२५ विद्यार्थीभन्दा बढि एकै ठाउँमा राखेर पढाउन नपाइने

कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले २५ भन्दा बढि विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने विद्यालयलाई संक्रमक रोग नियन्त्रण ऐन अन्तर्गत कारवाही गर्ने भएको छ।

पछिल्लो समय देखिएको कोरोना संक्रमणमा बालबालिका बढि प्रभावित देखिएका छन्। यसको जोखिम कम गर्न विद्यालयलाई भिडभाड नगरी पढाउन सरकारले निर्देशन दिएको हो।

'पहिलो चरण विद्यालयलाई सुुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर मात्र सञ्चालन गर्न दिनेछौ। सरकारी निर्णयको अवज्ञा भए त्यस्ता विद्यालयलाई संक्रमक नियन्त्रण ऐनअन्र्तगत कारवाही गर्छौ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिएल नेपाली सेवासँग भने।

उनले देशको आर्थिक अवस्थाका कारण तत्काल पूर्ण रूपमा लकडाउन गर्ने अवस्था नरहे पनि आवश्यकताका आधारमा आंशिक लकडाउन हुन सक्ने बताए। 



पछिल्लो २४ घण्टामा ३६७ जना कोरोना संक्रमित



लण्डनमा देखिएको कोरोना भाइरसको दोस्रो प्रजाति नेपालमा पनि देखिएकोले संक्रमणको जोखिम बढेको उनको भनाई थियो। साथै उनले सबै नेपालीलाई सचेत रहनसमेत आग्रह गरेका छन्।

पछिल्लो समय बढेको संक्रमणमध्ये २५ प्रतिशतमा कडा प्रकारको लक्षण देखिएको प्रवक्ता गौतले बताए। ‘बाँकी ७५ प्रतिशत पुरानै खालको छ’, उनले भने।

नेपालमा केही समयअघि संक्रमणको जोखिम कम भएपनि सरकारले  सावधानीका उपाय अपनाउन पटक-पटक सचेत गराएको थियो। तर, पनि मानिसहरू धर्ना, जुलुस र भिडभाड गर्न पछि परेनन्। ‘यसले पनि संक्रमण बढाउन सहयोग गर्यो’, उनले थपे।

भारतमा बढेको कोरोना संक्रमण र खुला सिमानाका कारण यसको व्यवस्थापन गर्न नसक्दा दिन प्रतिदिन संक्रमण बढ्दै गएको उनको भनाई छ। 



कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा



‘स्थानीय तह र प्रदेश सरकारले गम्भीर ढंगले आफ्नो जिल्लाको नाकामा कडाईका साथ संक्रमणविरुद्ध प्रभावकारी कदम नचाल्ने हो भने भोलिका दिन हाम्रो अस्पताल र स्वास्थ्यकर्मीले धान्न नसक्ने अवस्था आउछ।’, उनले भविष्यवाणीसमेत गरे।

प्रवक्ता गौतमले संघीय सरकारले मात्र देशभरिको संक्रमणको जोखिम नियन्त्रण गर्न नसक्ने बताए। यसका लागि प्रदेश र स्थानीय तह तथा हरेक पालिकाले अग्रसरता देखाउनु पर्नेमा उनको जोड छ।

काठमाडौं, भक्तपुर र ललितपुर बाहिर हेटौडा, वीरगञ्ज, बारालगायत भारतसँग सीमा जोडिएका जिल्ला उच्च जोखिममा रहेको पनि उनले बताए। 

प्रकाशित मिति: : 2021-04-11 23:21:00

प्रतिकृया दिनुहोस्