आइतबार, २२ मार्च २०२६

ओमप्रकाशलाई राष्ट्रिय सभा लैजान रक्षा बमहरूले नै गरेका थिए जोडबल

News Image
• • •

जेनजी सरकारले राष्ट्रिय सभाको रिक्त एक सदस्य पदमा वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेपछि चौतर्फी विरोध भइरहेको छ।

राजनीतिसँग कुनै साइनो नभएका तर, पेशाले अधिवक्ता रहेका उनी काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र शाहको कानुनी सल्लाहकार बनेपछि एकाएक चर्चामा आएका थिए।

जेनजी आन्दोलनको बलमा बनेको सरकारमा गृहमन्त्री बनेका अर्याल छोटो समयमै प्रधानमन्त्री सुशीला कार्कीको प्रिय पात्र बन्न सफल भए। आम निर्वाचन सम्पन्न गर्न सकारात्मक भूमिका खेलेको उपहार स्वरुप यतिबेला प्रधानमन्त्रीले उनलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेकी छन्।

यता अन्य मन्त्रीहरूले चुनावको मुखमा राजीनामा दिएर उम्मेदवार बनेको भन्दै आलोचना खेपिरहँदा प्रधानमन्त्रीको साथ नछोडेको भन्दै वाहवाही कमाइरहेका अर्याल एकाएक राष्ट्रिय सभा ताक्दा विवादमा परेका छन्।

राष्ट्रिय सभा सदस्यको एक सिट खाली छ। जुन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्छन्। अर्यालले राष्ट्रिय सभामा वामदेव गौतमको ठाउँ लिन जाँदैछन्। राष्ट्रपतिबाट मनोनित भएमा उनी ६ वर्ष सांसद हुनेछन्। 

तर, बालेनका कुनैबेलाका प्रिय पात्र मानिएका अर्याल यतिबेला उनैको तारो बनेको चर्चा छ। रास्वपा स्रोतका अनुसार वरिष्ठ नेता बालेन शाहको कोर टीमले अर्यालको नियुक्तिमाथि चासो देखाएपछि राष्ट्रपतिले उनको नाम होल्डमा राखेका छन्। दुई तिहाइ हाराहारीको नयाँ सरकारसँग कुनै पनि खालको अविश्वास अवस्था सिर्जना नहोस् भन्नेमा सतर्क छन् राष्ट्रपति पौडेल पनि।

प्रधानमन्त्री कार्यालय स्रोतले भने जेनजी अगुवा रक्षा बम समूहको दबाबमा प्रधानमन्त्री कार्कीले अर्याललाई राष्ट्रिय सभामा सिफारिस गरेको दाबी गरेको छ।

स्रोत भन्छ, ‘उहाँहरू (रक्षा)कै समूहले त्यस्तो कठिन अवस्थाबाट मुलुकलाई ट्र्याकमा फर्काएको भन्दै अर्यालजीलाई राष्ट्रिय सभामा सिफारिस गर्न प्रधानमन्त्रीलाई दबाब दिएको साँचो हो।’

रक्षा बमहरू हप्तादिन अघिदेखि अर्यालको नाम बोकेर प्रधानमन्त्रीकहाँ दौडिरहेका थिए। उता, प्रधानमन्त्रीका स्वकीयको राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्तिको विरोधमा खुलेरै लागेको रक्षा समूह अर्यालबारे मौन मात्रै होइन बचाउमा नै देखिनुले प्रधानमन्त्री कार्यालयको दाबी पुष्टि हुने आधार देखिन्छ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते दिउँसो हालकी प्रधानमन्त्री सुशीला कार्कीसँगै बानेश्वरमा देखिएका अर्याल राति जंगी अड्डा पुगेका थिए। उनैले रक्षा लगायतलाई जेनजी नेताको रुपमा प्रधान सेनापतिसामु चिनाएका थिए।

त्यसपछि अर्याल र रक्षाको साझेदारी बनिरह्यो। अर्यालले रक्षालाई जेनजी नेताका रुपमा स्थापित गरे। उनै, रक्षाहरूले अर्याललाई गृहमन्त्री बनाउन सहयोग गरे।

केही महिनाअघिसम्म जेनजी सरकार र रक्षा समूहले चुनावमा पक्षमा चट्टानी अडान लिइरहँदा सुदन गुरुङको अर्को जेनजी समूह र बालेन समूह भने अर्यालको राजीनामा मागिरहेको थियो।

यी समूहले अर्यालको चर्को आलोचना र विरोध गर्दा रक्षाहरू अर्यालको पक्षमा ढाल बनेर उभिए। कतिसम्म भने, जेनजीको तर्फबाट मन्त्रिपरिषद्‍मा रक्षा बमलाई लैजान अर्याल खुलेरै लागेको बालुवाटार स्रोत बताउँछ।

