पूर्वमन्त्रीको कम्पनीले भाडा नतिरेपछि काठमाडौंमा व्यापारीको उठिबास (भिडियाेसहित)

पूर्व राज्यमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटलाई भुक्तान गर्नुपर्ने घर भाडा र बिजुली बिल नतिरेपछि कोरोनाकालमा ऋणपान गरेर व्यवसाय गर्दै आइरहेका व्यवसायीहरू विचल्लीमा परेका छन्।  
    
काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको भवनलाई नेपाली कांग्रेसका नेता एवम पूर्व राज्यमन्त्री दीपक खड्काको कम्पनी ‘खड्का एण्ड प्राली’ ले व्यवसायिक प्रायोजनका लागि १३ वर्षअघि भाडामा लिएको थियो। 

नेपाल स्काउटसँग पहिलो पार्टीका रुपमा भाडाको सम्झौंता गरेको यो कम्पनीले अन्य व्यवसायीलाई सटर भाडामा लगाएको थियो। यहाँ ३५ वटा सटर छन् भने एउटै सटरको भाडा मासिक ३५ हजार छ।   

खड्का एण्ड प्रालीले आफूले भाडामा लगाएको अन्य व्यवसायीबाट नियमित भाडा र बिजुलीको बिलबापत उठाउनुपर्ने रकम उठाउँदै आएको छ। तर, स्काउटलाई बुझाउनु रकम भुक्तानी नगरेको दावी नेपाल स्काउटको छ।  

स्काउटका पदाधिकारीले बिएल नेपाली सेवालाई दिएको जानकारी अनुसार खड्का एण्ड प्रालीले बिजुली तथा भाडा बापत २ करोड रकम भुक्तान गर्न बाँकी छ। स्काउटका निर्देशक रामबहादुर भट्टराईले कम्पनीले भाडा र बिजुलीको बिल चुक्ता नगरेसम्म बिजुली नदिने स्पष्ट पारे। 

‘करार गरेर खड्का एण्ड डेभलप्मेन्ट प्रालीलाई पहिलो व्यवसाय भवन भाडामा दिएका हौं, अर्को कम्पनिलाई पनि करार गरेर दोश्रो व्यवसाय भवन दिएका थियौं, त्यो पनि खड्का प्रालीले नै लिएको हो। दस वर्ष करार सकिएर बसिरहेको पार्टी प्यालेसको जग्गाको गत मङ्सिरदेखि बिजुलीको पैसा र चैत महिनाको मासिक भाडाको रकम पनि तिरिएको छैन। खड्का प्रालीले हामीलाई करिब २ करोड भन्दा बढी रकम बुझाउनुपर्ने देखिन्छ। यो नदिएका कारण हामीले लाइन काट्नु परेको हो। हाम्रो र अन्य व्यवसायीबीच केही तिक्तता छैन,’ निर्देशक भट्टराईले भने। 


स्काउट भवनमा एक महिनाअघि बिजुली काटिएको थियो। बिजुली नहुँदा बिचल्लीमा बेकरी क्याफे चलाउदै आएकी सिर्जना पनेरु भन्छिन्, ‘बिना सूचना एक्कासी बत्ति काटियो। सबै बेकरी आइटम खेर गयो। यसको क्षतिपूर्ति कसले देला?’ 

निर्देशक भट्टराईले स्काउट भवनको सटर भाडामा लिने पहिलो पार्टीसँग आफ्नो कारोबार भएको हुँदा आफूहरूलाई अन्य व्यापारीको विषयमा थाहा नभएको बताए। ‘हामीले यो विषयमा खड्का प्रालीसँग बसेर कुरा गर्न बारम्बार अनुरोध ग¥यौं। तर, उनीहरू आउँदै आउँदैनन्। बकाया बढेपछि हामीसँग अर्को उपाय थिएन,’ उनले भने। 

खड्का एण्ड प्रालीका मेनेजर सेवक पोख्रेल भने स्काउटलाई दिनुपर्ने सबै रकम भुक्तानी भइसकेको दाबी गर्छन। उनी भन्छन्, ‘हामीले दिनुपर्ने रकम दिएका र्छौ। हो बिजुलीको रकम तिर्न बाँकी होला। हामीले त्यो रकम बुझाउन बिल माग्यौ तर स्काउटले बिल नै दिएन। बिल नहुँदा हामीले कसरी तिर्ने?’ 

उनले मंसिरसम्मको रकम बुझाएको दावी गरे। ‘कोरोना महामारीमा राज्यले केही सौलियत दिने भन्यो। हामीसँग पनि व्यापारीले यही कुरा राखे। हामीले यो कुरा स्काउटलाई भन्दा उसले सुन्दै सुनेन्। यसमा हाम्रो कुनै गल्ति छैन’, उनले भने।  
लकडाउनका बेला पनि आफूले भाडा तिरेको उनको दावी छ। उनले बाँकी रकम तिर्न आफूहरू तयार भएको तर बिजुलीको रकम तिर्न बिल उपलब्ध नगराएको आरोप लगाए। 

‘हाम्रो केही गल्ती छैन, हामीले व्यावसायीको कुरा स्काउटले सुन्न नमानेपछि हुलाकमार्फत पठाएका थियौं। त्यसको कुनै जवाफ आएको छैन,’ उनले भने। 
 
पूर्व राज्यमन्त्रीको कम्पनी र स्काउटबीचको लेनदेनका कारण व्यवसायी भने मार्कामा परेका छन्। लामो समयदेखि सोही क्षेत्रमा व्यापार गर्दै आएका अर्को व्यवसायी धन बस्नेत भन्छन्, ‘गल्ती हाम्रो छैन। तर, सजाय भोगिरहेका छौं। हामीले सम्पत्ति बेचेर भएपनि भाडा तिरेका छौं। त्यसैले व्यापार गर्न पाउनुपर्ने हाम्रो नैसर्गिक अधिकार हो।’ 
यहाँ वर्षोदेखि व्यापार गर्दै आइरहेका व्यवसायीहरू बिजुली नहुँदा पानी पनि पिउन नपाएको गुनासो गर्छन।

प्रकाशित मिति: : 2020-11-11 15:07:00

प्रतिकृया दिनुहोस्