दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बईले उचाल्याे पाँचौ पटक आइपीएलकाे उपाधि

मुम्बई इन्डियन्सले पाँचौ पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको छ।

मंगलबार राती सम्पन्न फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको हो।

दिल्लीले दिएकाे १ सय ५७ रनको विजयी लक्ष्य मुम्बईले १९औँ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍याे। 

मुम्बईलाई सहज जित दिलाउन रोहित शर्माले कप्तानी पारी खेले। उनले ५१ बलमा ५ चौका र ४ छक्का सहित ६८ रनको योगदान दिए।

यता युवा ब्याट्सम्यान ईशान किशन १९ बलमा ३ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे।

डी कक २० रनमा क्याच आउट भए। उनले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

सूर्यकुमार यादवले १९ रनमा रन बनाए। उनले २० बलमा १ चौका र १ छक्का प्रहार गरे। काइरान पोलार्ड ४ बलमा २ चौकासहित ९ रन जोड्दै बोल्ड भए। 

हार्दिक पान्ड्या ५ बलमा ३ रन जोड्दै जितका लागि १ रन बाँकी रहँदा क्याच आउट भए।

दिल्लीका एन्रीच नोर्कियाले २ तथा मार्कस स्टोइनिस र कागीसो राबाडा १/१ विकेट लिए।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो। 

निकै नै खराब सुरुवात गरेकाे दिल्लीका लागि श्रेयस ऐरले कप्तानी पारी खेले। उनले ५० बलमा ६ चौका र २ छक्कासहित अविजित ६५ रन जाेडेका थिए।

यता विकेटकिपर ऋषभ पन्त ३८ बलमा ४ चौका र २ छक्कासहित ५६ रनको महत्वपूर्ण योगदान दिएका थिए।  पन्त र ऐरले ६९ बलमा ९६ रनको साझेदारी गरेका थिए।

ओनपर शिखर धवन १५ रनमा बोल्ड आउट भए। धवनले १३ बलमा ३ चौका प्रहार गरे। 

अक्षर पटेल ९ र हेटमायर नाथन कुल्टर नाइलबाट ५ रनमा क्याच आउट भए। 

मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। जयन्त यादवले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए। जस्प्रित बुमराहले ४ ओभरमा २८ रन खर्चिदा विकेट भने लिन सकेनन्। नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए।

यससँगै मुम्बईले पाँचौ पटक आइपीएलको उपाधि जितेको छ।  मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो। 

पाँचै उपाधि मुम्बईले रोहित शर्माको कप्तानीमा जितेको हो। मुम्बई पाँच पटक आइपीएल जित्ने पहिलो टिम हो।

मुम्बई उपाधि रक्षा गर्ने चेन्नईपछि पहिलो टोली बन्यो। 

पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ।

यो हारसँगै दिल्ली एकै सिजन मुम्बईसँग लगातार चौंथो खेलमा पराजित भएको हो।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्लीमा आबद्द भएपनि मैदान उत्रन पाएनन्।

प्रकाशित मिति: : 2020-11-10 23:10:00

प्रतिकृया दिनुहोस्