चामु उस्ताजको गाउँमा पनि छन् संगीत सिक्नेहरु

हेमन्त विवश

काठमाडाै‌ं
गायक तथा संगीतकार तिलकसिं पेला
गायक तथा संगीतकार तिलकसिं पेला

बाल्यकालमा कहिलेकाही पुग्थे उनी धनिराम धानुकको घरमा। जो संगीतको दुनियाँमा विज्ञ थिए। तर बैतडी जिल्लामा धेरैलाई थाहा थिएन उनको विज्ञता। विद्यालयमा शिक्षण गर्ने हुँदा बढी चिनिएका थिए उनी एउटा शिक्षकको रुपमा मात्रै ।

संंगीतप्रतिको अनुरागले डोर्‍याउँथ्यो गायक तथा संगीतकार तिलकसिं पेलालाई उनको आँगनसम्म। पछि पेलाको संगत हुन थाल्यो चामु उस्ताजसँग पनि। पढेलेखेका नभए नि राम्रो तवलावादक थिए चामु उस्ताज। संगीतको क्षेत्रमा राम्रै साधक थिए उनी।

तिलकसँग भन्थे रे उनी – ‘हामीलाई सिकाउने मान्छे भएनन् टुटोफुटो संगीत हो हजुर।’ ती दिन सम्झिदै सुनाए पेलाले –‘चामु उस्ताज संगीतप्रेमीलाई जमघट गराउँथे कर्णप्रिय धुन सुनाउँथे। निकै नै प्रिय मान्छे थिए मेरा लागि ती दुबै जना।’ चामु उस्ताजले यो जगतबाट बिदा लिएको तीन वर्ष भैसक्यो। त्यसपछि गएका छैनन् तिलक पनि जन्मभूमितिर। भौतिक शरीर उता नपुगे नि दिनको एक पटक पुगेकै हुन्छ उनको मन त्यतातिर जहाँ जिन्दगीका स्वर्णिम पल व्यतित भए। 

मान्छे एकै खाले कहाँ हुन्छन् र। कोही अतित बिर्सेर हिँड्छन्। कोही अतित सम्झेर भावुक बनिदिन्छन्। निकै नै प्रिय लाग्छन् तिलकसिं पेलालाई अतितका ती दिन, त्यो उमेर जो अब कहिल्यै फर्किने वाला छैन। तर बारम्बार आएकै हुन्छन् सम्झनाका धर्साहरु। त्यही सम्झनामा डुब्दै जादा लाग्दो हो जिन्दगी आखिरमा एउटा कहानी त हो। बाल्यकालदेखि मरुन्जेलसम्म कति कथा उपकथाहरु जन्मिन्छन्, कति मोडहरु पार गरिन्छन् ती मध्ये कयौंले डेरा जमाइ दिन्छन् स्मृतिपटलमा। 

दुई दशक नाघिसक्यो उनले संगीत सिक्न थालेको। पछिल्ला दिनमा सिकाउने काम पनि गरिरहेका छन्। छोराको कर्मप्रति आमा सन्तुष्ट थिइन्। एकदिन महेन्द्रनगरबाट बैतडी जाँदै गर्दा गाडीमा आँसु एल्बमका गीत बजिरहेका रहेछन्। आमाको मन न हो रसाएछन् परेलीका डिल निकैबेर खुसी र यादले। रातभर हिउँ परेर डडेलधुरामै बास भएछ। आफ्नो भन्नु कोही रहेनछ। सबै यात्रु होटलतिर लाग्दा एक्लै सोचमग्न अवस्थामा थिइन आमा। सिटमै चुपचाप बसिरहेको देख्दा ड्राइभरले सोधेछन् – ‘ तमरो आफ्नो मान्छे कोइ छैन आमा ?’

आमाको एउटै जवाफ थियो – ‘त्यो अघिदेखि तमुनले बजायाको गीत गाउने मेरै छोरो हो।’ अनि ड्राइभरले आमाको झोला समातेर होटलतिर लगेछ। ससम्मान बस्ने व्यवस्था मिलाइदिएछ। यात्रामा आमाले पाएको सम्मान अनि आमाले छोराका सबै गीत सुनेर परेलीका डील भिजाएको त्यो पललाई पनि उनी जीवनको सफलता नै ठान्छन्। 

