के सरकारसँग महावीर पुनको सल्लाह सुन्ने समय छ?

देश दोस्रो लहरको कोरोना महामारीबाट जुधिरहेको छ। संक्रमणको उच्च जोखिम, अक्सिजन अभाव,  हस्पिटलमा वेड र समयमा उपचार नपाउँदा सर्वसाधारण त्राहिमाम छन्। दिनहुँ ९ हजार हाराहारीमा थपिँदो संक्रमित र  दैनिक २ सयभन्दा बढीले ज्यान गुमाइरहेको अहिलेको अवस्थामा,  सामान्य मानिस पनि गहिरो मानसिक समस्याबाट गुज्रिरहेका छन्। 

यस्तो अवस्थामा ज्यानको बाजी लगाएर अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा सञ्चारकर्मीको अदम्य साहसलाई सलाम गर्नेपर्ने हुन्छ। तर, देशमा सरकार भने खोज्नुपर्ने अवस्था छ। उपत्यकामा रहेका वीर, टिचिङ र टेकुलगायत सरकारी अस्पताल सिमित स्रोत–साधन तथा स्वास्थकर्मीका बाबजुद संक्रमितलाई उपचार दिन तल्लिन छन्। यस्तो महामारीका बेला विभिन्न व्यक्ति तथा संघ–संस्थाको पहलमा आ–आफ्नै तरिकाले अक्सिजनलगायत स्वास्थ्य सामाग्री बाँडिरहेका छन्। 

नागरिक संकटमा परेका बेला उसले खोज्ने भनेको सरकार हो। तर, सरकारले समस्या हेर्ने र सुन्ने चेत हराइसकेका बेला सामाजिक सञ्जाल र समाचारभरी नागरिकको गुनासो पोखिनु जायज छ। यसलाई विरोधीले चलाएको हल्ला भनेर तर्कनु सरकारको कमजोरी मात्र होइन, अज्ञानताको पराकाष्टा पनि हो। 

गत वर्ष पहिलो लकडाउन सुरु हुँदा कोरोना विरुद्ध लड्न देशमा पिपिई, स्वाव संकलन मेसिन, सुइरो, शब राख्ने थैलो र आवश्यक भेन्टिलेटर पनि थिएन। तर, महावीर पुनको सक्रियतामा देशभित्रै राष्ट्रिय आविस्कार केन्द्रले यी सामानको निर्माण तथा मर्मत निःशुल्क गरेपछि केहि हदसम्म स्वास्थ्यकर्मी तथा सुरक्षा निकाय ढुक्क बनेका थिए। यद्यपि केही बहुलट्ठी विद्धानले महावीर पुनको यो कार्यको खिल्ली उडाएका थिए। 
तर, उनी अनवरत यो अभियानमा लागिरहे। सिमित श्रोत र साधनका बीच पनि उनको हौसला डगमग भएन। कोरोनाको अचुक निशाना पत्ता नलागेसम्म यसले दुःख दिइरहने उनलाई थाहा थियो। त्यसैले उनी आफ्नो कर्ममा लागिरहे। 

हाल नेपालमा कोरोनाको दोस्रो भेरियन्टले सुनामी ल्याउँदा उनी अक्सिजनको उपाय खोज्दै छन्। उपकरण मर्मत र सहयोगमा झन् सक्रिय भएका छन्। पर्वातारोहीले प्रयोग गरेका अक्सिजन सिलिण्डर पुनःप्रयोग गर्नलाइ पर्यटन क्षेत्रका व्यवसायीलाई संकलन गर्न अवहान गरेका छन्। केन्द्रका अध्यक्ष तथा अभियन्ता भएको नाताले पनि उनी कीर्तिपुरस्थित केन्द्रमा कोरोनाविरुद्ध लड्ने सामाग्री र उपायको खोजीमा दिनरात खटिने गरेका छन्। 

हालै उनले एउटा स्टाट्स लेखेर सरकारलाई फेरि घचघचाउन खोजे। उनले सरकारलाई अब आँखा चिम्म गरेर जनताको स्वास्थका लागि दत्तचित्त भएर लाग्न अनुरोध गरेका छन्। 

कोरोना महामारीका कारण यो बर्षको पूँजीगत खर्च अथवा बिकास बजेट फ्रिज भएको छ। यो खरबौंमा छ। खर्च हुन नसकेको यस्तो बजेटबाट ३०-४०  अर्ब मात्र रुपैयाँ सरकारले अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, भ्याक्सिन किन्न र ढुवानी सेवामा खर्च गरे हजारौं नागरिकको ज्यान बच्ने पुनको धारणा छ।  

