ्जा पर्छन। गाउँपालिका प्रमुखको चुनाव जितेपछि रामबल्लभले बिकास निर्माणको सबै जिम्मा यि दुईलाई दिए,’ स्थानीयवासी बताउँछन्। 

गाउँपालिकामा हुने विकाश निर्माणसम्बन्धि उपभोक्ता समितिमा बसेर लूट मच्याइरहेका उनीहरुको विरोध हुँदै आएपनि सम्बन्धित निकाय मौन छ। गाउँपालिकाबासीले अनियमितता भएको बिरोधस्वरुप विभिन्न कार्यक्रम गर्दै आइरहेका थिए। स्थानीय बेचु यादव भन्छन्, ‘कोरोनाको कारणले गाउँपालिकाको अनियमितताको बिरोधको कार्यक्रम रोकेका हौं। अब फेरि आन्दोलन गर्छौँ।’

तर गाउँपालिका प्रमुख रामबल्लभ साहले आफन्तलाई उपभोक्ता समितिमा राख्न दबाव नदिने गरेको बताए। प्रमुख साहले बिएल नेपाली सेवालाई प्रतिक्रिया दिँदै भने, ‘गाउँभरीकाले मलाई मामा,चाचा, बाबा भनेर सम्बोधन गर्छन्। के उनीहरु सबै मेरा आफन्त भए त?’

बरु वडाध्यक्षहरुले विकास निर्माणको काममा मनपरी गरेको प्रमुख साहको भनाई छ। उनले भने, ‘वडाध्यक्षहरूको विकास निर्माणको काममा मनपरी गरेको गुनासो धेरै आएको छ। वडाध्यक्षहरूले विकास निर्माणमा गल्ती गरेकै हुन्।’ 

तर, बिएल नेपाली सेवालाई प्राप्त कागजातमा गाउँपालिका अध्यक्ष साह , तत्कालीन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत ,सम्बन्धित वडाध्यक्ष र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा अनियमितता भएको देखिन्छ। 

यो समूहको गढजोडमा कार्य सम्पन्न नै नगरि विकासका नाममा बजेट अनियमित किसिमले निकासा भएको थुप्रै प्रमाण बिएएल नेपाली सेवाले प्राप्त गरेको छ। स्थानीयले धेरैपटक अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा यस गाउँपालिकामा अनियमितता भएको बिषयमा उजुरी दिँदैआएका छन्। 

एकपटक विकास निर्माणको स्थलगत निरीक्षण गर्न आएको अख्तियारको टोली त्यसै फर्किएको थियो। ‘अख्तियारका कर्मचारीले यहाँको निरीक्षण गरेर गए। तर, अचम्म उनीहरूले अहिलेसम्म केहि गरेका छैनन। हामी गाउँपालिकाबासी रनभूल्लमा परेका छौं,’ स्थानीय फेकु यादवले भने, ‘सबैले देख्नेगरि अनियमितता हुँदा पनि अख्तियारले कारवाही गर्न चासो नदिनुले अख्तियारका कर्मचारीमाथि पनि हाम्रो विश्वास उठ्न लागेको छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!