रक्षा विधेयक रोक्न ट्रम्पले गरे भिटो प्रयोग, संघीय निकायहरु ‘सटडाउन’ मा जाने सम्भावना

बिएल संवाददाता

काठमाडाै‌ं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न भिटो प्रयोग गरेका छन्।

सदनका दुवै सदनमा लामो छलफलपछि रिपब्लिकन र डेमोक्र्याटिकका तर्फबाट ल्याइएको ७४० बिलियन डलर बराबरको सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न उनले भिटो प्रयोग गरेका हुन्।

झण्डै एक वर्ष लगाएर तयार पारिएको ४५ सय पृष्ठ लामो विधेयकलाई ट्रम्पले ‘चीन र रुसका लागि उपहार’ भनेका छन्।

विधेयकले महत्वपूर्ण राष्ट्रिय सुरक्षाका विषय समेट्न नसकेको आरोप ट्रम्पले लगाएका छन्।

ट्रम्पले भिटो प्रयोग गरेसँगै अमेरिकी सरकारका संघीय निकायहरु महामारीको बेलामा ‘सटडाउन’ मा जाने सम्भावना छ। 

रंगभेद विरोधी आन्दोलनको प्रभाव स्वरुप रंगभेदलाई साथ दिने सेनाका पूर्व नेताहरुको नाम सैनिक बेसबाट हटाउने व्यवस्था विधेयकमा छ।
सो विधेयक सदनबाट अत्याधिक बहुमतले पारित भएको थियो। 

तर उनले भिटो प्रयोग गरेर कानून बन्नबाट रोकेका छन्। 

यता विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको छ। 

तर उनले विदेशमा रहेका सैनिक फिर्ता बोलाउने संख्या सीमित गर्नु खराब र असंवैधानिक नीति रहेको आरोप लगाएका छन्।

दुवै पार्टीको सहमतिमा ल्याइएको र अत्याधिक बहुमतले पारित भएपनि विधेयकलाई कानूनी रुपमा प्रदान गर्नका लागि राष्ट्रपतिले हस्ताक्षर गर्नु पर्ने हुन्छ। तर दुर्लभ अवस्थाहरुमा राष्ट्रपतिले भिटो प्रयोग गर्न वा अस्वीकार गर्न सक्छन्।

तर राष्ट्रपतिले भिटो प्रयोग गरेर रोक्न खोजे पनि त्यसलाई सदनले कानूनमा प्रमाणिकरण गर्न सक्छ।

तर  राष्ट्रपतिले प्रयोग गरेको भिटो खारेज गर्नका लागि संसदका दुवै सदनबाट दुई तिहाई बहुमत चाहिन्छ। 

ट्रम्पले यसअघि कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका अमेरिकीका लागि सहयोग गर्न ल्याइएको प्याकेज सम्बन्धी विधेयकमा पनि हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। 

प्रकाशित मिति: : 2020-12-24 07:43:00

प्रतिकृया दिनुहोस्