निषेधाज्ञाले ५० प्रतिशत उद्योग कलकारखानाको उत्पादन प्रभावित

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ

निषेधाज्ञाका कारण करिब ५० प्रतिशत उद्योग तथा कलकारखाना प्रभावित हुन पुगेका छन् । सरकारले बुधबारदेखि लागू हुनेगरी उपत्यकासहित २३ जिल्लामा निषेधाज्ञा लागू गरेसँगै अत्यावश्यक बाहेकका प्रायः सबै उद्योग प्रभावित हुन पुगेका छन् ।

यस्तो प्रभाव मुलुकभित्र सञ्चालित झण्डै साढे ८ हजार उद्योगमध्ये ४ देखि ५ हजारमा परेको आँकलन गरिएको नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले बताएको छ ।

उद्योग परिसङ्घका अध्यक्ष सतिषकुमार मोरले भने,निषेधाज्ञाको प्रभाव यतिखेर मुलुकका साना तथा मझौला लघु उद्योगदेखि ठूला उत्पादनका उद्योगहरुमा समेत परेको छ । संख्यात्मक रूपमा ठ्याक्कै यति नै त भन्न सकिन्न तर करिब ८ हजार उद्योगमध्ये अधिकतम ५ हजार उद्योगहरू निषेधाज्ञाको सिकार भएको अनुमान गरिएको छ । मोरले थपे,त्यसो त उत्पादन र बजारीकरण नै नभएपछि केका लागि उत्पादन गर्ने ?त्यसमाथि उद्योगका लागि आवश्यक कच्चा पदार्थको पनि त सहज आपूर्ति हुन प-यो ।

यतिखेर उत्पादन र बजार दुवैको अनुकुल वातावरण नहुँदा उद्योगहरु प्रभावित हुन पुगेको अध्यक्ष मोरको भनाइ छ । निषेधाज्ञाकै कारण आवश्यक श्रम शक्ति तथा कामदारहरुको अभावमा उद्योगहरु उत्पादनमा जान नसकेको मोर भनाइ छ ।

राजधानीसहित मुख्य मुख्य शहरहरु यतिखेर निषेधाज्ञामा छन् । आउजाउ गर्नका लागि सार्वजनिक यातायात सबै बन्द छन् । निजी सवारी पनि रोकिने अवस्थामा छन् । यस्तो अवस्थामा कामदारहरू उद्योगसम्म पुग्ने अवस्था नै छैन । यो परिवेशमा कसरी उत्पादन गर्न सकिन्छ ?जेनतेन उत्पादन गर्ने प्रयास गरिए पनि आपूर्ति,बजारको व्यवस्था छैन । अहिले आवश्यक कच्चा पदार्थ र उत्पादनको बजारीकरण नै रोकिएको अवस्था छ । लकडाउनमा पनि विशेष उत्पादनका क्षेत्रभित्र आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाएर उत्पादनलाई जारी राख्न दिन हामीले सरकारसँग माग गरेका थियौँ । तर सरकारले यो कुरा मानेन,अहिले अत्यावश्यक बाहेकका सबैजसो उद्योग बन्द गरिएको अवस्था छ, मोरले रातोपाटीसँग भने ।

त्यसो त यतिखेर ठूला उद्योग मात्र होइनन् साना,लघु तथा घरेलु उद्योगसमेत निषेधाज्ञाको चपेटामा परेका छन् । त्यसको प्रभाव यी उद्योगहरु अहिले उठीबासको अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो छ ।

प्रकाशित मिति: : 2021-05-01 11:25:00

प्रतिकृया दिनुहोस्