नेपाली काँग्रेस : विपक्षमा रहेको सरकारी दल

अनलाइनखबर

काठमाडौँ

सइन्द्र राई

विभाजित नेकपाका दुवै समूह संसद् पुनर्स्थापनापछि प्रमुख विपक्षी दल नेपाली काँग्रेस रिझाउने प्रयासमा छन् । प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी शर्मा ओली र अर्का समूहका अध्यक्षहरू पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहकार्यका निम्ति प्रत्यक्ष/अप्रत्यक्ष आग्रह गरिरहेका छन् ।

चितवनको कार्यक्रम छोडेर १२ फागुन विहान काठमाडौं फर्किएका प्रचण्ड र माधव नेपालले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेर नयाँ सरकारको नेतृत्व लिन समेत प्रस्ताव राखे । तर, देउवाले प्रष्ट जवाफ दिएनन् । पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका देउवाले भोलिपल्टै (१३ फागुनमा) पदाधिकारी बैठक पनि बोलाए । संसद् पुनर्स्थापनापछिको ‘मूभ’ तय गर्न बोलाइएको पदाधिकारी बैठकले यस मामिलामा मौन रहने निर्णय गर्‍यो ।

‘नेताहरुबीच मतैक्य हुन सकेन । मुख्यगरी केपी ओलीको विषयमा नेताहरु बीच मतभेद भयो । ठोस निर्णय हुन सकेन’, काँग्रेसका एक नेता भन्छन् । उनका अनुसार, पुनस्र्थापित संसदमा ओलीसँग सहकार्य गरिनुहुन्न भन्ने नेताहरुको रायमा सभापति देउवा तयार भएनन्, टालटुल पार्ने प्रयास गरियो । ‘सत्तामा नगई नछोड्ने स्वार्थ देखिए पछि के गर्ने त ? बरू, कम्युनिष्टहरु मिल्न बेर छैन भनेर चुप बस्ने सम्झौताको निर्णय लिने अवस्था बन्यो’, ती नेता भन्छन् ।

ओलीसँग सहकार्य गर्दा काँग्रेसलाई बढी फाइदा हुने अवस्था आए तयार हुनुपर्नेमा देउवा र उनी निकट नेताहरु देखिएका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेताहरू भने ओलीसँग तत्काल कुनै किसिमको सहकार्य गर्न तयार देखिदैनन् ।

प्रकाशित मिति: : 2021-03-01 21:19:00

प्रतिकृया दिनुहोस्