दुबईको हजारा माउन्टेन, जहाँ हिउँ पर्छ (भिडियो/तस्वीरसहित)

खाडीको उखर–माउलो गर्मीमा हिउँ पर्छ भनेको सुन्दा पत्यार नलाग्नु स्वभाविक हो। 

तर, यो सत्य हो, निकै गर्मी हुने सयुक्त अरब इमिरेट्स (युएई) को रस अल खैमाह भन्ने राज्यमा रहेको जेबेल जैस हाजार माउन्टेन नामक एक उच्च पहाडमा हिउँ पर्छ। 

हिउँदेयाममा यहाँ हिउँ पर्ने कारण अरबभरिका मानिस चिसो मौसममा आउने गर्छन। यहाँको मौसम अरूबेला पनि चिसो नै हुन्छ। 

गगनचुम्बी घर भएको दुबई शहरलाई छिचोलेर २ घण्टाको यात्रा गरेपछि चारैतिर पहाडले घेरेको हजारा माउन्टेन आइपुग्छ। 

यो ठाउँ आउँदा तपाईहरूलाई कुनै बिरानो ठाउँमा आए जस्तो अनुभव हुन्छ। यतिबेला हिउँ हेर्न रस अल खैमाहको यो पहाडमा जानेहरूको दैनिक घुइँचो लाग्ने गरेको छ। 

युएई सात वटा राज्य मिलेर बनेको देश हो। यहाँ सात राज्यका मानिसहरू मात्र होइन, विदेशबाट पनि हिउँ हेर्न आइपुग्छन्। 
यसै साता यो ठाउँमा आइपुग्दा मलाई विकट कर्णाली आइपुगेको भान भयो। 
 
यहाँ आउँदा केहि कच्ची बाटो पनि छिचोल्नु पर्छ। रस–अल खैमाह शहरको सीमा समाप्त भएसँगै उकालो पहाड सुरु हुन्छ। 

पहाड चढ्न जिप लाइन पनि सञ्चालन गरिएको छ। जिप लाइनबाट यहाँ हजारौंको संख्यामा मानिसहरू दैनिक पहाड पुग्ने गर्छन। 

पिकनिकको लागि यो ठाउँ स्वर्ग मानिन्छ। यहाँबाट पारी हेर्दा ओमान भन्ने देश र  वारी हेर्दा पहाडै पहाड मात्र देख्छन्। जसले सुरुमा यहाँ पाइला टेक्छन्, उनीहरूलाई दुबईमा आएको आभाष पनि हुदैन। 

प्रकाशित मिति: : 2021-03-27 19:55:00

प्रतिकृया दिनुहोस्