अमेरिका आउन चाहनुहुन्छ? सावधान रहनुहोला, मानव तस्करसँग

बिएल

 

अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका जो वाइडेन निर्वाचित भएपछि विशेष गरेर कागजपत्रविहिन नेपाली समूदाय खुशीले गद्गद् छन् यतिबेला।

मानव तस्करका एजेण्ट र दलालले यस्ता वर्गका व्यक्तिलाई जो जस्तो अवस्थामा छ, उनीहरूले त्यस्तै अवस्थामा अमेरिकी ग्रीन कार्ड अर्थात अमेरिका बसोबास गर्ने स्थायी आवासीय अनुमति पत्र प्राप्त गर्ने बहुलट्ठी कुरा गरिरहेका छन्। जस्तो कि सुतिरहेका नेपालीलाई ओछ्यान मै, खाना खाइरहेकालाई भान्छा कोठा मै र मलमूत्र परित्याग गरिरहेकालाई चर्पीमै पुगेर डेमोक्र्याट पार्टीले ग्रीन कार्ड उपलब्ध गराउँछ भनेर ‘ब्रेन वास’ गरिरहेका छन्।

यस्ता एजेण्ट र दलाललाई हाम्रो भविस्यसँग कुनै सरोकार हुदैन। उनीहरूलाई मात्र पैसासँग मतलव हुन्छ। त्यसैले उनीहरू चिप्लो कुरा गरेर सोझासाझा नेपाली ठग्ने अभियानमा हुन्छन्। यसैले उनीहरू अगाडिदेखि नै एउटा वातावरण तयार पार्ने काममा लागेका हुन्छन्। यस्ता दलालहरूको चंगुलमा फस्नु भनेको भविस्य बर्बाद पार्नु हो। जुन कुरा तपाई हामी सबैलाई थाहा भएको विषय हो। आफूभन्दा अग्रजको कुरा सुन्दै नसुन्ने र उचित जानकारीको अभावमा एउटै कुरामा कराइरहने हामी बीर नेपालीको बुझाई पनि अचम्म लाग्दो छ। डेमोक्रयाटिक पार्टीले राष्ट्रपतिको चुनाव जित्यो भने अमेरिकामा बसोबास गर्न सहज हुने र रिपब्लिकन पार्टीले जित्यो भने असहज हुने तर्क नै आधारहीन र सोझासाझा नेपालीलाई बेवकुफ बनाउने खाल्को थियो।

डिभी चिठ्ठाको सुरुवात गरेर आप्रवासीलाई अमेरिकामा सहज प्रवेश दिलाउने पार्टी नै रिपब्लिकन हो। रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालमा आप्रवासीलाई डिभीमार्फत अमेरिका प्रवेश गराउने कार्यको सुरुवात भएको थियो। तर, आठ वर्षको कार्यकालमा ३२ लाख आप्रवासीलाई देश निकाला गरेका डेमोक्रयाटिक पार्टीको राष्ट्रपति बराक एच ओबामाले कसरी आप्रवासीको हितमा काम गरे, त्यो पंक्तिकारले आजसम्म बुझन् सकेको छैन।

एउटा राज्यको सामान्य प्रतिनिधि (नेपालको सन्दर्भमा वडा अध्यक्ष) लाई पनि सिनेटर भनेर विश्वास गर्ने दरिद्र सोच भएका हामी नेपाली अमेरिकाको राजनीति बुझेर कति डेमोक्रयाट र कति रिपब्लिकनको समर्थक भएका होलाम्, त्यो छुट्टै बहसको विषय हो। मेरो विचारमा कागज नभएका, श्रीमान वा श्रीमती मध्ये एउटा यता र अर्को उता भएका, असाइलमको निवेदन दिएर रिजल्ट पर्खेर बसेका नेपालीहरू डेमोक्र्याटिक पार्टीका समर्थक होलान्। यस्तै, आफूलाई अरुभन्दा विशेष ठान्ने, नेपालमा वैदेशिक रोजगारीको ठगी मुद्दामा अदालतले सजाय तोकेको तर प्रहरीले पक्राउ नगर्दै श्रीमतीलाई डिभी परेर नक्कली नागरिकता र त्यसैको आधारमा पासपोर्ट बनाएर आएका, नेपालमा तास खेलाएर कटनी उठाएर गुजारा गरेका र अमेरिका आउँदा लिएको ऋण नतिरेर भाले भएका, अमेरिकालाई आफ्नै पिताजीको बिर्ता सम्झेर अब अमेरिकामा नेपाली धेरै भएको र नेपालीलाई यता आउन प्रतिबन्ध लगाउनु पर्ने जस्ता टाट पल्टेको विचार राख्नेहरू रिपब्लिकन पार्टीका समर्थक हुन्।

निवर्तमान रास्ट्रपति डोनाल्ड ट्र्म्पको हरेक बहुलठ्ठी कुरा र आप्रवासीको हित विपरित हुने हरेक निर्णयलाई आँखा चिम्लेर समर्थन गर्यो भने खानदानी अमेरिकी भइन्छ भन्ने भ्रम पाल्ने रिपब्लिकन पार्टीका नेपाली समर्थक पनि प्रशस्तै भेटिन्छन्।

