स्वादिला परदेशी निबन्धको भोक

हिमाल खबर

काठमाडौँ

मोहन मैनाली  

केही वर्षपहिले मेरा मनमा एउटा लहड चल्योः अंग्रेजी भाषामा लेखिएका स्वादिला र गुनिला केही निबन्ध नेपालीमा अनुवाद गर्ने। यो लहड चल्न थालेको केही दिन उत्साहित भएँ। धेरैवटा लहड चलेका केही दिनसम्म म उत्साहित हुन्छु। केही दिनमा त्यो लहड बिस्तारै धमिलिँदै जान्छ। त्यो लहड खासै काम लाग्ने होइन जस्तो लाग्छ। त्यसपछि त्यो काम गर्नु पर्दैन। यस्ता लहड ओइलाउँदा मलाई हानि हुँदैन। त्यसैले ढुक्कै हुन्छ, हाइसन्चो हुन्छ।

तर, यो लहड धमिलिएन, ओइलाएन। यसले मलाई खेदिरह्यो।  

साहित्यका विभिन्न विधामध्ये सबैभन्दा रूखो मानिने निबन्धको लहड मलाई किन चलेको होला? यसको जवाफ पाउन निबन्धका विशेषता र यसको महत्त्वबारे बुझ्न कोशिश गरेँ। यी कुरा दार्शनिक, उपन्यासकार, कवि तथा निबन्धकार अल्दस हक्स्लेले बुझाउन सक्छन् जस्तो लाग्यो। उनको निबन्धसंग्रह 'कलेक्टेड एस्सेज' को भूमिका पढेँ। त्यसको शुरूआतमा उनले डी.एच. लरेन्सका यी कुरा राखेका छन्-

“म मानिस हुँ, जीवित छु। त्यसैले, म उपन्यासकार हुँ। उपन्यासकार भएका नाताले म आफूलाई सन्त, वैज्ञानिक, दार्शनिक र कविभन्दा उत्तम ठान्छु, किनभने उनीहरू जीवन्त मानवका निश्चित पक्षलाई दर्शाउने कामका उस्ताद त हुन्, तर उनीहरूले मानव जीवनका समग्र पक्ष देखाउन सक्दैनन्। उपन्यासमा मात्रै यी सबै पक्षलाई पूर्ण रूपले देखाउन सकिन्छ।”

त्यसपछि हक्स्लेले निबन्धबारे आफ्ना कुरा लेखेका छन्। 

"उपन्यास जस्तै निबन्ध पनि साहित्यको त्यस्तो औजार हो जसका सहायताले सबै विषयबारे सबै कुरा बताउन सकिन्छ … एउटा निबन्धमा सबै पक्ष व्यक्त गर्न असम्भव हुन्छ। तर, धेरैवटा निबन्धको संग्रहले लामो उपन्यासले जति नै विषय समेट्न सक्छ, त्यति नै विस्तारमा कुरा बताउन सक्छ।"

निबन्ध यत्ति महत्त्वपूर्ण कुरा रहेछ र पो यसले मेरो मनमा गहिरो प्रभाव पारेको रहेछ!
 

प्रकाशित मिति: : 2021-05-08 17:30:00

प्रतिकृया दिनुहोस्