फेरि उत्तर–दक्षिण भूराजनीतिक खेलको गोलचक्करमा नेपाल

Breaknlinks
Breaknlinks

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भई दुई दलको अभ्यास सुरु गरेलगत्तै उत्तरी छिमेकी जनगणतन्त्र चीनको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को चार सदस्यीय विशेष टोलीले आकस्मिक रुपमा चारदिने नेपाल भ्रमण गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निर्देशनमा सो पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष टोली चार दिन नेपालमा बिताएर बुधबार स्वदेश फर्केको हो ।

उपमन्त्री येचौ एक महिनाभित्र नेपाल भ्रमण गर्ने दोस्रो चिनियाँ उच्च अधिकारी हुन् । यसअघि गत मंसिर १४ गते राज्य परिषद् सदस्य समेत रहेका त्यहाँका रक्षामन्त्री वेइ फेङ्हो एक दिवशीय भ्रमणमा नेपाल आएका थिए । उनी फर्केलगत्तै  नेपाल भ्रमणबारे त्यहाँको रक्षा मन्त्रालयद्वारा जारी ‘न्यूज रिलिज’ मा भनिएको छ, ‘वेईले नेपालको एक चीन नीतिको उच्च सह्राना गरेको र चीनले पनि नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्न उल्लेख्य सहयोग गर्नेु उल्लेख गरेको थियो। 

चिनियाँ राष्ट्रपति सी चीनफिङको गत वर्ष नेपाल भ्रमण (०७६ असोज २५) हुनुभन्दा चीन साताअघि असोज पहिलो सातामा नेकपा र सीपीसीबीच भाइचारा सम्बन्ध स्थापनाको घोषणा गरिएको थियो । दुई देशका कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखहरु नेकपाका माधवकुमार नेपाल र सीपीसीका सोङ ताओले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । उक्त भाइचारा स्थापनाको १५ महिनापछि नै नेकपा विभाजित भएपछि चिनियाँ चासो बढेको हो । 

उपमन्त्री येचौ नेतृत्वको विशेष टोलीले नेकपा विभाजनपछिको परिस्थितिबारे राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता ग¥यो । पाँच जना पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरी चार दिन नेपाल बसेर फर्किएको छ ।  

पूर्वप्रधानमन्त्रीहरु प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेको छ । नेकपा (प्रचण्ड–नेपाल) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेको छ । सभामुख अग्निप्रसाद सापकोटासँग पनि छलफल गरेको छ । 

उपमन्त्री कुओ येचौ नेतृत्वको उक्त टोलीको नेपाल भ्रमणलाई नेकपाको ओली पक्षले ‘सद्भावपूर्ण भ्रमण’ भनेको छ । नेकपा (प्रचण्ड–नेपाल) पक्षले भने नेकपालाई पुनः एकताबद्ध बनाउन दबाब सिर्जना गर्ने भ्रमणका रुपमा व्याख्या गरेको छ । 

नेकपाका दुवै पक्षका नेताहरुसँगको भेटमा चिनियाँ टोलीले नेकपाको विभाजनले नेपालको राजनीतिमा अस्थिरता सिर्जना हुनेमा चिन्ता व्यक्त गरे, एकताबद्ध भएर अघि बढ्न सुझाव पनि दिएका छन् । टोलीसँग भेट गर्ने नेकपा (प्रचण्ड–नेपाल) समूहका चारै जना नेताहरु– अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता खनाल र सभामुख सापकोटाले प्रधानमन्त्री ओलीको व्यवहारका कारण पार्टी फुटेको बताएका थिए । 

नेकपा उच्च स्रोतका अनुसार, गत वर्ष ०७६ असोज २५ गते राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला नेकपाका तत्कालीन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले नेकपालाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेकपालाई शक्तिशाली कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्ने र सीपीसीसँग घनिष्टता कायम गरी अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । 

एक वर्ष नपुग्दै उक्त प्रतिबद्धताविपरीत पार्टी विभाजित भएपछि चिनियाँ पक्ष चिन्ता व्यक्त गर्न नेपाल आएको हो । विभाजित नेकपाको एउटा समूहका एक जना अध्यक्ष प्रचण्ड स्वयम्ले ‘चिनियाँ टोलीले नेकपा एक होस् भन्ने चाहना व्यक्त गरेको’ बताएका छन् ।

चिनियाँहरु दक्षिणी छिमेकी जत्तिको खुल्ला रुपमा प्रस्तुत हुँदैनन् । थोरै मात्र बोल्ने र धेरै सुन्ने चिनिया शैली हो । उपमन्त्री कुओ उनै चिनिया अधिकारी हुन् जो ओली प्रधानमन्त्री हुनेबित्तिकै साढे दुई वर्षअघि पनि नेपाल आएका थिए । त्यति बेला सरकार बनाएको ‘वाम–गठबन्धन’ लाई पार्टी एकता गरेर जानसक्ने संभावनाबारे जिज्ञासा राखेका थिए, यसपटक चाहिँ यसपटक चाहिँ विभाजनतिर लागेको नेकपालाई अझै पनि एकता कायम गरी अघि बढ्न सक्ने संभावनाबारे सम्भावनाबारे चासो व्यक्त गरेका छन् ।

