ओली र प्रचण्डका दुवै प्रस्ताव स्थायी कमिटीमा लाने पक्षमा प्रचण्ड, माधव नेपाल भने दुइटा प्रस्ताव स्थायी कमिटीमा लाने कुराको विपक्षमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकअर्कालाई आरोपित गर्दै पार्टी सचिवालय बैठकमा पेश गरेका दुवै प्रस्ताव स्थायी कमिटी बैठकमा लाने र त्यहाँ बहुमतका आधारमा निर्णय गरेर ओलीको शेखी झार्ने तयारी ‘प्रचण्ड’ ले गरेका छन् । स्थायी कमिटीको मंगलबार १ बजे बस्ने बैठकमा प्रचण्ड पक्षले यस्तो प्रस्ताव गर्ने तयारी गरेको हो ।

प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डसँग गठबन्धन गरिरहेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भने दुईवटा प्रस्तावसहित स्थायी कमिटी बैठक आयोजना गरी बहुमतका आधारमा निर्णय गर्दा पार्टी फूटको दिशामा अघि बढ्ने भन्दै चिन्तित बनेका छन् । उनले प्रचण्डलाई त्यसो गर्न नहुने र आफू पार्टी विभाजनको विपक्षमा रहेको बताइसकेको उनीनिकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।  

नेपाल पक्षका नेताहरु स्थायी कमिटी सदस्यहरु भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई र सुरेन्द्र पाण्डेले नेपाललाई दुई वटा प्रस्ताव स्थायी कमिटीमा लैजान नहुने सुझाव दिइसकेका छन् । स्थायी कमिटी बैठक बस्नुअघि पार्टी सचिवालय बैठकले एउटै प्रस्ताव बनाउनुपर्ने र त्यसका आधारमा निर्णय गरेर अघि बढेमा मात्र पार्टी भौतिक विभाजनबाट जोगिने ती नेताको राय छ ।   

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिन दबाब बढाएका छन् । उनले त्यसैका लागि प्रचण्डको प्रस्तावलाई खारेज गरेको बताउँदै सचिवालय बैठकमा प्रचण्डको भन्दा दोब्बर आकारको ३८ पृष्ठको कडा प्रस्ताव पेश गरेका थिए । प्रचण्डका आरोपलाई ५३ बुँदामा खण्डन गर्दै प्रचण्डमाथि नै गम्भीर आरोपहरु लगाइएको छ । यसले नेकपाका दुई अध्यक्षहरु ओली र प्रचण्डबीच संवादसमेत बन्द भएको छ । ओलीनिकट दोस्रो तहका नेताले समेत तीन दिनदेखि प्रचण्डसँग छलफल गरेका छैनन् ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले भने प्रचण्डसहित पाँच जनाले बैठक माग गर्दै कात्तिक २२ मा पेश गरेको पत्र, ओलीले त्यसको जवाफस्वरुप कात्तिक २५ मा प्रचण्डलाई फर्काएको १० पृष्ठको जवाफसहित प्रचण्डको १९ पृष्ठको ‘अभियोग–पत्र’ भनिएको मंसिर ३ गतेको सचिवालय बैठकमा वितरण गरेको राजनीतिक प्रस्ताव अनि त्यसको प्रत्युत्तरमा ओलीले मंसिर १३ गते सचिवालयमा पेश गरेको ३८ पृष्ठको जवाफ सबै 'डकुमेण्ट' हरु स्थायी कमिटीमा लैजाने तयारी गरेका हुन्, जुन मंसिर १८ गते बस्ने गरी डाकिएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षका स्थायी कमिटी सदस्यहरु भने प्रचण्डको प्रस्ताव फिर्ता गर्ने, ओलीले पेश गरेको प्रस्ताव पनि फिर्ता गराउने पक्षमा छन् । दुवै प्रस्तावहरु पार्टीको सम्पत्तिका रुपमा पुस्तकालयमा सुरक्षित रहने तर पार्टी एकताका लागि दुई अध्यक्षको सहमतिमा अर्काे प्रस्ताव तयार गरी स्थायी कमिटीमा लानुपर्ने उनीहरुको मत छ । 

‘भदौ २६ को स्थायी कमिटीको निर्णय कार्यन्वयन गरी संघीय र प्रदेश मन्त्रिमण्डलको पुनर्गठन गर्ने, माधव नेपाल पक्षलाई सरकारमा हिस्सेदारी दिने गरी महाधिवेशनमा जान सकिन्छ, यो नै फुटबाट जोगाउने उत्तम उपाय हो’, ओली पक्षका एक स्थायी कमिटी सदस्यले भने, ‘प्रचण्डजीले पनि पार्टी एकता चाहनुहुन्छ भन्ने हाम्रो विश्वास छ । दुई वटा प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटीमा लानु भनेको पार्टीलाई तलैसम्म विभाजित गर्नु हो ।’

ओली पक्षको बुझाइमा साविक एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमको समेत साथ रहेको मौका छोपेर प्रचण्डले नेकपा कब्जा गर्न चाहन्छन् । उनी यही अवसरमा ओलीलाई आत्मसमर्पण गराउने वा पार्टी फुटाउन बाध्य पार्ने अवस्थामा पु¥याउने तयारीमा छन् तर त्यसो हुन नदिन साविक एमाले पक्षलाई एकजुट बनाउने र पूर्व माओवादी समूहका पनि गृहमन्त्री रामबहादुर थापासहित सात–आठ जना स्थायी कमिटी सदस्य आफूसँग राख्ने रणनीतिमा जुटेको छ ।

सचिवलायको मंगलबारको बैठकमा ओलीको प्रस्तावमा छलफल हुनेछ । प्रचण्ड, नेपालसहित ओलीविरुद्ध एकजुट भएका पाँचै जना स्थायी कमिटी सदस्यले ओलीको प्रस्तावको त आलोचना गर्ने छन् तर नेपाल र गौतमले भने दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा लगेर ‘भोटिङ’ गर्ने प्रचण्डको तयारीको विपक्षमा धारणा राख्ने हुनाले १८ गते स्थायी कमिटीको बैठकमा दुवै प्रस्ताव नजाने स्रोतले जानकारी दियो ।

बैठकको माग गरिएको पाँच नेताको पत्रको जवाफमा कात्तिक २५ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेपछि नेकपाभित्र त्यसअघिको मौखिक विवाद लिखित रुपमा ‘पत्रयुद्ध’ मा परिणत भएको हो, जो नेकपाको ‘सम्पत्ति’ बनेर रहने भएको हो । 

कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्र लेख्नुका साथै १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए । त्यसको जवाफमा शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले ३८ पृष्ठको प्रस्ताव पेस गरे ।

प्रचण्डसहित सचिवालयका पाँच नेता प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक माग गर्दै कात्तिक २२ मा अध्यक्ष ओलीलाई बुझाएको पत्र, त्यस पत्रमा ओलीको कात्तिक २५ को पत्र, अनि फेरि प्रचण्डले लेखेको १० पेजको प्रतिउत्तर पत्रसमेत स्थायी कमिटी बैठकका छलफलका लागि लैजाने प्रचण्ड पक्षको तयारी छ । 
 

प्रकाशित मिति: : 2020-12-01 07:01:00

प्रतिकृया दिनुहोस्