नेपालसँग सुमधुर सम्बन्ध बनाउने प्रयासमा भारत सरकार

लिपुलेक, कालापानी तथा लिम्पियाधुरासहितको नक्सा आफ्नो देशमा समावेश गरेपछि बिग्रिएको नेपाल–भारत सम्बन्धलाई पुनः एकपल्ट भारत सुमधुर बनाउन चाहन्छ। 

गत वर्ष जम्मु र काश्मिरबाट संविधानको ३७० धारा हटाएर केन्द्र शाषित राज्यमा समावेश गराएको भारतले नयाँ राजनीतिक नक्साकंन गर्दा लिपुलेक, कालापानी तथा लिम्पियाधुरालाई पनि आफ्नो नक्साभित्र गाभेको थियो। 

यसको नेपालले कडा शब्दमा बिरोध गरेको थियो। बिरोधका बाबजुद यसै वर्ष रक्षामन्त्री राजनाथ सिंहले नेपालको भूमिबाट लिपुलेक जाने बाटोको उद्घाटन गरेपछि नेपाल–भारत सम्बन्ध इतिहासकै सबैभन्दा खराब अवस्थामा पुगेको थियो। 

नेपालले कुटनीतिक तवरबाट समस्याको समाधान गर्न भारतलाई बारम्बार आग्रह गर्दा पनि कोरोनाको बहाना बनाउँदै कुनै किसिमको वार्ता नहुने सन्देश दिएको थियो। 

यसपछि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा सर्वसहमतद्धारा संसदबाट पास गराएको थियो। 

नेपालको चुच्चो नक्सालाई लिएर भारतले पनि आपत्ति जनाउदै आइरहेको छ। नेपालसँगको सदियौंदेखिको सम्बन्ध बिग्रिदै गएकोमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई विपक्षी पार्टीहरूले घेर्ने गरेका छन्।

भारतको हरेक राज्यमा नेपालसँगको सम्बन्ध बिग्रिएकोमा भाजपाको बिरोध हुने गरेको छ। 

नेपाली तथा नेपाली भाषीहरूको बाक्लो उपस्थिति रहेको मुम्बईमा पनि चियाँ पसलदेखि होटलसम्म भाजपाको आलोचना गर्ने एउटै मुद्धा यतिबेला नेपाल नै बनेको छ। 

हालै सम्पन्न बिहार राज्यको चुनावमा पनि नेपालको मुद्धालाई लिएर विपक्षी पार्टी, विशेष गरेर पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको राष्ट्रिय जनता पार्टी (आरजेडी) ले कडा शब्दमा आलोचना गरेको थियो। 

नेपालसँगको बिग्रिएको सम्बन्धलाई जोडतोडका साथ उठाएका आरजेडीका नेता तथा लालुका जेठा छोरा तेजस्वी यादवको सक्रियताका कारण यो पार्टी बिहारमा सबैभन्दा बढी सिट जित्ने पार्टी पनि बनेको छ। 

तर, आफूसँगै मिलेर चुनाव लडेको भारतीय कांग्रेसको खराब प्रदर्शनका कारण आरजेडीले सरकार बनाउन सकेन। 

यी सबै कुराको सुक्ष्म अध्ययन गरिरहेको तथा नेपालको हकमा चीन प्रभावशाली बन्दै गइरहेको अवस्थामा भारत सरकार यतिबेला जुनसुकै मूल्य चुकाएर भएपनि नेपालसँगको सम्बन्ध राम्रो बनाउन चाहन्छ।
 
प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिना भारतको जासुसी संयन्त्र रिसर्च एण्ड एनालिसिस विङ अर्थात ‘र’ का प्रमुख सामन्त कुमार गोयललाई विशेषदूत बनाएर नेपाल पठाएका थिए। सेनाको विशेष विमानद्धारा काठमाडौं अवतरण गरेका गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। 

गोयल फर्किएलगत्तै भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे तीन दिनको लागि नेपाल पुगेका थिए। काठमाडौंमा उनलाई नेपाली सेनाको मानार्थ जर्नेल पद प्रदान गरिएको थियो। 

सन् १९५० देखिको यो परम्परा उनी भारतको सेनाध्यक्ष नियुक्त हुँदा पुरा हुन सकेको थिएन। भारतले आफ्नो नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेको कुरामा नेपालले आपत्ति जनाउँदा नरवणेले चीनको नाम नलिएपनि अन्य देशको उक्साहटमा नेपालले बिरोध गरेको टिप्पणी गरेका थिए। 

नरवणेको भनाईको नेपालमा मात्र होइन, भारतमा पनि विरोध भएको थियो। यसपछि रक्षामन्त्री राजनाथ सिंह आफैले अर्को प्रतिक्रिया दिनु परेको थियो। सिंहले नेपालसँगको सदियौंदेखिको सम्बन्धलाई पुरानै अवस्थामा फर्काइने आश्वासन दिएका थिए। 

नेपालमा निकै प्रभावशाली रहेको ‘र’ प्रमुख तथा भारतीय आर्मी चिफको भ्रमण लगत्तै भोलिदेखि भारतीय विदेश सचिव हर्षवर्धन श्रंगलाले काठमाडौंको दुई दिने भ्रमण गर्दैछन्। उनी २६–२७ नोभेम्बरमा काठमाडौंमा हुनेछन्। 

यस अवधिमा उनले रक्षा मन्त्रालयको पनि कार्यभार सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष भेट गर्ने चर्चा चलेको छ। उनले विदेश मन्त्री प्रदीप ज्ञावलीसँग पनि भेटवार्ता गर्नेछन्।  

भारतले नयाँ राजनीतिक नक्सा प्रकाशित गर्दा नेपालले तुरुन्त विदेशस्तरीय वार्ता गर्न आवहान गरेको थियो। तर, भारतले कोरोनाको समस्या देखाउँदै यसलाई टाल्दै आइरहेको थियो। भारतीय विदेश सचिव श्रंगलाको काठमाडौं भ्रमणका क्रममा सचिवस्तरीय वार्ता हुने सम्भावना पनि प्रबल छ।

प्रकाशित मिति: : 2020-11-25 08:37:00

प्रतिकृया दिनुहोस्