ओलीले नेपाललाई सोधे, ‘मैले भनेँ भनेर प्रचण्डले सुनाएको भरमा भेरिफाई नगरी पत्रमा किन सही गर्नुभो ?’

Breaknlinks
Breaknlinks

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो सरकारी निवास, बालुवाटार डाकेर ‘प्रचण्डले सुनाएका भरमा भेरिफाई नगरी’ दुई पृष्ठलामो पत्रमा हस्ताक्षर गरेकोमा गुनासो गरेका छन् ।

प्रधानमन्त्री ओलीले बोलाएपछि वरिष्ठ नेता नेपाल आइतबार दिउँसो आफू पक्षधर तीन जना स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसहित प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटार पुगेका थिए ।

करिब तीन घन्टालामो अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले नेपाललाई सोधे, ‘मैले भनेँ भनेर प्रचण्डले सुनाएका भरमा भेरिफाइ नगरी तपाईंले त्यो पत्रमा किन सही गर्नुभो ?’

छलफलका क्रममा ओलीले भनेका थिए, ‘७० वर्षमाथिका नेताहरुको पार्टी प्रमुख र सरकार प्रमुख भइसकेका नेताहरुको हानथापले सिर्जना भएको समस्या हो । यसबाट मुक्त हुने भनेको सबै बिदा हुने हो । मैले त बिदा हुने भनेकै छु । सबै बिदा हुने हो ।’

अध्यक्ष प्रचण्डसहित पाँच जना स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीलाई भेटी शनिबार मात्र सचिवालय बैठक डाक्न दुई पेजको निवेदन बुझाएका थिए । ‘अध्यक्ष प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेको उक्त पत्रबारे स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यहरुलाई सडकछाप भनेको, स्थायी कमिटी सदस्यलाई हुल्लडवाज भनेको’ जस्ता आरोपहरु लगाइएको छ । के–के भनेर भड्काउन, घृणा फैलाउन सकिन्छ, विरोधी बनाउन सकिन्छ, आफ्नो पक्षमा पार्न सकिन्छ, ती सबै पत्रमा उल्लेख छन् ।’ 

अध्यक्ष ओलीले एक्लै बसेर वरिष्ठ नेतासहितका चार जना नेतासँग तीन घण्टा छलफल गरेका थिए । दोस्रो वरियताका अध्यक्ष प्रचण्डले सचिवालय बैठकको माग गर्दै चार जना सचिवालय सदस्यको हस्ताक्षर गराएर उनीहरु सहित बुझाएको पत्रमा लगाइएका आरोपबारे सबैलाई बेग्लाबेग्लै जवाफ दिने उद्देश्यले प्रधानमन्त्री ओलीले नेपाललाई डाकेका थिए । नेपाल आफू पक्षधर चार जनाको टोली लिएर बालुवाटार पुगेको थिए ।

प्रधानमन्त्रीले विगतमा पार्टी प्रमुख भइसकेका र ७० वर्ष हाराहारीका नेता सबैले बिदा लिएर ६० वर्ष उमेर समूहका नेताहरुलाई नेतृत्व हस्तान्तरण नगर्ने हो भने आफूले पनि नछाड्ने बताएका थिए । प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘मिलेर जाने हो भने जाने । म त के ! तपाईंहरु छाड्ने भन्नुहुन्छ भने छाड्ने हो, नछोड्ने हो भने १५–२० वर्ष ढुक्क छु । मिर्गौला फेरेपछि त म जोशिलो भइरहेको छु । कपाल पनि कालो–कालो हुन थाल्यो, जुँगा पनि कालो–कालो हुन थाले ।’

प्रधानमन्त्री ओलीले सम्बन्ध सुधारका लागि गरेको उक्त अनौपचारिक भेटघाट र कुराकानीमा वरिष्ठ नेता नेपाल खासै खुलेका थिएनन् ।

प्रधानमन्त्री ओलीले सुरेन्द्र पाण्डेलाई उहाँले रोजेको अर्थमन्त्री दिन नसके पनि ‘क्याबिनेटमा आउनुस् त भनेकै हो’ भनेका थिए । प्रधानमन्त्री ओलीले भीम रावललाई पनि मन्त्री हुन आफूले भने पनि उनले अहिले मन्त्री हुन्न भनेको पनि ओलीले बताएका थिए । 
 

प्रकाशित मिति: : 2020-11-09 07:29:00

प्रतिकृया दिनुहोस्