सास फेर्न (न)पाउने अधिकार !

हिमाल खबर

काठमाडाै‌ं

अनिता भेटवाल 
दैलेखकी रेखा थापा बीबीएसको पढाइ सकेर काठमाडौँ आउन चाहन्थिन्। तर, उनको इच्छा पूरा हुन सकेन। पैसा नभएर होइन, काठमाडौँको वातावरणले गर्दा। “उपचार गराउन आउँदासमेत डाक्टरले चाडैँ घर फर्कन भन्नुहुन्छ। यहाँको धुवाँधुलोले सास फेर्न गाह्रो हुने हुदाँ काठमाडौँ मेरा लागी होइन,” थापा भन्छिन्। 

काभ्रेका रामबहादुर शाही १२ वर्षअघि एक्कासी अस्पताल भर्ना हुनुपर्‍यो। उनलाई दमको समस्या देखापर्‍यो। समय बित्दै जाँदा अक्सिजनविना १५/२० मिनेट सास फेर्न नसक्ने भए, उनी। पुख्यौंली थलो काभ्रेको हावापानीमा शाहीलाई निकै सजिलो हुन्छ। तर, साँगा कटेपछि फेरी उस्तै गार्‍हाे। छोरा हरिशरण शाहीका अनुसार, गाउँमा बिजुली गइरहने हुँदा अक्सिजन चार्ज नहुने कारण उनीहरु बाध्य भएर काठमाडौँ बस्नु परेको छ। 

यता राजधानी टेक्न साथ श्वासप्रश्वासको समस्या बल्झने हुँदा सानुबाबु महर्जन छोरीसँगै अमेरिका बस्न थालेको पाँच वर्ष भयो। “काठमाडौँ आउँदा अक्सिजनसँगै लिएर हिड्नु पर्छ। विदेशमा हुँदा चिसोतातो मौसममा पनि केही हुँदैन। औषधि पनि खान नपर्ने। ईच्छा भएर पनि बुबा नेपाल आउन पाउनुभएन,” छोरा सुशील मर्हजनले भने। 

वायु प्रदूषणले कहाँ र कसरी असर पुर्‍याउँछ भनेर यकिन जानकारी छैन। शरीरमा सुगर र ब्लड प्रेसर जसरी नाप्न सकिन्छ वायु प्रदूषणले पारेको असर त्यसरी नाप्न सकिदैन। रगत र पिसाबमा वायुबाट गएका हानिकारक कण पाइए भने यसलाई वायु प्रदूषणको असर भन्न सकिने छाती रोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन्। 

हेल्थ इफेक्ट इन्स्टिच्यूट र इस्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसनको अनुमान अनुसार नेपालमा वायु प्रदूषणले गर्दा दिनैपिच्छे ११४ जनाको मृत्यु हुने गरेको छ। यस हिसाबले, वर्षेनी ४२ हजार नेपाली वायु प्रदूषणले गर्दा मर्ने गर्छन्। 
 

प्रकाशित मिति: : 2021-01-21 11:12:00

प्रतिकृया दिनुहोस्