हालै एउटा टेलिभिजन अन्तर्वार्तामा नेपालका लागि अमेरिकाका पूर्व राजदुत डा शङ्कर शर्माले राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका वाइडेनले जितेपछि भिसा खुकुलो हुने बताइरहेका थिए।

डा. शर्माको बौद्धिकता र अथाह जानकारीमा प्रश्न उठाउने हैसियत यो पंक्तिकारसँग छैन। तर, उनले यस्तो हलुका कुरा किन राखे त्यो भने बुझिनसक्नु छ। डा. शर्माको भनाई वास्तविकतामा आधारित भएको भए डेमोक्र्याटिक पार्टीमा झुकाव राख्ने नेपालका लागि अमेरिकाका वर्तमान राजदुत रेन्डी बेरीको कार्यकालमा भिसामा यति कडी कडाउ नहुनुपर्ने थियो।

नयाँ राष्ट्रपतिको आगमनले भिसा प्रक्रिया जस्तो सामान्य कुरामा असर नपर्नु पर्ने हो। यो विषयमा म सही छु वा गलत, त्यो प्रबुद्ध पाठकवर्गले मूल्याङ्कन गर्ने विषय हो

अमेरिकी अध्यागमनमा कार्यरत केही जानकारको भनाईलाई मान्ने हो भने, नवनिर्वाचित राष्ट्रपति वाइडेनले टीपीएस सुविधाको म्याद बढाउने, टीपीएस मा रहेका र ड्रिमरहरूलाई निश्चित परिधिभित्र राखेर बैधानिकता दिने र एउटा ठोस कानुनको निर्माण नभएसम्म देश निकालाको सम्पूर्ण कारर्वाही स्थगित गर्नसक्ने छन्।

कागजपत्र विहिनलाई देश निकाला गर्नुभनेको अमेरिकी सरकारको लागि निकै जटिल प्रक्रिया हो। फेरि कागजपत्र विहिन आप्रवासीबाट सस्तो श्रम उपलब्ध हुने कारण अमेरिकाले धेरै अगाडिदेखि यसलाई ‘तर्साउने तर ननिकाल्ने नीति’ बनाएको पनि यर्थात हो।

कागजपत्र विहिन यस्ता आप्रवासीलाई देश निकाला गर्ने हो भने क्यालिफोर्निया र टेक्सास जस्ता राज्यमा आवश्यक कृषि मजदुर र अमेरिकाभरि निर्माण मजदुरको अभाव हुने कुरालाई अमेरिकी सरकारले राम्रोसँग बुझेको मात्र छैन, महसुस पनि गरेको छ।

पूर्व राष्ट्रपति र धनाढ्य व्यापारी डोनाल्ड ट्रम्पको होटल र रिसोर्टमा कागजपत्र विहिनले काम गरिरहेको कुरा बाहिर आएपछि देश निकालाको कुरा केबल चुनावी मुद्दा मात्र रहेको प्रष्ट हुन्छ। अर्थात् चुनावमा आप्रवासी सम्बन्धि मुद्धाले जति नै ठूलो रूप लिए पनि चुनाव सकिएपछि सेलाउने गरेको छ।

हालै एक अनलाइन पोर्टलमा नवनिर्वाचित राष्ट्रपति वाइडेनलाई उध्रृत गर्दै एउटा समाचार प्रकासित भएको थियो। जसमा लेखिएको थियो, वाइडेनले आफूलाई बधाई दिने सम्पूर्ण नेपालीलाई ग्रीन कार्ड दिने आश्वासन दिएका छन् भनेर। यस्ता हावादारी समाचारको अर्थ के हो? यसमा पनि पाठकहरूले ध्यान पु¥याउनु जरुरी छ। यि सबै मानव तस्करीलाई बढावा दिन गरिएका खेला हुन्।

विधिले चलेको देशमा एउटा पार्टीले जित्यो भने काखमा राखेर म्वार्इ खाने र अर्को पार्टीले जिते कठालो समातेर घोक्राउने अर्थात् डेमोक्र्याटिक पार्टीले जित्यो भने सजिलै र सहज रूपमा ग्रीन कार्ड र नागरिकता दिने तथा रिपब्लिकन पार्टीले जित्यो भने देश निकाला गर्ने कुरामा कुनै तर्क छैन।

चुनावमा जसको जित वा हार भए पनि दुबै उम्मेदवारले सँगै गल्फ खेल्ने हुन्। उस्तै परे दुबैले सँगै गएर एउटै पसलबाट भित्रि वस्त्र (अण्डरबेयर) खरिद गर्ने हुन्।

त्यसैले अमेरिकामा जो सत्तामा आए पनि आप्रवासीसम्बन्धि नीतिमा तात्विक परिवर्तन नहुने स्पष्ट छ। त्यसैले हामी नेपालीले अमेरिकामा डेमोक्रेटिक पार्टी र रिपब्लिकनमध्ये कसैले जित्दा अति उत्साही हुनु र हार्दा अति निरास हुनुको कुनै तुक छैन।

प्रकाशित मिति: : 2020-11-13 11:49:00

प्रतिकृया दिनुहोस्