सुदूरपश्चिमबाट ०५३ सालमै आधुनिक गायनका क्षेत्रमा आफ्नोे आवाजको कमाल देखाइसकेका थिए उनले ‘आँसु’ एल्बममार्फत्  । उनी तिनै गायक हुन्, जोसँग कयौ गुरुका ढोकाबाटै रित्तै फर्केको तीतो सम्झना छ  । आज तिनै गुरुका शिष्य उनकोमा आएर सिक्छन्  । झट्ट हेर्दा कुनै साधु शन्त जस्तै देखिने तिनै एक्ला यात्री कुनै समयमा राष्ट्रियस्तरकै अब्बल खेलाडी थिए भलिबलका।

हिजोका दिनमा महेन्द्रनगरमा गुरुकुल खोल्ने योजना बनाएका तिनै पेला आज भन्दैछन् – ‘अब आफ्नै जन्मथलो बैतडीमा गएर संगीत सिकाउने मन छ। चामु उस्ताजको गाउँमा पनि छन् थुप्रै संगीत सिक्नेहरु। चामु उस्ताजलई गुमाएपछि गाउँमा सांगीतिक माहोल नै हराएको छ।

तिनै चामु उस्ताजको सम्झनामा धुन निकाल्न मन छ। तर यो काम तुरुन्तै हुनेवाला पनि छैन्। जब म आठ दस लाख जम्मा गर्न सक्छु तब उतै गई दुईकोठाको घर बनाएर बस्छु। सहरमा त धेरै छन् संगीत सिकाउने गुरुहरु तर गाउँमा छैनन् कोही पनि’

यता सांगितिक दुनियाका अब्बल पाइला आठ दस लाख जम्मा गर्नका लागि वर्षौ पछिको योजना बनाइरहेका छन्। देशका महारथीहरु भ्रष्टाचारमा लिप्त छन्। स्थानीय निकायदेखि प्रदेश सरकारले चासो दिएको देखिदैन गीतसंगीत कला साहित्यतिर। संयोगवश आक्कलझुक्कल छुट्ट्याइएको बजेट पनि त्यो क्षेत्रको बारे अनभिज्ञहरुलाई उपलब्ध गराइन्छ। बिडम्बनाले जरा गाडेको छ जताततै।

आफु जन्मेको गाउँमै बस्ने योजना भने छैन उनको। गाउँदेखि निकै टाढा जंगलको छेउमा जमिन छ। जहाँ थुप्रै बन्यजन्तुहरु देखिन्छन्। चराचुरुङ्गीहरु कराउछन् त्यतै दुईकोठे घर बनाउन मन छ। तर त्यो योजना कहिले पुरा हुन्छ थाहा छैन स्वयम उनलाई पनि।  

दार्चुला बैतडी तिर वर्षौदेखि चल्दै आएको थियो रामलीला नाटक  । पहिलो पटक आमाको बुइ चढेर गएका थिए पेला पनि रामलीला हेर्न। नजानिँदो पाराले त्यतिबेलै ठाउँ बनाइसकेको हुनुपर्छ दिमागको कुनामा त्यो संगीतको धुनले। १० दिनसम्म चल्थ्यो रामलीला नाटक। जहाँ उपस्थित हुन्थे हरेक वर्ष भारतका शास्त्रीय संगीतका विद्वान् पण्डित बिष्णु दिगम्बर पलुस्करका शिष्य ओमकारनाथ ठाकुरका पनि शिष्य उस्ताज बुलाकीराम।

जो देहरादुन गडवाल, कुमाउँ, खपिथौरागढ, झुलाघाट हुँदै आइपुग्थे, दार्चुलाको गोकुलेश्वर र बैतडीको पीपलकोट नकतडीसम्म। ओमकारनाथ ठाकुर राम्रो गायक र कुशल सितारवादक पनि थिए। पिपलकोटमा रघुबीर सरण भट्टको नेतृत्वमा धेरै दिनसम्म बसे उस्ताज बुलाकीराम। तिनै बुलाकीरामबाट सिकेका थिए गोुलेश्वरका उत्तम साउँद, नकतडीका दानीराम र रामीराम धानुक अनि कपिण्डाका उस्ताज गजाधर भट्टले पनि संगीत।

त्यही रामलीला र तिनै बुलाकीरामको स्वर र संगीतले तानेको हो उनलाई सांगीतिक दुनियाँतिर। दश कक्षामा पढ्नेताका उनले नाटकमा खेल्ने मौका पनि पाए। छुट्टिका दिनमा वनमा गाई बाख्रा चराउन जाँदा होस् वा एक्लै बस्दा, तिलकलाई गीत गुनगुनाउने बानी परिसकेको थियो। संगीतकै सपना देख्न थालेपछि पढाइतिर रुचि घट्दै गयो। कृष्णसिं पेला र उनको बीचमा दाइभाइको नाता थियो।