तर, सुदन समूहले अवरोध गर्‍यो। बरु सुदनले भावना राउतलाई मन्त्री बनाउन नाम पटक-पटक टिपाए। सुदन समूहको सिफारिस गृहमन्त्री अर्यालले फिर्ता पठाएपछि अन्ततः बालेन समूहबाट बब्लु गुप्ताले चान्स मारे।

अर्याल कुनै समय बालेनकै कानूनी सल्लाहकार थिए। मानिसहरूमा कतिसम्म भ्रम रह्यो भने बालेनले नै आफ्ना पूर्वसल्लाहकार अर्याललाई गृहमन्त्री बनाए। तर स्रोत भन्छ– बालेनले अर्याल होइन, आफ्नै महानगर प्रहरी बल प्रमुख राजु पाण्डेलाई गृहमन्त्री बनाउन खोजेका थिए। तर, अर्याल सबैतिर सबै जेनजीलाई फकाउँदै र खेलाउँदै आफैं गृहमन्त्री बने। 

जब बालेनको विरोधका बाबजुद अर्याल गृहमन्त्री बनेको विषय बाहिरियो तब, बालेननिकट भिक्टर पौडेललगायतले अर्यालको राजीनामा माग्दै सामाजिक सञ्जालमार्फत दबाब बढाए। आफ्नो समूहबाट मन्त्री नबनाएको इख लिएर बसेका सुदनले पनि सोही मौका छोपेर अर्यालको राजीनामाका लागि दबा बढाए। तर, यसपटक पनि रक्षा समूह गृहमन्त्री अर्यालको पक्षमा खम्बा बनेर उभियो।

त्यतिबेलासम्म जेनजीका अलगअलग समूह भए पनि को कुन पक्षका भन्ने स्पष्ट खुलेको थिएन। तर यतिबेला रास्वपा, सुदन, बालेनहरू एउटै ठाउँमा आएपछि रक्षा भने अलग्गै देखिइन्। धेरै जेनजीहरू रास्वपा लाग्दा रक्षाहरू भने अनिर्णित रहे।

यद्यपि पछिल्लो समय जब कांग्रेसको नेतृत्वमा गगनले हस्तक्षेप गरेपछि खासगरी अर्याल र रक्षाहरूको झुकाव त्यतातर्फ देखिएको चर्चा चलेको थियो।

चुनावी नतिजापछि झन्डै दुई तिहाइ नजिक नतिजा निकालेको रास्वपाले पूर्वसहमति बमोजिम वरिष्ठ नेता बालेन शाहलाई पूरै कार्यकाल प्रधानमन्त्री बनाउने पक्कापक्की जस्तै छ। बालेनको स्वभावसँग राम्रोसँग परिचित गृहमन्त्री अर्याल रक्षा समूहलाई अघि सार्दै रक्षात्मक बनिसकेका छन्।

एकातर्फ प्रधानमन्त्री कार्कीमाथि जाँचबुझ आयोगको प्रतिवेदन नयाँ सरकार गठन अगावै सार्वजनिक गर्न दबाब दिँदै रक्षा समूहलाई सडकमा उतारेका अर्याल अर्कातर्फ सोही समूहको सहयोगमा राष्ट्रिय सभामा फड्को मार्ने दाउमा देखिन्छन्।

त्यसो त प्रधानमन्त्री कार्कीले नयाँ सरकार गठनअघि प्रतिवेदन सार्वजनिक नगर्ने मनस्थिति बनाइसकेको बालुवाटार स्रोत बताउँछ। कांग्रेस, एमालेले चुनाव भाड्ने संसयले प्रतिवेदन होल्ड गरेकी कार्की यतिबेला बालेन समूहको दबाबमा परेको स्रोतको भनाइ छ।

प्रतिवेदन सार्वजनिक र कार्यान्वयनको जिम्मेवारी नयाँ सरकारलाई दिने मुडमा देखिएकी छन् प्रधानमन्त्री कार्की। यतिबेला रास्वपाबाट जितेका करिब एक दर्जन सांसदहरूमाथि छानबिन आयोगले कारबाही सिफारिस गरेको स्रोतको दाबी छ।

सोही कारण गृहमन्त्री अर्यालले रक्षा समूहलाई प्रयोग गरेर प्रतिवेदन सार्वजनिक गर्न दबाब बढाइरहेको बताइन्छ। प्रतिवेदन सार्वजनिक भए रास्वपामाथि दबाब बढ्ने र राष्ट्रिय सभामा आफ्नो सिफारिस सदर गराउने उनको मनसाय देखिन्छ।

एकथरी जेनजी अगुवाहरू भने राजनीतिले रंग फेर्दै जाने हो भने यो प्रतिवेदन पनि यसअघिका कतिपय जाँचबुझ आयोगका प्रतिवेदन झैं गुपचुप हुन बेर नलाग्ने आशंका गरिरहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!