बालिका हत्या प्रकरण: कम्मर मुनी गाेली लागेका सञ्जय न्याैपानेकाे मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागि घाइते भएका एक जनाको मृत्यु भएको छ।

बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन हत्याको विरोध पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले खुलाउने क्रममा प्रहार गरेको गोली लागि घाइते भएका बुद्धिराज न्यौपाने (सञ्जय)को मृत्यु भएको हो।

प्रहरीका अनुसार बर्दिवास १ का ४५ वर्षीय न्यौपानेको २ राउण्ड गोली लागेको थियो।

कम्मर मुनी गोली लागेर गम्भीर भएका उनलाई बर्दिवासस्थित पिनाकल अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमाडौं ल्याइएको थियो।

उनको काठमाडौंस्थित ग्राण्डि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

उनको अत्यधिक रक्तस्रावको कारण उपचारको क्रममा राति साढे १२ बजे मृत्यु भएको प्रहरी स्रोतको भनाइ छ।

‘बुधबार बिहान उहाँको मृत्यु भएको हो। उहाँको तिघ्रामा दुई गोली लागेको थियो,’ एक अधिकारीले भने।

स्थानीयवासीको प्रदर्शनमा प्रहरीको गोली लागि श्याम कार्की र अफताब आलम पनि घाइते भएका थिए।

उनीहरुको पनि अवस्था पनि गम्भीर रहेको जनाइएको छ।

गएको आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी खातुनको खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको थियो। 

घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो।

बालिकाको शव बर्दिवास १४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको थियो। 

बर्दिवास १४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको थियो।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको थियो। पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2020-11-25 07:29:00

प्रतिकृया दिनुहोस्