जाइकासँग सूर्यविनायक-धुलिखेल सडक विस्तारको अपेक्षा

File photo
File photo

अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल शुरु भएको छ। बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि बढाएको छ। 

एक दशक पहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले नै सडक विस्तार गर्ने गरी छलफल भएको छ।

अहिले पनि जाइकाले सो सडकको निर्माणमा चासो देखाइरहेको बताइएको छ। अहिले जाइकाले निर्माण गर्ने तत्काल योजना नभएमा सरकार आफैँले बनाउने गरी छलफल अघि बढिरहेको सूर्यविनायक– धुलिखेल सडक योजनाले जनाएको छ।

जाइकासँग सम्झौता नभएका अवस्थामा सरकार आफैँले पनि निर्माण अघि बढाउन समस्या नभएको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि सो सडक विस्तारमा चासो देखाउँदै आएका छन्। 

जाइकाले सन् २०११ मा सो सडकको प्रारम्भिक अध्ययन गरेको थियो। रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुनः सो सडक निर्माणका लागि थप छलफल भएको थियो। उनकै अग्रसरमा सन् २०११ का अध्ययनका आधारमा थप अध्ययन भएको थियो। विगतदेखि अहिलेसम्म नै जाइकाले सो सडकको विस्तारमा चासो देखाउँदै आएको प्रमुख भाटले जानकारी दिए। रासस

प्रकाशित मिति: : 2021-03-10 15:06:00

प्रतिकृया दिनुहोस्