म्यान्मार सैन्य शासन: भिसा अवधि नबढाइदिएपछि काठमाण्डू फर्किएका एक नेपाली पत्रकारको भोगाइ

बिबिसी

काठमाडौं
DIPAK BHATTARAI

गत फ्रेबुअरी १ मा म्यान्मारमा सेनाले निर्वाचित सरकार अपदस्थ गरेर नेताहरू नियन्त्रणमा लियो र देशको शासन सत्ता आफ्नो हातमा लियो।

नेपालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिने प्रयत्न गरेका बेलाको पत्रकारिता अनुभव भएका नेपाली पत्रकार दीपक भट्टराई गत साढे तीन वर्षदेखि म्यानमारमा बीबीसी मिडिया एक्शनमा कार्यरत थिए।

उनले त्यहाँका प्रदर्शनकारी र सैन्य शासकका गतिविधि नजिकबाट नियाल्ने अवसर पाए।

मार्च महिनामा सकिन लागेको भिसा थप्ने प्रयत्न सफल नभएपछि नेपाल फर्केका पत्रकार भट्टराईले कू भएको दिनदेखि अहिलेसम्मको आफ्नो भोगाइ यो रिपोर्टमा प्रस्तुत गरेका छन्:

बिहानको पाँच बज्न बाँकी नै थियो। म सधैँ झैँ प्रभातकालीन हिँडाइको लागि तयारी गर्दै थिएँ। कहिल्यै त्यति सबेरै फोन नगर्ने सहकर्मी टे टे खाईंले फोन गरिन्, 'आङ सान सू ची र राष्ट्रपति विन मिन्टलाई सेनाले नियन्त्रणमा लिए जस्तो छ। भर्खरै एक जना एनएलडीका नेताले फेसबुक पेजमा लेखेका छन्।'

त्यसपछि फेब्रुअरी १ बिहान म हिँडन बाहिर निस्किइन। अफिसका अन्य सहकर्मीलाई फोन गरेँ। नेपालमा २००५ फेब्रुअरी १ मा तत्कालीन राजा ज्ञानेन्द्रले कू गरेको अनुभव थियो। अब कुनै पनि बेला फोन र इन्टरनेट काटिन्छ भन्ने लागेर नेपालमा रहेका छोरीहरूलाई मेसेज गरेँ। घर परिवारमा खबर गरेँ।

कोभिड-१९ को प्रकोप बढेपछि पोहोर एप्रिलदेखि म्यानमारमा बस्ने नेपालीको फेसबुक मेसेन्जर ग्रुप छ। त्यो ग्रुपमा हरेक दिन कोभिड-१९ को म्यानमारमा अवस्थितिबारे जानकारी दिने गर्थेँ। त्यसमा 'सेनाले कू गरेको हल्ला छ, जति सकिन्छ छिटो घर परिवार र आफन्तलाई खबर गर्नु। फोन र नेट काट्न सक्छन्' भनेर मेसेज लेखेँ।

प्रकाशित मिति: : 2021-03-24 08:43:00

प्रतिकृया दिनुहोस्