निषेधाज्ञाकाे सदुपयोग गर्दै फिकुरीमा 'फ्यामिली ट्रेक' (तस्वीरहरु)

काेराेनाकाे दोस्रो लहरको कोरोना बढेसँगै सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गर्याे।

उपत्यकामा निषेधाज्ञाले बन्द हुँदा पर्यटनकर्मी ऊर्जा तामाङ आफ्नो गाउँ नुवाकोटको मानेभञ्ज्याङ पुगिसकेका थिए। 'गत वर्ष लामो समय लकडाउन र निषेधाज्ञाको बेला काठमाण्डाैं मै बित्यो,' उनले भने,' निकै उकुसमुकुसले बित्यो।'

 यो वर्ष कोरोना भाइरसको दोस्रो (भेरियन्ट) लहरले निषेधाज्ञा सुरु हुनु अगावै उनी परिवारसहित गाउँतिर हिँडे। 'फिकुरी ट्रेक' का अभियन्तासमेत रहेका उनी अलायन्स एडभेन्चर प्रालीका प्रबन्ध निर्देशक हुन्।

यही बन्दाबन्दीकाे समय सदुपयोग गर्दै उनी गाउँबाट नजिकको फिकुरी ट्रेकमा दुई छोरी र श्रीमतीसहित 'फिकुरी ट्रेक' को पदयात्रामा निस्किए। परिवारसँग फिकुरी यात्रा निकै रोमाञ्चक भएको उनले बिएल नेपाली सेवालाई सुनाए।

फ्यामिलीसँग फिकुरी ट्रेकको यात्रा निकै अवस्मरणिय रहेको उनले बताए। कोरोना महामारीको बेला परिवारसँग हिँडेको ट्रेकको अनुभव र केही तस्वीरहरु उनले साटेका छन्। उनको पदयात्रा परिवारको साथमा मानेगाउँ, गोङगा भञ्ज्याङ, रुपचेत, सिङला पास, फिकुरी डाँडा, नौ घडेरी हुँदै किस्पाङ गोम्पा टुङ्गिएको थियो। निषेधाज्ञाको समय सदुपयोग गर्दै ४ दिन ३ रात क्याम्पिङ ट्रेकमै बिताए।

'पेण्डेमिकको बेला ट्रेकको अनुभव एकदमै नौलो रह्यो।  शरीर, मन, मष्तिष्कमा स्फुर्ती जाग्यो, आनन्द आयो,' उनले सुनाए। मेरा दुई छोरीहरु खुब रमाए, काठमाडाैं फर्किन मानेका छैनन।' ८ वर्षको कान्छी छोरीले ४२०० मिटर अग्लो सिङला पास पुगिन्, उनी खुसीले गदगद छन्।

विज्ञको अनुसार यो दोस्रो लहरको कोभिड पहिलाको भन्दा खतरा रहेकोले सावधानी अपनाउन दिएको सुझाव छ। अब केही दिन यतै गाउँ घरतिर बाबा आमासँग सफा वातावारण र अर्गानिक खानपिनमै बिताउने उनको सोचाइ रहेको छ। ' महामारीको समय हिमालतीर गएर बस्न सके धेरै सुरक्षित हुन्छ होला।' उनले मनमनै कल्पना गरे।

जनयुद्ध संकटकालका बेला सय रुपैयाँ बोकेर नुवाकोटबाट काठमाडौं झरेका ऊर्जा तामाङ सुनाउँछन्। उनको काठमाडाैंकाे यात्रा हुँदा  सुरुवाती दिनका संघर्ष कथा निकै प्रेरणादायी छन्। उनले गिट्टी बोके, पर्यटकको भरिया बनेर विभिन्न पदमार्ग चहारे र पर्यटन व्यवसायी भए।

पोहोर साल कोरोना भाइरसको महामारी फैलिएपछि लामो समय लकडाउन भयो। सन २०२० को स्प्रिङ, र अउटन्म सिजन त्यतिकै बित्यो। सन २०२१ को सिजनमा केहि आशा पलाएको थियो तर दोस्रो लहरको कोरोना संक्रमण तीब्र भएपछि पुनःबन्दाबन्दी सुरु भयो।

कोरोना भाइरसका कारण पर्यटनको भविष्य अन्योलमा परेकोमा चिन्तित छन, उनी। पर्यटनको आम्दानी रोकियो, हजारौँ पर्यटन मजदुर बेरोजगार भएका छन्।

नेपाल सरकारबाट पर्यटन मजदूर र व्यवसायीले कुनै राहत र सहयोग नपाएकोमा उनी गुनासो गर्छन्। उनी सोच्छन्, कहिले महामारी साम्य होला, असुरक्षित र अन्योल बनेको पर्यटन क्षेत्र कहिले लयमा फर्किएला?

फिकुरी ट्रेक 

समुन्द्री सतहबाट ३,५६८ मिटरभन्दा माथिको उचाईमा रहेको फिकुरीडाँडा पर्यटकीय क्षेत्रको रुपमा परिचित छ। नुवाकोटको किस्पाङ गाउँपालिका वडा-२ मा फिकुरी डाँडा पर्दछ।

रसुवा-नुवाकोट पर्यटन समाजले गत वर्ष कोरोना महामारी अगाडी नेपाल पर्यटन वोर्ड र स्थानीय सरकारका सहयोगमा "फिकुरी ट्रेक" को अध्ययन भ्रमण गरेको थियो।

'फिकुरी ट्रेक' काठमाडौंबाट करिब सय कि.मी दुरीमा पर्ने नजिकको पर्यटकिय गन्तब्य हो। पदमार्गमा तामाङ जातीको बाहुल्यता र गुरुङ, क्षेत्री, ब्राह्मण, दलित मिश्रित जात-जातीको संस्कृति, जिवनशैलीसहित डाँडापाखा, गाउँबस्ती, प्राकृतिक र ऐतिहासिक सम्पदा अवलोकन गर्न सकिन्छ।

ट्रेकको सबैभन्दा अग्लो फिकुरी डाँडा (३,५६८ मिटर) बाट मनास्लु, अन्नपूर्ण, लाङटाङ, गणेश, दोर्जेलाक्पा, गोसाईकुण्ड र तिब्बती हिमश्रृङखलाको लश्कर आँखा अगाडि देख्न सकिन्छ। यसको साथै सुर्योदय र सुर्योस्तको मनोरम दृश्यहरु अघाउञ्जेल हेर्न सकिन्छ।

प्रकाशित मिति: : 2021-05-08 13:00:00

प्रतिकृया दिनुहोस्