त्यो नाता एकातिर थियो त्यो भन्दा बढी साथीको सम्बन्ध थियो। निकै नै मिल्ने साथी थिए दुबैजना। कृष्ण गीत गजल लेखिरहन्थे। ०५२ सालमा छुट्टिएर महेन्द्रनगर यात्रा गर्दा ३५ वटा गीत संग्रहित एउटा कापी दिएका थिए कृष्णले। छोडेनन् उनले त्यो कपि कही जादा पनि।  महेन्द्रनगरको रतनपुरमा प्रत्येक शुक्रबार भजन–कीर्तन हुन्थ्यो। त्यहाँ प्राय पुगेकै हुन्थे पेला। कर्णप्रिय स्वरका धनी पेलालाई बाजा बजाउन आउँदैनथ्यो। संगीत नसिकेरै उनी आफ्नै किसिमले लय सिर्जना गर्थे र गुनगुनाउँथे पहिलो एल्बम आँसुका सम्पूर्ण गीत। 

तिलकको संगीतप्रति रुचि छ भन्ने सुनेपछि घर आएर उनका माइला दाइ डम्बरले आफुसँगै लगेर गए उनलाई दिल्ली। जहाँ उनी मुस्लिम गुरु कहाँ संगीत सिक्न सिक्न थाले। तिनै गुरुकहाँ तिलकले सिकेका सांगितिक संस्कार। त्यतिबेलै गाउन चाहन्थे उनी गीत। तर, गाउन दिएनन् गुरुले। त्यो माहोल सम्झिदै गुरुले भनेका कुरा सुनाउछन् उनी– ‘तुम सिर्फ ‘‘सा’ लगाओ, अभि तुम गीत मत गाओ बेटा।’ ‘‘सा’‘ मुख्य स्वर हो संगीतको।

विद्वान्हरू पहिले सालाई नै साध्न सिकाउँछन्। त्यतिबेला मलाई के थाहा त्यस्ता कुरा। म त हार्मेनियमको ट्युनिङसँगै गीत गाएर जमघटमा सुनाउन चाहन्थे। दाइ ड्युटीमा जान्थे। गुरुकहाँ संगीत सिकिसकेपछि म नजिकैको पार्कमा जान्थेँ र कृष्ण दादाले लेखेका गीत गुनगनाउँथे। ‘आँसु’ एल्बमका गीतको लय त्यही पार्कमा सिर्जना गरेको हुँ। 

दिल्लीमा १० महिना संगीत सिकेपछि उनी घर फर्किए। शिक्षक प्रेम थापा र कृष्ण दुवैले बैतडी र दार्चुलाका अघिकांश विद्यालयमा तिलकको गीत सुन्ने वातावरण बनाए। चारैतिरबाट उनको स्वरको तारिफ हुन थाल्यो। ती थापाले तिलकलाई काठमाडौं गई एल्बम निकाल्न सुझाब मात्रै दिएनन् खल्तीबाट १० हजार रूपैयाँ समेत थमाइदिए हातमा। केही रकम कृष्णले पनि जोहो गरे। उनले काठमाडौंमा गीत रेकर्ड गर्दाको संघर्ष र भोगेको पीडालाई उतार्ने हो भने एउटा उपन्यास नै तयार हुन सक्छ।

दुख पाए पनि बजारमा एल्बमको माग बढ्दै गयो। चारैतिर स्वरको प्रसंसा हुन थाल्यो। रातारात चर्चामा आए उनी। तथापि आर्थिक हिसाबले हात लाग्यो शून्य। एल्बम निकाल्न सम्झौता गर्नुपर्छ भन्ने केही थाहा नपाएका पेलाले त्यसै छाडेर आएका थिए मास्टर कपी। रातकारात पैसा कमाए कम्पनी मालिकले। अनि कमाए चोरी चोरी डबिङ गरेर बेच्नेहरुले।

उनले उल्टै यताउताबाट जोहो गरेको पैसाले पचास वटा आफ्नै एल्बम किनेर बाँडे आफन्तलाई। गीतसंगीतको भूत चढेका तिलक चुपचाप तयारी गर्न थाले दोस्रो एल्बम आसु भाग दुईको। जसमा डोट्याली भाषाका ५ गीतका शब्द थिए देवराज भट्ट शर्माका। २ गीतका शब्द थिए कृष्णका। पहिलो एल्बम ‘आँसु’ पुनः ताल म्युजिकबाट बजारमा आयो। जहाँबाट सुरुमै रोयल्टी बापत पाए ७ हजार रुपैया। त्यसपछि सुरुगरे उनले गुरुदेव कामतकहाँ संगीत सिक्न।

