‘आज रुस र चीनजस्ता देश हामीमाथि हाँसिरहेका होलान्’

बिएल संवाददाता

न्यूयाेर्क
Photo: Getty Images
Photo: Getty Images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पार्टीका नेता मार्को रुबियोले अमेरिकी राजधानीमा भएको हिंसाको कडा शब्दमा आलोचना गरेका छन्।

 बुधबार वासिङ्टनस्थित संसद भवनमा ट्रम्पले फैलाएको हिंसा फेलाएका थिए। 

उनले अमेरिकी संसदमा भने, ‘म ती मानिसहरुबीच हुर्किएको हुँ जसले आफ्नो देश छोडेर अमेरिका आएका थिए किनभने उनीहरुको देशमा स्थिती तनावपूर्ण थिए र परिस्थिती नाजुक थिए। ठ्याक्कै त्यस्तै जुन आज हामी यहाँ देखिरहेका छौं।’

‘आज रुस र चीनजस्ता देश हामीमाथि हाँसिरहेका होलान्। उनीहरु यो घटनालाई अमेरिकालाई होच्याउनका लागि प्रयोग गर्नेछन्। आज जे भयो, त्यो देखेर म यहि भन्छु कि हाम्रो देश खस्किरहेको छ। मलाई लाग्छ, राजनीतिले हामीलाई पागल बनाइदिएको छ, सबैको दिमाग सड्किएको छ।’

ज्यान गुमाउनेकाे संख्या ४ पुग्याे

हिंसामा परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

राष्ट्रपति ट्रम्पका समर्थकले संसद भवनमा गरेको आक्रमणको क्रममा एक महिलाको गोली लागेर तथा अरु तीनजना (एक महिला र दुई पुरूष)को ‘आकश्मिक स्वास्थ्य समस्या’ का कारण निधन भएको प्रहरीले जनाएको छ।

डिसी प्रहरी प्रमुख रोबर्ट कोन्टीले मृत्यु हुने थप तीनजना संसद भवनको झडपमा सहभागी भए–नभएको जानकार दिन मानिनन्।

राजधानीमा भएको झडपको क्रममा कम्तिमा १४ सुरक्षाकर्मी घाइते भएका छन्। अहिलेसम्म प्रहरीले ५२ जना भन्दा बढिलाई पक्राउ गरेको छ। त्यसमध्ये ४७ जना कर्फ्यू उल्लंघन गरेका कारण पक्राउ परेका हुन्।

नोभेम्बर ३ को निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो वाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको बैठकलाई बिथोल्न ट्रम्प समर्थक सुरक्षा बार तोड्दै हलमा प्रवेश गरेका थिए। उनीहरू इँटा, बोतल र बन्दुक बोकेर संसद भवनभित्र छिरेका थिए। 

उनीहरुले संसद भवनमा प्रवेश गरेर हिंसात्मक गतिविधि गरि सदनको संयुक्त सत्रमा अवरोध गरेका थिए।

जो वाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट सांसदहरुलाई रोकी नतिजा उल्ट्याउने प्रयासमा ट्रम्पका समर्थक लागेका हुन्। अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्।

यसअघि बुधबार नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसिरहेका बेला ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए।

विश्वभरिका नेताहरूले गरे भत्सर्ना

ट्रम्पका समर्थकले बुधबार संसद भवनमा गरेको हिंसाको विश्वभरिका नेताहरूले भत्सर्ना गरेका छन्। सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका समर्थकले क्यापिटोल बिल्डङमा गरेको हिंसाको विश्वभरिबाट भत्सर्ना भएको छ।

उनीहरुले संसद भवनमा भएको आक्रमण डरलाग्दो र प्रजातन्त्रमाथिको आक्रमण रहेको बताएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले छिमेकी मुलुक अमेरिकाको प्रजातन्त्रमाथि भएको हमलाले क्यानडेली निकै दुस्खी र निराश बनाएको बताएका छन्।

उनले ट्वीट गरेका छन्, ‘जनमतलाई ओझेलमा पार्न कहिल्यै पनि हिंसा सफल भएको छैन। अमेरिकी प्रजातन्त्र स्थापित हुनु पर्छ र हुनेछ।’

बेलायती प्रधानमन्त्री बोरिस जोन्टसले सदनमा भएको आक्रमण शर्मनाक भन्दै निन्दा गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘अमेरिकाको परिचय विश्वमा प्रजातान्त्रिक गतिविधिका लागि चिनिन्छ र अहिले सो कुरा अति महत्वपूर्ण भएको छ। सत्ताको शान्तिपूर्ण र नियमित हस्तान्तरण हुनु पर्छ।’

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अमेरिकी परम्पराअनुसार सत्ताको हस्तान्तरण हुनुपर्ने बताएका छन्।

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले जनताले प्रजातान्त्रिक अधिकार प्रयोग गरि दिएको मतलाई भीडले कहिल्यै पनि हत्याउन नसक्ने भन्दै घटनाको निन्दा गरेका छन्।

‘प्रजातन्त्रको जित हुनेछ भन्नेमा मलाई कुनै शंका छैन,’ उनले लेखेकी छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अमेरिकी प्रजातन्त्रको  शक्तिमा आफूलाई भरोसा रहेको बताएका छन्।

‘राष्ट्रपति वाइडेनले तनावको अवस्थाबाट अघि बढेर अमेरिकीलाई एकतावद्ध बनाउने छन्। जो वाइडेनले अहिलेको अँध्यारो समयबाट देशलाई निकाल्ने विश्वास रहेको छ,’ उनले भनेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वासिङ्टनमा हिंसाका समाचारले विक्षिप्त भएको बताएका छन्। ‘ गैरकानुनी प्रदर्शनको दबाबमा प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न हुँदैन,’ उनले भनेका छन्।

जर्मनीका विदेश मन्त्री हेइको मासले यसअघि ट्रम्पले शब्दमा व्यक्त गर्ने आक्रोश हिंसात्मक कदममा परिणत भएको बताएका छन्।

फ्रान्सका विदेश मन्त्री जिन यभ्सले ड्रियनले अमेरिकी संस्थामाथिको आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको आक्रमण भएको बताएका छन्। 

टर्की तथा जर्मनीका विदेश मन्त्री, नेटोका महासचिव तथा युरोपियन युनियन परिषद्का अध्यक्षले पनि घटनाको निन्दा गरेका छन्। यसैगरि अर्जेन्टिना तथा चिलेका राष्ट्रपति क्रमशः अल्बेर्तो फेर्नान्डेज र सेबास्तियन पिनेराले पनि घटनाको निन्दा गरेका छन्।

 

 

प्रकाशित मिति: : 2021-01-07 11:00:00

प्रतिकृया दिनुहोस्