'कर्णाली नदेख्ने कमरेड'

सदरमुकामको अस्पतालमा पुर्‍याउँदै गर्दा हरिमाया आण्टीको प्रसव पीडाले निधन भयो रे! एक चक्की सिटामोल नपाएर मुगुमा छटपटाउँदै मृत्यु भयो रे, हरिबहादुर बाजेको।

तुइनबाट विद्यालय जाँदैगर्दा ५ कक्षा पढ्ने हरिप्रसादको नदीमा खसेर अकालमै ज्यान गयो रे,.. कामरेड।

कर्णालीको पर्यावरणमा घटिरहने घटना सुन्दा, देख्दा मेरो छाती हन्हनी पोल्छ। मुटु थर्थर काप्छ। निन्द्रा लाग्दैन। तपाईंलाई अनुभव हुन्छ कामरेड?

कर्णालीको जीवनमा आधारित विश्व प्रसिद्ध पुस्तकहरु छन् जसले ठूला ठूला पुरस्कार जित्न सफल भएका छन्। कर्णालीका मानिसको जीवनमा आधारित चलचित्र कालोपोथी र क्याराभानले विश्वमै स्थान पाए।

डकुमेन्ट्री सुनकलीले नि पराजयको भार बोकेन तर कर्णालीका मानिसले समस्या र बाध्यतासँग सधैँ पराजयको भार बोकी रहनुपर्ने?

विश्वमै स्थानको त धेरैपरको कुरा भै गो; मात्र चलचित्र , पुस्तक, भाषण, गोष्ठी, घोषणापत्र, चिया गफमा त धित मारिन्जुल चर्चा र स्थान पाउँछ, कर्णालीले तर यहाँको मान्ठको जीवनस्तरमा सुधार हुन सकेको छैन।

कमरेडहरुलाई थाहा होला– कर्णाली एक मनमोहक प्राकृतिक गन्तव्य, छुट्टै सभ्यता बोकेको ज्ञानभूमि हो। छुट्टै विशेषता बोकेको बहुरुपी स्थान हो। हिउँदमा सेतो हिउँ रूपी गलैँचा दिन्छ भने बर्खामा स्याउका राता दानाले जमीन नै रातो देखिन्छ।

विभिन्न लोक, संस्कृति, भाषा र अन्य पक्षको प्रचार प्रसार प्रवर्द्धन र मूल्य तपाईंको घोषणापत्र बाहेक अन्त कतै भेटिन्छ? अलौकिक पर्यावरण बोकेको कर्णालीलाई आत्मनिर्भर बनाउन सकिँदैन र?

के हामीले हाम्रो कर्णालीमा सुन फलाउन सक्दैनौं? कर्णालीको स्वास्थ्य, शिक्षा, रोजगार र आर्थिक उन्नतीमा परिवर्तन ल्याउन सकिँदैन? कर्णाली राष्ट्रको नमुना बन्न सक्दैन?

कर्णाली सम्भावनाको ठूलो भण्डार हो। कतै कर्णालीलाई चिन्न भूल त गर्नु भएको छैन? कि चिन्ने प्रयास नै गर्नु भएको छैन?

तपाईलाई थाहा होला आमाको मायाबाट बञ्चित भएको बच्चा कस्तो हुन सक्छ। त्यसरी कर्णालीलाई किनारा लाउने प्रयास नहोस्।

एउटा पञ्छिले आफ्नो रुखमा बनाएको गुणलाई कति धेरै माया गरेको हुन्छ, कतिधेरै आकर्षित बनाउँछ र सजाउँछ? कुखुराले आफ्ना बच्चालाई  चिलबाट जोगाएर आफ्ना पखेटामुनि कसरी लुकाएर राखेको हुन्छ? गाईवस्तु दिनभरि जतिसुकै गए पनि बाछाबाच्छीलाई दूध खुवाउन जसरी पनि गोठमा किन आइपुग्छन्?

यो प्रकृतिको अनौठो नियम हो। यै नियमद्वारा तपाईंले के कर्णालीसँग मितेरी लगाउनुभएको छ? कर्णालीलाई घुमाएर विश्लेषण गरिए पनि चाहिएको परिवर्तन हो। विकास हो। कर्णालीका दन्त्य लहरहरु प्रफुल्लताका साथ मुस्कुराउनुपर्छ।

यदि तपाईं जनताको कामरेड नै हो भने कर्णालीका ओठले सधैंभरि ढाकेका दान्त्यलहरहरु मुस्कानसहित खोलिदिनु पर्‍याे। भौतिक परिवर्तन हुनु पर्‍याे।

शिक्षा, स्वस्थ र रोजगारको सहज र सरल हुन पर्‍याे। वृद्ध, बिरामी, महिला र बालबालिकाले अकालमा ज्यान गुमाउनुभएन। भ्रष्टाचार र भेद्भाव समाजबाट मिल्काइनु पर्‍याे। समानता र सहकार्यको भावले मात्र कर्णाली उभो लाग्ने हो।

कुन, कन्दरामा ज्योतिमय मोतीहरु चम्किरहेको कर्णालीलाई तपाईं देख्दै देख्नुहुन्न। हेर्दै हेर्नुहुन्न।

रारासँग डिप्रेसन निको पार्ने औषधि छ। से-फुक्सँडोले नी अलौकिक आनन्दको  बुटी दिन्छ। सेताम्य कान्जिरेवाले प्रफुल्ल मन दिन्छ। देउडा, लोकभाका, लोक संस्कृतिले उत्साह र उमंगको आवास दिलाउँछन्।

कमरेड परिवर्तनका रेसाले बाधेको कर्णालीलाई छिट्टै फुकाउने प्रयास गर्ने हो भने ठीक छ। नत्र हामी पनि हेर्दै जाउँला।

प्रकाशित मिति: : 2021-03-16 15:00:00

प्रतिकृया दिनुहोस्

    good man chhoyo sabda le

    • 3 बर्ष अगाडि
    • suman karki