शिक्षाको लागी १२ सय किमी साइकल यात्रा गर्दै बस्न्यात

Breaknlinks
Breaknlinks

‘पेडल फर एजुकेशन’ नारा सहित नेपालमा पहिलोपटक साइकल यात्रा हुने भएको छ। साइकलयात्री देवेन्द्र बस्न्यातले दोलखादेखि दिपायलसम्म करिब १२ सय किलोमिटर एकल साइकल यात्रा अभियान गर्न लागेका हुन्। 

उनले सो साइकल यात्रा अभियान बारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानाकारी गराएका हुन्। 

दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको पुस्तकालयका लागि रकम संकलन गर्ने उद्देश्यका साथ दोलखको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालय भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले साइकल यात्रा गर्न लागेको हो।

‘हेल्प नेपाल नेटवर्क’को व्यवस्थापनमा पत्रकार सम्मेलनमा नेटवर्ककी सचिव तथा स्वास्थ्य संयोजक लता घिमिरेले संस्थाले मूलतः शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको र विपदका बेला आपत्कालीन सहयोग गरिरहेको जानकारी दिइन। अभियानबाट संकलन हुने रकम विद्यालय भवन र ‘भक्त बीबी फर ह्युमेनिटी’को संयोजनमा डडेल्धुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि खर्च गरिने उनले जानकारी दिइन्।

साइकलयात्री देवेन्द्र बस्न्यातले विभिन्न एक दशकभन्दा लामो साइकल यात्राका क्रममा विभिन्न अभियानहरु संचालन गर्दै आएका छन्। शिक्षाका लागि साइकलयात्रा गरी आर्थिक सहायता संकलन गर्ने कार्य नेपालमा पहिलो भएको बताउँदै बस्न्यातले भने–‘आफूले यसलाई एउटा सुनौलो अवसरका रुपमा लिएको छु। यस्ता अभियानहरु विदेशमा धेरै हुने गरे पनि नेपालमा भने पहिलोपटक हुन लागेको र म त्यसको साझेदार बन्न पाएकोमा खुशी लागेको छ।’

बस्न्यातले अभियानमा एक किलोमिटर एक रुपैयाँको रहेको जानकारी दिंदै सहयोग गर्न चाहने व्यक्ति, समूह तथा संस्थाले मोबाइल एप ‘खल्ती’को बजार ट्याबमा गएर ‘पेडल फर एजुकेशन’ क्लिक गरेर रकम सहयोग गर्न सकिने जानकारी दिएका छन्।

त्यसैगरी हेल्प नेपाल नेटवर्कको नाममा रहेको सानीमा बैंकको खाता नम्बर ००१०१००१००००७९१ मा पनि जम्मा गर्न सकिने जानकारी दिए। उनले   यो अभियानका क्रममा आफूले कुनै रकम नलिएको र साइकलको मर्मत लगायतका खर्च स्वयंले व्यहोर्ने बताए।

सन् २००८ देखि निरन्तर साइकल अभियान चलाइरहेका बस्न्यात विश्व साइकलयात्री पुश्कर शाहसँग मिलेर विभिन्न प्रतियोगिता, पर्यटन प्रबद्र्धन लगायतका काम गर्दै आएका छन। 

फागुन २८ गते काठमाडौंबाट संस्कृतिविद् शताब्दिपुरुष सत्यमोहन जोशी तथा संस्थाका सल्लाहकार एवम् पूर्वअर्थमन्त्री तथा साहित्यकार शंकर कोइराला, विजय राजभण्डारीले बस्न्यातलाई विदाई गर्नेछन।

दोलखाबाट काठमाडौं आइपुगेपछि काठमाडौंको नक्साल नारायणचौरमा शुभयात्रा विदाई समारोहको आयोजना गरी चैत्र १३ गते अभियान समापन हुनेछ।

दुई दशकअघि ‘एक महिना एक डलर’ सहयोग अभियानबाट सुरु भएको नेटवर्कले अहिलेसम्म ५० भन्दा बढी विद्यालय भवन बनाइसकेको छ भने, त्यतिकै संख्यामा पुस्ताकालय र इ–लाइब्रेरीहरु पनि संचालनमा ल्याएको अध्यक्ष अरुणसिं बस्न्यातले जानकारी गराए।

हेल्प नेपाल नेटवर्कले निर्माण गरेको राजकुलेश्वर विद्यालय भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माण भैरहेको छ। अनुमानित

लागत ६ करोड रुपियाँ रहेकामा हालसम्म ३ करोड ७० लाख रुपैयाँ खर्च भएको अध्यक्ष बस्न्यातले जानकारी गराएका छन्।

नेपालको दुर्गम र ग्रामीण क्षेत्रहरुमा शिक्षा र स्वास्थ्यका लागि हेल्प नेपाल नेटवर्कले सामाजिक क्षेत्रमा काम गरिहेको छ। 

प्रकाशित मिति: : 2021-03-09 19:40:00

प्रतिकृया दिनुहोस्