चिनिया टोलीले नेकपामा आएको विभाजनले नेपालमा आउनसक्ने राजनीतिक अस्थिरताबारे चिन्ता व्यक्त गरेको छ । पूर्वप्रतिबद्धता अनुसार, नेकपालाई एकताबद्ध र सबल बनाएर अघि बढ्ने उपाय खोज्न सुझाव दिएको छ । नेकपाको विभाजन र नेपालको राजनीतिक अस्थिरताभित्र भारतीय स्वार्थको घूसपैठलाई पनि ‘ब्यालेन्स’ गर्न खोजेको छ । नेपालको राजनीतिक अस्थिरताले चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्नसक्ने सुरक्षा खतराबारे चासो राखेको छ ।  नेपालभित्र रहेको चिनिया लगानीको सुरक्षा र नयाँ लगानीका संभावना पनि भ्रमणका उद्देश्यभित्र अन्तर्निहीत विषय हुन् । 

भारतीयको लर्को

भारतीय स्वतन्त्रता दिवश (१५ अगस्त) मा प्रधानमन्त्री ओलीले मोदीलाई बधाई दिन टेलिफोन गरेपछि दुई प्रधानमन्त्रीबीचको करिब छ महिनालामो संवादहीनता टुटेको थियो । भारतले मिचेको नेपाली भूमि समेटेर लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रसमेत समेटिएको नक्सा जारी गत जेठ ५ नेपालका तर्फबाट जारी भएपछि चिसिएको सम्बन्ध कात्तिक ५ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा गुप्तचर संस्था ‘रअ’ का प्रमुखले काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि उक्त गतिरोध 'ब्रेक थ्रुु' नै भएको विश्वास गरियो । नेकपाका एक जना अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ खनालसहित पार्टीका बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली हटाउने तयारी गरे । त्यसको प्रतिवादस्वरुप ओलीले संघीय संसद् विघटन गरे ।

नेकपाभित्र तरंगित राजनीतिको परिणाम संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणासम्म पुगिसकेको छ । संसद्मा दुईतिहाई बहुमतप्राप्त नेकपा दुई चिरामा विभाजित भएको छ । साढे दुई वर्षअघि एकीकरण घोषणा भएको नेकपा फुटेको छ । यसै चीरामा फेरि विदेशी शक्तिले खेल्ने मौका पाएका छन् ।

०७२ सालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी खुलाउन शैन्य–कूटनीतिले महत्वपूर्ण भूमिका खेलेको थियो । नक्सा प्रकाशनपछि दुई देशबीच कायम गतिरोधबीच भारतीय स्थल सेनाध्यक्ष मणिमुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ सेनापतिको पद्वी ग्रहणले थप सहज बनाएको अनुमान गरियो । 

चीनियाँ रक्षाामन्त्रीको भ्रमको तीन दिनअघि मंसिर ११ गते भारतीय विदेश सचिव हर्षवर्धन शृंगला दुईदिने नेपाल भ्रमणमा आए । त्यसपछि पनि भारतीय 'ब्युरोक्रेटिक' तहका अधिकारीहरुको अनौपचारिक नेपाल यात्रा, पूर्व राजदूतको 'लविङ'  र 'रअ' का अधिकारीको सक्रियता बढेको छ । भारत यसअघि नेपालमा गुमाएको 'स्पेस' पुन: बनाउन लागिपरेको छ।  यो श्रृङ्खला नेपालका प्रधानमन्त्रीको ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणसम्म पुगेर टुंगिने स्रोतहरुको अनुमान छ ।

नेकपा–सीपीसीबीच बन्धुत्व

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीन अलग–अलग शासन व्यवस्था भएका मुलुकका सत्तारुढ कम्युनिष्ट पार्टीबीच एउटै समानता छ– दुवै कम्युनिजममा विश्वास गर्छन् । दुवैको मार्गदर्शक सिद्धान्त द्वन्द्वात्मक भौतिकवाद हो । सन् १८४८ मा कार्ल मार्क्सले जारी गरेको कम्युनिष्ट घोषणापत्र मान्ने दुवै दलका सुदूर गन्तव्य साम्यवाद हो । 

सन् १९२१ मा स्थापित चिनिया कम्युनिष्ट पार्टी सय वर्ष पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी चाहिँ त्यही वर्ष स्थापना भएको हो, जहिले चीनमा अध्यक्ष माओ माओ च तुङको नेतृत्वमा सीपीसीले जनवादी क्रान्ति सम्पन्न गरेको थियो। अर्थात्, ‘नयाँ चीन’ र नेकपाको उमेर उत्तिकै छ। 
नेकपा स्थापना भएको ७० वर्षपछि पहिलोचोटी ०७५ असोजमा पार्टीको तहमा संयुक्त रूपमा ‘विचारधारात्मक छलफल’ भयो । दुई पार्टीबीच भाइचारा कायम भएको हो । 