घाँटीमा ओशोको माला झुण्ड्याइरहने पेलासँग छैन कुनै बनावटी कुरा। २३ वर्ष सम्म रेकर्डिङ दुनियाबाट हराए उनी। यसरी हराउनुको कारण बताउछन् उनी – ‘‘म्युजिकल नलेज नहुँदा साधनाका लागि पनि लुकेँ। ज्ञानबिनाको नाम कमाएर आफू पनि ठगिनु र अरुलाई पनि बेवकुफ बनाउनु उचित ठानिनँ। मार्केटमा टिक्न साधना नै गर्नुपर्छ, त्यही भएर साधनामै छु,।’

२३ वर्ष पछि एक वर्ष अगाडि मात्रै बजारमा ल्याएका हुन् उनले आँसु भाग ३। हाल आएर उनी एरेन्जको पाटो सिक्दैछन्। साथै हप्तामा एक दिन वरिष्ठ सेक्सोफोनिष्ट शुभबहादुर सुनाम कहाँ नोटेसन पनि सिक्दै छन्। 

काठमाडौं आएको चार वर्षपछि भेटाएका हुन् उनले गुरू धनबहादुर गोपालीलाई। उनले  तिनै गुरुकोमा पढेर एमम्युज उत्तीर्ण गरे। फेरि बनारस गई गुरु देवाशीषसँग दुई वर्ष संगीत सिके। अहिले पनि समय मिलाएर पुग्छन् बनारस। काठमाडौंको वनस्थली चोकभन्दा भित्रपट्टि श्रीकृष्ण गुरुकुल पाठशाला चलाएर साधनारत तिलकसँग सिक्ने शिष्यहरूको संख्या बाक्लै देखिन्छ। 

गाउँमा आमा चिन्ता गरिरहन्छिन्  छोरोले बिहे गर्न नमानेकोमा। तिलकका काकाले दुई चार वर्ष अघिसम्म खोजिरहन्थे कन्या। अचेल उनलाई सम्झाउँदा सम्झाउँदा थाकिसके काका पनि। बिहेको कुरा उठाउदा भनिदिन्छन् उनी –मान्छे धनसम्पत्ति र सम्बन्धको हिसाबले दुखि हुन्छ। कोही कसैलाई साहारा दिन सक्दैन। जीवनका क्या भरोशा .......। 

तिलकसिं पेलाले सुदूरपश्चिमबाट काठमाडौं आएर संगीत साधनामा जम्न गर्नुपरेको संघर्षको कथा सुन्दा आँखाका डिल भत्किन्छन्। उनी उपयोगी समाजका लागि अर्थपूर्ण अस्तित्वसँगै आँसुको कहानीमा पौडिएका साधक हुन्। पाँच वर्षको उमेरमा बुवा गुमाएका उनको जीवनमा कैयौं अविष्मरणीय घटनाहरु घटे। मोडै पिच्छे कैयौं कहानीहरु पनि बने। तर ती सबै घटना परिघटना सुनाएका छैनन् उनले कसैलाई पनि। मात्र स्वर र संगीत भरेका छन् त्यस्तै खाले भाव बोकेका गीतमा:

लुकाउन खोज्दा पनि आँसु नखसेको हैन 
के गर्नु र निधारमा हाँसो त लेखेकै छैन 
फेरि पनि आफ्नो व्यथा कसैलाई भनेकै छन् 
..............
उदाश उदाश साँझमा तस्बिर लिएर हातमा
गाउँदैछु यौटा गीत प्रियसीको यादमा
.............
निर्जन किनारसँग सोधिरहन्छु म 
मेरो ओठबाट उनको नाम 
खोसेर लग्यो कसले 
.....................
कथा यौटै तिम्रो मेरो विवशताले बुनिएको 
नियतिको आँधिहुरी कलेजीमै खनिएको 

 

प्रकाशित मिति: : 2020-12-21 21:16:00

प्रतिकृया दिनुहोस्

    अति मार्मिक सन्दर्भ ! धन्यवाद हेमन्त विवश जी! जयसँगीत तीलक जी!

    • 3 बर्ष अगाडि
    • sanyog singh

    हार्दिक धन्यवाद साहित्यकार हेमन्त विवश ज्यूलाई !

    • 3 बर्ष अगाडि
    • Krishna Singh Pela