‘नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ’

फाइल तस्बिर

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन्। 

योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको आज निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको छ भने। 

उनले भने, 'महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला। जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन्। आत्मबलले कोरोनासँग जित्न सकिन्छ।'
 
कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ थियो। 
 
सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको सल्लाहअनुसार आइशोलेसन स्थापना गरिएको बताए। नब्बे जनाको क्षमता रहेको सो आइशोलेसनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गए दुई सयजनासम्म राख्न सक्ने गरी व्यवस्था गरिने उनले जानकारी दिए।
 
सो अवसरमा महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, चिकित्सालयका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, निर्देशक डा हेमराज कोइराला लगायतले बोलेका छन्। आइसोलेशनमा हालसम्म ३६१ जनाले उपचारपछि घर फर्किएका छन् भने १६ जना उपचाररत रहेका छन्। रासस 

प्रकाशित मिति: : 2020-12-01 15:40:00

प्रतिकृया दिनुहोस्