मुम्बईमा प्रचण्डले आरएसएस प्रमुख मोहन भागवतसँग भेट्न खाेजेकाे खुलासा (भिडियाेसहित)

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै परिवार पनि मुम्बई बसाइँ सकेर काठमाडौं फर्किसकेको छ। 

उनी श्रीमती सीता दाहालको उपचारका लागि छोरी रेणु र गंगा दाहालको साथमा यहाँ आएका थिए। 

उपचारार्थ श्रीमती सिता र मुम्बईमा हेरचाहका लागि बसेकी छोरी गंगा भन्दा केही दिन अघि प्रचण्ड दिल्लीको बाटो हुँदै नेपाल पुगेका छन्। यद्यपी बिरामी सिता र छोरी गंगा भने शुक्रबार मात्रै काठमाडौं फर्केका हुन्। 

नेकपाको ओली(प्रचण्डको सत्ता मनमुटावले देशको पछिल्लो राजनीतिक संकट जारी नै छ। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग राजनीति मतभेदको यस्तो अवस्थामा प्रचण्डको  मुम्बई यात्रालाई अर्थपूर्ण ढंगले हेरिएको थियो। तर, अध्यक्ष  प्रचण्डको मुम्बई बसाइँ राजनीतिक कोणबाट हेर्दा पूर्णरुपमा असफल देखिएको छ।

प्रचण्डले मुम्बई बसाइँका क्रममा भेट्न कोशिश गरेका कुनै पनि राजनीतिज्ञसँग भेटवार्ता गर्न सकेनन्। श्रीमतीको उपचारका लागि मुम्बई आएपनि पार्टीमा देखिएको राजनीतिक खिचातानीका कारण उनी उच्चस्तरीय भारतीय राजनीतिज्ञसँग भेटघाट र परामर्शमा भने जुट्ने प्रयास गरेका थिए। तर, सफल भएनन्। 

प्रचण्डले मुम्बईमा हिन्दू राष्ट्रवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख मोहन भागवतसँग भेट्ने कोशिश गरेको खुलासा भएको छ।

प्रचण्डले संघ प्रमुख भागवतमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नेतासँग मुम्बईमा गोप्य भेटघाट गर्ने मनसाय बनाएको हिन्दूवादी पार्टी शिवसेना निकट नेपालीमूलका मास्टर थापाले बताए।

महाराष्ट्र राज्य सरकारका मुख्मन्त्री उद्धव ठाकरे निकट मानिने थापाका अनुसार प्रचण्डले हिन्दूवादी संगठनका प्रमुख भागवत भेट्न कोशिश गरेको बिएल नेपाली सेवालाई जानकारी दिए। आरएसएस सत्तारुढ भारतीय जनता पार्टीको माउ संगठन हो।

थापाका अनुसार (आरएसएस) प्रमुख भागवतले प्रचण्डलाई अहिले भेट्न असमर्थ रहेको फोनमा बताएका थिए। महाराष्ट्र राज्यका मुख्यमन्त्री ठाकरे वा संघ प्रमुख भागवतमार्फत दिल्ली पुग्ने योजना बनाएपनि भरपर्दो माध्यम नपाउदा प्रचण्ड नेपाल फर्किएको ‘मातोश्री’ स्रोतको दाबी छ।

संघ प्रमुख भागवत भेट्ने प्रयास असफल भएपछि उनले सत्तारुढ दल भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष तथा महाराष्ट्र राज्य सरकारका गर्भनर भगतसिंह खोसियारीलाई फोन सम्पर्क गरेका थिए। तर, प्रचण्डले भेटका लागि गरेको अनुरोध खोसियारीले समेत अस्विकार गरे।

प्रकाशित मिति: : 2021-01-16 18:06:00

प्रतिकृया दिनुहोस्