‘क्रोकोडाइल हर्मीज बर्किन’ को ब्याग बोकेर ह्वाइट हाउसबाट निस्किएकी मेलानियाको अबको भविष्य 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै बुधबार राती ह्वाइट हाउसबाट बिदा लिँदा ‘प्रथम महिला’ मेलानिया ट्रम्पको हाथमा क्रोकोडाइल हर्मीज बर्किनको ब्याग थियो। जसको मूल्य मात्र लगभग १ करोडको हाराहारी मानिन्छ। 

यसअघि अमेरिकी मिडियाले ‘प्रथम महिला’ को रुपमा मेलानियाको निरन्तरतालाई लिएर प्रश्न उठाएका थिए। राष्ट्रपति पदबाट बाहिरिएपछि डोनाल्ड ट्रम्प र मेलानियाको पारपाचुकेलाई लिएर पनि मिडियाले रिपोर्ट सार्वजनिक गर्न थालेका छन्।

यी दुबैले बाँकीको जीवन फ्लोरिडास्थित मार–ए–लेगो स्टेटमा बिताउने छन्। यो नै उनीहरूको अबको स्थायी घर हो। मेलानिया र ट्रम्प ह्वाइट हाउसबाट बाहिरिदा उनीहरूले कालो रंगको लुगा लगाएका थिए। तर, विगत झैं स्टाइलिस पनि देखिन्थे। 

मंगलबार मेलानियाले राष्ट्रको नाममा बिदाई सन्देश दिएकी थिइन। जसमा उनले हरेक अमेरिकीलाई रिसरागबाट माथि उठेर प्रेम, हिंसाको सट्टा शान्ति तथा आफ्नो व्यक्तिगत हितभन्दा अरुको हितमा लाग्न सल्लाह दिएकी थिइन। उनले अमेरिकाको ‘पहिलो महिला’ को रुपमा काम गर्न पाउनु जीवनको उच्च सम्मान भएको बताएकी थिइन्। 

न्युयोर्क टाइम्सका अनुसार वासिङ्टनमा मेलानियाले कहिल्यै सहज महसुस गरिनन्। न्युयोर्कबाट वासिङ्टन पुग्दा उनले सुरुमा ‘प्रथम महिला’ को रुपमा काम गर्न थुप्रै कुरा मिलाउनु प¥यो। 

स्टाफको नियुक्ति, आमाको रुपमा छोराछोरीको हेरबिचारको कुरा गर्न तथा सबै सार्वजनिक समारोहमा डिजाइनरको कपडासँग चर्चामा रहन धेरै मिहिनेत गर्नुपर्यो।
श्रीमानको कारण उनी थुप्रै ठाउँमा मिडियाको आलोचनाको पात्र बनिन्। उनलाई ‘प्रथम महिला’ को परम्परालाई निरन्तरता दिन धौ धौ परेको थियो। ह्वाइट हाउस क्रिसमस डेकोरेशनसँग जोडिएको अडियो लिक हुँदा उनी लगभग बेपत्ता झै भइन्। 

ह्वाइट हाउस पदाधिकारीका अनुसार निर्वाचनमा ट्रम्पको पराजयपछि मेलानिया श्रीमानको पक्षमा देखिइन्। उनलाई सुरुमा लागेको थियो, चुनावमा उनकै श्रीमानको जित भयो। 
तर, नयाँ वर्षको शुभारम्भयता फ्लोरिडामा नयाँ घर खरिद गर्ने अभियानले यो बुझ्न गाह्रो परेन, ट्रम्पको पराजय सुनिश्चित थियो। तरपनि उनले संयमित भएर बयान जारी गरेकी थिइन्। 

‘प्रथम महिला’ भएका कारण मेलानियाले राष्ट्रपति निर्वाचित जो वाइडेनकी श्रीमती जिल वाइडेनलाई पद हस्तान्तरण गर्नका लागि सौहार्दपूर्ण कुराकानी गर्ने अपेक्षा गरिएको थियो। तर, उनको ध्यान घर सर्नका लागि सामानको प्याकिङमा थियो। 

मेलानिया र ट्रम्पको पहिलो भेट सन् १९९८ को सेप्टेम्बरमा न्युयोर्कको एउटा फेसन पार्टीमा भएको थियो। यतिबेला ट्रम्प ५२ र मेलानिया २८ वर्षकी थिइन। ट्रम्पले पहिलो भेट मै मेलानियालाई प्रेम गर्न थालिसकेका थिए। राष्ट्रपति बन्नुअघि ट्रम्प रियल स्टेटको ठूलो व्यापारी थिए। 

मेलानियाले पहिलो डेटको अफरलाई अस्विकार गरेकी थिइन। सन् २००५ को २२ जनवरीमा ट्रम्प र मेलानियाबीच विवाह भएको थियो। अघिल्लो वर्ष नै मेलानियाले छोरा बेरेन विलियम ट्रम्पलाई जन्म दिइन भने बीबीसीका अनुसार २००६ मा उनले इबी–१ भिसाअन्तर्गत अमेरिकाको नागरिकता प्राप्त गरिन्। 

मेलानियाको खास घर स्लोभेनिया हो। उनी वर्किङ भिसामा अमेरिका प्रवेश गरेकी थिइन। अमेरिकामा उनी मोडलिङ गर्थिन। सीएनएनका पत्रकार केट बेनेटका अनुसार मेलानिया र ट्रम्प ह्वाइट हाउसमा छुट्टाछुट्टै कोठामा बस्ने गर्थे। मिडियाका अनुसार मेलानिया र ट्रम्पको पारपाचुके भएको खण्डमा उनले ६ दशमलव ८ करोड डलर प्राप्त गर्नेछिन्। ७४ वर्षीय ट्रम्पको यसअघि दुईवटा डिभोर्स भइसकेको छ। मेलानिया हाल ५० वर्षमा पुगेकी छिन्। 

मेलानियाको जन्म २६ अप्रिल १९७० मा नोभो मेस्टो शहरमा भएको थियो। उनको आमा फेसन डिजाइनर तथा बुवा कार डिलर हुन्। उनले १६ वर्षको उमेरदेखि नै मोडलिङ गर्न थालेकी थिइन। उनी १९९६ मा न्युयोर्क प्रवेश गरेकी थिइन। 
 

प्रकाशित मिति: : 2021-01-22 09:30:00

प्रतिकृया दिनुहोस्