शनिबार, १२ जुलाई २०२५

युट्युबरकै कारण बदनाम हुँदै गएको युट्युब

बिएल संवाददाता

बिएल संवाददाता

अमेरिका
2022-03-12 09:04:00
News Image
• • •

सूचना प्रविधिको बिकाससँगै प्राप्त सुविधाको सदुपयोग वा दुरुपयोग गर्नु मान्छे पिच्छेको धारणा हुन् सक्छ। तर प्राप्त सुविधाको सबैभन्दा बढी दुरुपयोग गर्नेमा सायद हामी अगाडि होलाम्। इन्टरनेटमा निःशुल्क भिडियो पोस्ट गर्न पाउने प्लेटफर्म युट्युबको जति दुरुपयोग हामीले गरेका छौं, त्यो सायदै अरुले गरेका  होलान। 

कुनै घटना घट्ने बितिकै भ्रमपूर्ण हेडलाइन र थम्बनेल (भिडियोमा राखेको चित्र) राखेर भिडियो पोष्ट गर्नेको जमातले मान्छेलाई भ्रममा राख्नुका साथै गलत सुचना दिएर दिगभ्रमित पनि पारेका छन्। अच्चम लाग्दो कुरा यो होकि यसैलाई पत्रकारिता मानेर आँखा चिम्लेर विश्वास गर्नेको जमात पनि ठूलै छ।

युट्युब एउटा निःशुल्क भिडियो पोष्ट गर्न पाउने प्लेटफर्म हो। यसमा भिडियो राख्न कुनै रकम तिर्नु पर्दैन तर यसका केही आफ्नै प्रावधान छन्। हामीले सुने जस्तो युट्युबमा भिडियो राख्दैमा खुरुखुरु पैसा झर्ने होइन। कसैले कसैलाई यति सजिलै पैसा दिँदैन्। यस्ता भिडियो हेर्दैमा अर्थात जतिले हेरे पनि त्यसबाट कुनै आयआर्जन गर्न सकिने होइन। त्यस्ता भिडियोको बीचबीचमा विज्ञापन आएमात्र आयआर्जन हुने हो। पैसा प्राप्त हुने प्रक्रियामा पुग्न सबैभन्दा पहिले कम्तिमा एक हजार सबस्क्राइबर (सदस्य) हुनुपर्छ। सदस्यको संख्या एक हजार पुगेपछि मात्र भिडियो मनिटाइज अर्थात पैसा प्राप्त गर्ने प्रक्रियामा पुग्छ। भिडियो जतिले हेरे पनि यदी भिडियोको बीचमा विज्ञापन आएन भने उसले एक सुका पनि प्राप्त गर्दैन, भलैई जसले जति नै गफ लगाए पनि।

जमराको जुस पिउँदा क्यान्सर निको हुने, फलानोको श्रीमती भाग्यो, विदेशबाट पैसा पठाउनु पर्यो, फलानो ठाउँको मान्छेले नारायण गोपालको भन्दा सुरिलो गीत गायो भन्ने जस्ता हावादारी र भ्रमपूर्ण हेडलाइन राखेका भिडियो युट्युबमा छयासछ्यास्ती पाइन्छ। अब सित्तैमा पाइने कुरा छान्दा अलि विचार गरेर छान्नु पर्ने कारण त्यस्ता हावादारी भिडियो नहेर्ने दर्शकहरु नै चनाखो हुनुपर्छ। युट्युबमा पैसा तिरेर उपलब्धिमुलक भिडियो मात्र हेर्न पाइने प्रावधान पनि छ, जसलाई युट्युब प्राइम भनिन्छ। यस बारेमा धेरैलाई जानकारी नहोला। जानकारी भए पनि पैसा तिर्न गाह्रो मान्ने बानी हामी सबैमा छदैछ।

जस्तो पनि भिडियो अपलोड गर्ने संस्कारले वास्तविक जानकारीमुलक भिडिओ अपलोड गर्ने पनि मारमा परेका छन्। यदी असल नियतका साथ जानकारीमुलक भिडियो मात्र राखेर यसैबाट बर्षमै खर्ब डलरभन्दा बढी आयआर्जन गर्ने मान्छे पनि नभएका होइनन्। तर यो काम पनि कुरा गरे जति सजिलो छैन। आजसम्म सबैभन्दा बढी सदस्य भएको युट्युब च्यानल भारतको टिसिरिज हो र यसको एक सय ६४ मिलियन सदस्य छन्। टप ५० मा भारतबाट मात्र १२ वटा छन् र यिनीहरूको आय करोडौमा हुने गर्दछ। आजसम्म सबैभन्दा बढी हेरिएको भिडियो Baby Shark Dance हो र यो भिडियो यो आलेख तयार पार्दासम्म सात सय ५० खर्ब पटक हेरिएको छ।

यो बर्ष सबैभन्दा बढी पैसा कमाउने युट्युबर क्यानाडाका Evan Fong रहेका छन्। उनको VanossGaming नामको च्यानलले २५ दशमलव ३ मिलियन डलर आर्जन गर्न सफल भएको छ। उनले आर्जन गरेको रकम जति धेरै छ, उनको मिहिनेत र उत्पादन पनि त्यस्तै उच्च स्तरको छ। यो तथ्यांक मात्र हेरेर कसैले युट्युबमा भिडियो अपलोड गर्दा धनि हुने रहेछ भनेर सोच्छ भने त्यो मुर्खता मात्र हुनेछ। तर विषय बस्तुसँगको ज्ञानको साथै कडा मिहिनेत र लगन छ भने त्यो असम्भव पनि होइन।

मुलधारका पत्र–पत्रिकाले समेट्न नसकेका बिषयलाई केही युट्युबरले सार्वजनिक गरेका छन् र केही घटनामा दोषीलाई कानुनी कारवाही पनि भएको छ र त्यसलाई सकारात्मक पनि मान्नु पर्छ। धेरै जसो युट्युबर पत्रकारितामा रुची भएका र क्षमता नभएका छन्, जसको उत्पादन कुनै कोणबाट पनि उत्कृष्ट हुन् सक्दैन। 

कुनै निकायबाट स्विकृति लिनुनपर्ने र कुनै आचारसंहिता पनि नलाग्ने कारण प्रायः युट्युबर फुकेको साँडे जस्तो भएका छन्। उनीहरूलाई हामीले जे गरे पनि हुन्छ भन्ने ठूलो भ्रम छ र उनीहरु कसैको पनि चरित्र हत्या गर्नपछि पर्दैनन्। उनीहरूको यस्तो क्रियाकलापलाई देशको कमजोर कानुनले पनि साथ दिएको छ।

युट्युबर हुनु नराम्रो होइन तर अधिकांश युट्युबरको गैरजिम्मेवार गतिबिधिका  कारण समाजमा निकै बदनाम भएको छ। यो क्षेत्रमा लाग्नेले पनि आफूलाई जिम्मेबारीपूर्वक लाग्ने र सरकारले पनि कानुनी प्रक्रियाले बाध्न ढिलो भइसकेको छ। अतः यस्ता हावादारी र बकम्फुसे भिडियो हेर्न छोड्दा दर्शकको दिमागलाई पनि अनावश्यक जोड नपर्ने कुरामा दुईमत नहोला।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?