भोकालाई खाना खुवाउने ईन्दिराको सत्प्रयास (भिडियोसहित)

कमल प्रभात

काठमाडौँ
Breaknlinks
Breaknlinks

ईन्दिरा राना मगर, ५३।

उनी गत वर्ष पनि कोरोना भाइरसको महामारीका कारण ‘लकडाउन’ भएपछि भोकाएका मान्छेलाई खाना खुवाउन क्रियाशील थिइन्।

कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा लागू भएपछि पुनः त्यही कर्ममा फर्केकी छिन्। यसै सातादेखि विपन्नलाई पुनः खाना खुवाउन थालेकी उनी बुधबार अपराह्न थापाथलीस्थित वागमती किनारको चौरमा पुगिन्। उनलाई ट्याक्सीमा देख्नेबित्तिकै को आउला र खाना देला भनेर पर्खिरहेकाहरु लामबद्ध भए।

ईन्दिरालाई देख्नेबित्तिकै उनलाई कुर्नेहरुलाई लागिसकेको थियो– हाम्रालागि खाना आयो। नहोस् पनि कसरी !



निषेधाज्ञाको सातौँ दिनः स्वयम्भु सुनसान, बाँदर र कुकुर भोकै



उनी पुनः त्यहाँ खाना लिएर नित्य जान थालेकी छिन्। लकडाउनसँगै ईन्दिराको त्यहाँ खाना लिएर जानु दिनचर्या भएको छ।ईन्दिराले भोका–नाङ्गालाई खाना खुवाउन सुरु गरेको एक वर्ष नाघ्यो। गत वर्ष लकडाउन सुरु भएसँगै खाना खुवाउन थालेकी हुन्।

बीचमा कोरोना महामारी घटेसँगै उनको यो कर्म पनि टुटेको थियो। अहिले पुन जोडिएको हो। यो बीचमा उनले सयौं भोकाएकाहरुलाई खाना खुवाएकी छिन्– हजारौं पटक। गरिब र दैनिक ज्याला–मजदुरी गरेर गुजारा चलाउनेहरुको भोकको ज्वाला शान्त पारेकी छिन्। उनका अनुसार, दैनिक करिब पाँच सय यस्ता नागरिकको भोक टार्ने गरेकी छिन्।

उनले काठमाडौंका बेघरबार भएर यत्तिकै हिँडेका मान्छेदेखि भारी बोक्ने र रिक्सा चलाएर गुजारा गर्नेसम्मलाई खाना खुवाउने गरेकी छिन्।

काठमाडौंको थापाथली, कालिमाटी, ठमेल, लैनचौर, बालाजू र बसन्तपुर दरबार क्षेत्रका कामबिहीन श्रमिकहरुको भोक मेटाउदै आएको उनले जानकारी दिइन्।

इन्दिराको ‘बन्दी सहायता नेपाल’ नामक सामाजिक संस्था छ। उनी त्यसको संस्थापक अध्यक्ष हुन्। यसै संस्थामार्फत् उनले जेलमा रहेका व्यक्तिका छोराछोरीलाई संरक्षण दिँदै आएकी छिन्। उनले महिला कारागारमा साक्षरता अभियान पनि चलाउँछिन्। आफूले ३२ वर्षदेखि सामाजिक कार्य गरिरहेको उनले बताइन्।

कोरोना कालमा खाना खुवाउन सुरु गर्दाको घटना उनले सुनाइन्, ‘लकडाउनमा भोका मजदुरलाई खाना खुवाउने योजना संस्थाका साथीहरुलाई सुनाएँ तर संस्था यो काम गर्न तयार भएन। त्यसपछि मैले आफैँ सहयोग जुटाएर अभियान सुरु गरेँ।’

अहिले आफूलाई साथ सहयोग गर्न केही व्यावसायिक प्रतिष्ठानहरु र सामाजिक संघ–संस्थाहरु पनि जोडिएको उनले जानकारी दिइन्। कोरोनाले काम रोकिएपछि आफूलाईसडकका मानिसले के खाए होलान् भन्ने चिन्ता लाग्ने गरेको उनले बताइन्।



'भोकले भन्दा रोगले मर्नु वेश'



उनले भनिन्, ‘भोलि कसरी खवाउने भन्ने कुराले रातमा निन्द्रा समेत लाग्दैन। सामाज सेवामा मेरो जीवनको लामो समय बितेकाले होला, म बाटोमा हिँड्दा पनि भोका मान्छेभन्दा कोही देख्दिनँ।’

इन्दिराले समाज सेवाबाट विश्राम लिनेबारेमा कुनै योजना छैन। भन्छिन्, ‘समाजसेवाको कामबाट अलग रहुँला भन्ने त मैले कल्पनासमेत गरेकी छैन।’

उनले सन् २०१४ मा ‘चाइल्ड नोभेल पुरस्कार’ पाएकी थिइन्। सन् २०१७ मा बीबीसीको एक सय प्रेरणादयी महिलाको सूचीमा परेका थिइन्। 

प्रकाशित मिति: : 2021-05-06 18:43:00

प्रतिकृया दिनुहोस्