नेपाल  सरकारले आर्थिक वर्ष २०७७-२०७८ का लागि ३ खर्ब ५२ अर्ब ९२ करोड रुपैंयाँ विकास खर्च अर्थात पुँजिगत खर्च छुट्ट्याएको थियो। यसमध्ये हालसम्म कूल १ खर्ब २३ अर्ब ७६ करोड अर्थात ३५% मात्र खर्च भएको छ। अब आर्थिक बर्ष सकिन २ महिना मात्र बाँकी छ। त्यसैबाट ३० देखि ५० अर्ब रुपैंयाँ सरकारले नागरिकको ज्यान बचाउन कोरोनाको उपकरण, औषधि उपचारमा खर्च गरे सरकारप्रति जनताको विश्वास चुलिने पक्का भएको उनको धारणा छ।   

आपत–विपत परेका बेला नागरिकको ज्यान जोगाउनु नै सरकारको प्रथम जिम्मेवारी हो। यसैले पुनले सरकारलाई झक्झकाउन एउटा स्टाट्स लेखेका छन्, ’जनताको ज्यान जोगिए, बिकास भन्ने कुरा अर्को बर्ष गरे पनि हुन्छ। महामारी साम्य नभएसम्म एक–दुइ बर्ष विकास निर्माण केहि ढिला हुँदा केही फरक पर्दैन।’  

कोरोनाको महामारीसँग जुध्न पैसा कहाँबाट जुटाउने र तत्कालै के–केमा खर्च गर्न सकिन्छ यस कुराको '‘आइडिया' पनि पुनले दिएका छन्। ती यसप्रकार छन्।  

१) नेपाल सरकारको २०७७-२०७८ को विकास बजेट अर्थात पूँजीगत खर्च ३  खर्ब ५२ अर्ब ९२ करोड रुपैंयाँ छुट्टयाइएको हो। आजको मितिसम्म जम्मा १ खर्ब २३ अर्ब ७६ करोड अर्थात ३५% खर्च भएको रहेछ। 
२) अब यो आर्थिक बर्षको अन्त्यसम्म विकास बजेटको ८० प्रतिशत खर्च हुने अनुमान गर्दा पनि २०% जति त पक्कै बच्न सक्छ। १० महिनासम्म ३५% मात्र खर्च भएको छ। अब आर्थिक बर्ष पुरा हुन् २ महिना मात्र बाँकी छ र सो अवधिमा थप ४५%  खर्च गरे पनि बाँकी २०% त पक्कै पनि बच्ने अनुमान गर्न सकिन्छ। 
३) यसरी यो आर्थिक बर्षको विकास बजेटबाट बचत हुनसक्ने अनुमानित २०% रकम भनेको ७० अर्ब ५८ करोड रुपैंयाँ हो। 
४) यसको आधा रकम मात्र बच्यो भने पनि करिब ३५ अर्ब रुपैंयाँ जति हुन आउँछ। 
५) त्यही बचेको करिब ३५ अर्ब रुपैंयाँले कोरोना उपचारमा चाहिने अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर र अन्य स्वास्थ्य समाग्री किनेर ल्याउन पुग्छ। 
६) यसो गर्न सके धेरै नेपाली नागरिकको जीवन कोरोनाबाट बचाउन सकिन्छ। र आशिर्बाद पनि पाइन्छ। नेताज्यूहरुलाई एकदमै चाहिने भोट पनि पाइन्छ। 

उनले भनेका छन्, यो संगै नेपाल सरकार र अन्य धनाढ्यले मौकामा हिरा फोर्न सक्नुपर्छ किनभने हिराभन्दा मान्छेको ज्यान बहुमुल्य हो। 
बिकास बजेट खर्च गर्न कानुनी झञ्झट भए ‘आपतकालीन र महामारीका लागि आर्थिक श्रोत जुटाउने र खर्च गर्ने’ अध्यादेश सरकारले तुरुन्त ल्याउन समेत उनले सुझाव दिएका छन्।

महामारीको प्रतिकूल अवस्थामा पनि आफ्नो स्वास्थको ख्याल नगरि दिनरात खटिने योद्धा हुन्, महावीर पुन। ठिकै छ, सरकारले आफ्नो नागरिकको चित्कार त सुन्न सकिरहेको छैन। कम्तिमा महावीर पुनकै सल्लाह भए पनि सुनिदेओस् सरकारसँग यही अनुरोध छ हामी सम्पुर्ण नागरिकको तर्फवाट पनि। (तथ्याङ्क स्रोतः -  महालेखा नियन्त्रक कार्यालय https://www.fcgo.gov.np)


अक्सिजन हाहाकार टार्ने महावीर पुनको यस्ता छन् योजना (भिडियाेसहित)


अलबिदा डा. स्कोव ! जसले मलाई महावीर पुन बनायो (भिडियाेसहित)

 

प्रकाशित मिति: : 2021-05-21 19:23:00

प्रतिकृया दिनुहोस्