त्यसबेला अध्यक्षद्वय केपी ओली र प्रचण्डको उपस्थितिमा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चीनियॉ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले हस्ताक्षर गरेको समझदारी–पत्रमा ६ बुँदा थिए– उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि, पार्टी–पार्टी अनुभव आधारित सहयोग आदान–प्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया अभिवृद्धि र विचार) सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन । दुईदिने विचारधारात्मक छलफलले आपसी सम्बन्ध थप मजबुत बनाएको नेकपाले जनाएको थियो । त्यसपछि कोरोना महामारीबीच पनि ०७७ असार ५ गते संयुक्त गोष्ठी आयोजना भएको थियो । 

‘बिआरआई’ र नेपाल

सन् २०१३ पछि सर्वाेच्च चिनिया नेताका रूपमा उदाए– सीपीसीका महासचिव एवम् वर्तमान राष्ट्रपति सी जिङपिङ। त्यसपछि उनले पुरानो ‘सिल्क रोड’ को अवधारणालाई आधुनिक स्वरुपमा अघि सारे– ‘वन बेल्ट वन रोड’ का रुपमा । जुन अहिले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) भएको छ ।
राष्ट्रपति भएको चार वर्षपछि उनको यो अवधारणाले स्वरुप ग्रहण गरिसकेको थियो । सन् २०१७ अक्टुवर १८–२४ मा सम्पन्न सीसीपीको उन्नाइसौँ कङ्ग्रेसले महासचिव सीको अवधारणालाई ‘विचारधारा’ का रुपमा स्वीकार गर्‍यो– ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधारा’ । यो सीसीपीको निर्देशक सिद्दान्तहरूमध्ये एक बनेको छ । 

राष्ट्रपति सी नयाँ चीनका संस्थापक अध्यक्ष माओ च तुङ र तङ स्याउ फिङ (देङ सियाओ पिङ) विचारधाराजस्तै सी विचारधारा पनि सीसीपीको विधानमा उल्लेख छ । चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) लाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समावेश गरेको छ ।
जनवादी गणतन्त्र चीनका संस्थापक माओ, तङ र अहिले आएर सी चिनफिङलाई महान् विचारक नेताहरूको सूचीमा राख्न थालिएको छ ।

चीनले बीआरआईलाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समावेश गरेको छ । चीनको प्रष्ट लक्ष्य छ– कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुग्दा गरिबीको अन्त्य गर्ने, सन् २०३५ सम्म कम्युनिष्ट पार्टीले समाजवादी आधुनिकीकरणमा जोड दिने र ‘नयाँ चीनको एक सय वर्ष पुग्दा (सन् २०४९) सम्ममा ‘समृद्ध, शक्तिशाली, लोकतान्त्रिक, साँस्कृतिक रूपले विकसित, सामञ्जस्यपूर्ण र सुन्दर’ चीन बनाउने । विश्वको एक नम्बर अर्थतन्त्र हुने । कोरोनाको विश्व व्यापी महामारीले अमेरिकी अर्थतन्त्र बढी संकुचित हुँदा चीन सन् २०२८ मै विश्वको पहिलो अर्थतन्त्र हुने प्रक्षेपण सार्वजनिक भइसकेको छ ।

अहिले विभाजनको मार्गमा अघि बढिरहेको नेकपाका दुवै खेमालाई उत्तर र दक्षिण दुवैको साथ सहयोग चाहिएको छ । एकअर्को पक्षलाई गलाउन उत्तर र दक्षिणको शक्ति पनि उपयोग गर्न दुवै पक्ष तल्लिन देखिएका छन । कसलाई कताको समर्थन भनेर अनुमान लगाउन समेत गाह«ो पर्ने अवस्था सिर्जना भएको छ । 

अन्तर्राष्ट्रिय साथ दुवै खेमालाई चाहिएको छ तर एकअर्कालाई आरोपित गर्न पनि दुवै खेमा उत्तिकै सक्रिय छन् । दक्षिणको पेलाइमा रहेको बेला त्यसलाई उत्तरबाट सन्तुलन मिलाउन चाहन्छ । नेपालको असंलग्न विदेश नीति हो । सरकार कालापानी क्षेत्रको मिचिएको भूभाग फिर्ताका लागि भारतसँग संवादको तयारीमा छ । भारतीय सञ्चारमाध्यमले मिचिएको क्षेत्रसहितको नक्सालाई ‘मेड इन चाइना’ भनिरहेका छन् । जे होस्, नेकपाभित्रको विवादका कारण उत्पन्न गतिरोधले संसद विघटन भएपछि राजनीतिक अस्थिरता बढेको छ । उत्तर–दक्षिणको भूराजनीतिक खेलको चक्करमा नेपाल पुनः फस्दै गएको सहजै अनुमान गर्न सकिन्छ । यसलाई सन्तुलन मिलाएर अघि बढेमा देशलाई लाभ नै होला, अन्यथा देश आफ्नोभन्दा विदेशीको स्वार्थको गोलचक्करमा फस्दै जाने छ ।

प्रकाशित मिति: : 2020-12-31 09:43:00

प्रतिकृया दिनुहोस्