सरकार–विप्लव पक्षबीच बालुवाटारमै दोस्रो वार्ता, छिट्टै निष्कर्ष निस्कने सरकारी वार्ताटोलीको आशा

फाइल तस्वीर
फाइल तस्वीर

गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ताटोली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच बुधबार साँझ दोस्रो चरणको वार्ता सम्पन्न भएको छ।

वार्ता सकारात्मक रहेको सरकारी वार्ताटोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन्।

बुधवारै बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो जसमा विप्लव पक्षका वार्ताटोली संयोजक खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' र सदस्य उदय चलाउने 'दीपक'ले आफ्ना माग अघि सारेका थिए।

बैठकमा प्रकाण्डले वार्ताको वातावरण बनाउन आफ्ना बन्दी  बनाइएका नेता-कार्यकर्ता छाड्नुपर्ने, पार्टीमाथि दुई वर्षअघि लगाइएको प्रतिबन्ध हटाइनुपर्ने, झुठा मुद्दा फिर्ता गर्नुपर्ने विषय अघि सारेका थिए।

त्यसमा सरकारी वार्ताकार सकारात्मक देखिएपछि अपरान्ह पुन: बस्ने गरी वार्ता सकिएको थियो।

त्यसपछि सरकारी वार्ताटोलीले प्रधानमन्त्रीसँग छलफल गरेको थियो भने विप्लव पक्षले पनि नख्खु जेल पुगेर नेता हेमन्तप्रकाश मल्ल 'सुदर्शन' लाई भेटेका थिए।विप्लव पक्षले पनि आपसमा छलफल गरेको स्रोतले जनाएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको दोस्रो चरणको वार्तापछि सरकारी वार्ताटोली सदस्य राजन भट्टराईले ट्वीट गरेका छन्, 'अहिले सॉझ सम्पन्न नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो।वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।'

प्रकाशित मिति: : 2021-03-03 18:29:00

प्रतिकृया दिनुहोस्