छाउगोठ भत्किए, कुरीति कायमै

गोरखापत्र

काठमाडाैं

धनगढी, मङ्सिर ६ गते । सुदूरपश्चिम प्रदेशको ठूलो सामाजिक समस्या हो छाउपडी । महिलामाथि युगौँदेखि अन्याय हुँदै आएको यो प्रथा अनुसार महिनावारीपछि पाँच दिन महिला गोठमा बस्न बाध्य हुन्छन् । आवासका हिसाबले कुनै पूर्वाधार नभएको गोठमा बस्दा आगलागीमा परेर मर्ने, बलात्कृत हुने, सर्पले डस्ने र जङ्गली जनावरको भय हुन्छ ।
पहाडी क्षेत्रका दार्चुला र बैतडी बाहेकका जिल्ला अछाम, बाजुरा, बझाङ र डोटीमा अझै छाउपडी गोठ छन् भने पहाडबाट बसाइँ सराइ गरेर तराईका कैलाली र कञ्चनपुर आउनेले पनि गोठ बनाएको पाइएको छ ।
दार्चुला र बैतडीमा गोठ नभए पनि महिनावारी हुनेले कसैलाई नछोर्ई अलग्गै बस्ने, सुत्ने र गाई, भैँसीको दूध, दही, मही खान नपाउने अवस्था कायमै छ । गृह मन्त्रालयको निर्देशन अनुसार पहाडी जिल्लामा धेरै छाउगोठ प्रहरी र स्थानीयवासीको सक्रियतामा भत्काइएका छन् तर केही ठाउँमा अझै देउता रिसाउँछन् भन्ने मान्यतामा छाउगोठमा बस्ने प्रचलन अन्त्य भएको छैन ।
यद्यपि विगतको तुलनामा छाउपडी प्रथा नमान्नेको सङ्ख्या बढ्दै गएको छ । शिक्षा र सचेतना बढ्नुका साथै सङ्घीय तथा स्थानीय सरकारको पहलमा गोठ भत्काइनु, अछाममा छाउगोठ बस्न बाध्य पार्नेलाई मुद्दा चल्नु र बाजुरामा गोठमै निस्सासिएर तीन जनाको मृत्यु भएपछि डर उत्पन्न भएर छाउपडी गोठमा बस्नेको सङ्ख्यामा भने ठूलो कमी आएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि छाउपडी प्रथा मान्ने जनप्रतिनिधि र सरकारी कर्मचारीको सुविधा कटौती गर्ने नीति ल्याएको छ ।
महिनावारी हुँदा छाउगोठमा बसेकै बेला अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वर डिक्रेनीकी २१ वर्षीया पार्वती बुढा रावतको अघिल्लो वर्षको मङ्सिर तेस्रो साता मृत्यु भयो । पार्वतीको मृत्यु भएपछि महिला मृत्युको कारक छाउगोठ भएको भन्दै स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाको सक्रियतामा छाउगोठ भत्काउने अभियान थालनी भयो ।
गत पुस ९ गतेदेखि चैत ३ गतेसम्म अछाममा पाँच हजार पाँच छाउगोठ भत्काइएको तथ्याङ्क छ । गएको वर्षमै यस जिल्लाका १० वटै स्थानीय तहलाई छाउगोठ मुक्त घोषणा गरिसकिएको छ । बाजुरा जिल्लामा विगत दुई वर्षमा ५११ वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार गतवर्ष २३ वटा छाउगोठ पूर्ण रूपमा भत्काइएको छ । छाउगोठ भत्काउन घरमा बस्ने स्वयं महिला तयार हुनुपर्ने डडेल्धुराको परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहोराले बताउनुभयो ।
बझाङ जिल्लामा छाउगोठ बसेका महिलालाई सर्पले टोकेका घटना धेरै छन् । बझाङमा तीन सयसम्म छाउपडी गोठ भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताउनुभयो । उहाँले गतवर्ष मात्र १४१ वटा छाउगोठ भत्काएका थियौंँ भन्नुभयो । गोठ भत्किए पनि यो कुरीति भने अझै कायमै छ । डोटीको दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा गतवर्ष महिला अधिकार मञ्च डोटीले गरेको सर्वेक्षणका क्रममा २२० वटा छाउगोठ भेटिएका थिए ।

प्रकाशित मिति: : 2020-11-21 11:01:00

प्रतिकृया दिनुहोस्