सन्दर्भ : सगरमाथा दिवस

सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्ने इम्जा तालको सौन्दर्य (फाेटाे फिचर)

Photos : Gagan Raj Neupane (Rasuwa Treks)

नेपाल, चीन, भुटान, भारत, पाकिस्तान हुँदै अफगानिस्तानसम्म (पूर्वदेखि पश्चिम) लगभग १५०० माइल (२५०० कि.मि) हिमालय श्रृंखला तन्किएको छ। नेपालको भूभागमात्रै करिब ५०० माइल (८०० कि.मि) समेटिएको छ।

हिन्दु कुश-हिमालयमा पछिल्लो हिम युगपछि हिमनदीहरु लगभग १०,००० वर्षअघि कायम रहेको विश्वास गरिन्छ। ध्रुवीय क्षेत्रहरु अन्टार्कटिका र ग्रीनल्याण्डबाहेक विश्वको सबैभन्दा बढी हिमनदी क्षेत्र हो हिन्दु कुश-हिमालयन क्षेत्र। हिमालय भूभागको करीब ३३ हजार वर्ग किलोमिटर हिमनदीले ओगटेको तथ्याङ्कले देखाएको छ। त्यसैले विगत २०० वर्षदेखि अन्वेषकहरू, पर्वतारोहणहरू, वैज्ञानिकहरू, विकासकर्ताहरू र योजनाकारहरू यस क्षेत्रमा आकर्षित भइरहेका छन्।

(NASA Earth Observatory image created by Jesse Allen)

ठूलो मात्रामा स्थायी बरफ र हिउँ भरिएको विश्वकै केही ठूला नदीहरुको मुख्य पानी आपूर्तिको श्रोत पनि हो, हिमनदी। यही हिमनदीले संसारको एक तिहाई जनसंख्यालाई जीवनको महत्त्वपूर्ण पानी र जलविद्युत प्रदान गरेको छ। यद्यपि, अग्ला पहाडहरू, उच्च भूकम्पीय गतिविधि र प्राकृतिक जोखिमहरूको लागि पहिरो, बाढी, हिमस्खलन र हिमनदी ताल विस्फोटको प्रमुख जिम्मेवार रहेको सन २०१० मा प्रकाशित 'हिमनदी तालहरुको गठन हिन्दु कुश-हिमालयमा र जोखिम मूल्यांकन' को अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको एक अध्ययन रिपोर्टमा उल्लेख  गरिएको थियो।

हिमताल कसरी निर्माण हुन्छ ?

इसिमोडका अनुसार हिमनदी र हिमताल भनेको हिमालय क्षेत्रमा देखिने बरफ र हिउँले बनेको लामो नदी जस्तै स्वरुप भएको पिण्ड हो। लामो समयसम्म हिमपातबाट हिउँको तहमाथि तह थपिंदै जादा यसको निर्माण हुन्छ र भारी तौलले थिचिएर कडा हुँदै अग्लो भूभागबाट होचो भूभागतिर अत्यन्तै ढिलो गतिमा सर्दछ।

हिमनदी अगाडि सर्दै जादा यसले बाटोमा पर्ने चट्टान माटोलगायत सबै वस्तु सोहरेर लग्छ र दायाँ-बायाँ र अगाडिको भागमा बरफ मिसिएको ढुङ्गा माटो थुपार्छ। हिमनदी पग्लिदै पछी हट्दा यसले चट्टान, ढुङ्गा र माटोले खाली ठाउँमा पानीले भरिने र यसलाई अगाडिको भागमा थुप्रिएको गेग्रेनले छेकेर राख्ने गर्दा हिमतालको निर्माण हुन्छ।

इम्जा ताल अर्थात इम्ता त्सो

इम्जा हिमनदीबाट पग्लिएको पानी जम्मा भएर सन् १९६० तिर इम्जा हिमताल निर्माण भएको विश्वास गरिन्छ। तालबारे नर्वेजियन जर्नल अफ जियोग्राफिकका अनुसार सन् २००९ मा गरिएको एक अध्ययनले हिमालय क्षेत्रको सबैभन्दा छिटो बढिरहेको तालको रूपमा यो हिमताललाई वर्गीकरण गरेको थियो।

पूर्वि नेपालको सोलुखुम्बु जिल्लामा पर्ने इम्जा हिमताल नेपालकै सबैभन्दा जोखिमयुक्त हिमताल मध्य पर्दछ। इसिमोडको अध्ययनका अनुसार इम्जा हिमतालमा ७ करोड ५२ लाख घन लिटर पानी रहेको वताइएकाे छ। वैज्ञानिकहरुका अनुसार विश्वमा तिब्र रुपमा भइरहेको जलवायु परिवर्तनले यो ताल विष्फोटको सम्भावना रहेकोले वि.सं. २०७३ श्रावणमा नेपाली सेनाले तालको पानी निकासा गरेर जोखिम कम गरेको थियो। नेपाली सेनाले करिब ५ वर्षसम्म यहाँको विस्फोटबाट बच्न पानी कटान गर्न ठूलो योगदान दिएका थिए।

सन् २००९ मा अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले इम्जा हिमतालको भौगर्भिक अवस्थित बाहेक अन्य पक्षको पनि अध्ययन गरेका थिए। उक्त अध्ययनबाट मापन गरिएको तालको क्षेत्रफल जम्मा १.०१ वर्ग कि.मि र अधिकतम गहिराई ९६.५० मिटर रहेको थियो। उक्त हिमतालमा पानीको आयतन जम्मा ३५.५ x १०६ घनमिटर रहेको उल्लेख गरिएको थियो। यो ताल सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्दछ र यो समुद्र सतहदेखि ५००४ मिटरमा अवस्थित छ।

इम्जा तालको अनुपम सौन्दर्यले मोहनी लगाउदा

एभरेष्ट वेस क्याम्प ट्रेक अर्थात् सगरमाथा आधार शिविर पदमार्ग नेपालकै हिमालय क्षेत्रको सबैभन्दा लोकप्रिय ट्रेकिङ गन्तब्य हो। २-३ हप्ता लामो पदयात्राको लागि वर्षेनी विश्वभरबाट लगभग ५० हजार पर्यटकहरु आधार शिविर घुम्न आउछन्।

कोरोना महामारीले गर्दा लगभग एक वर्ष यो क्षेत्र सुनसान बन्यो। गत दशैँ तिहार ताका लकडाउन खकुलो भएदेखि केही पर्यटक त्यहाँ पुगेका थिए। यो स्प्रिङ सिजनमा सयौं पर्यटक सगरमाथा क्षेत्र घुम्न गएका थिए। फेरि दोस्रो लहरको कोरोना संक्रमण बढेसंगै सरकारले निषेधाज्ञा जारी गरेपछि आधार शिविर पदयात्रामा पुगेका पर्यटकहरु यात्रा छोट्याउदै धमाधम हवाइ चार्टर मार्फत् फर्किन बाध्य भए।

यही क्षेत्रमा पर्ने  समुद्र सतहदेखि करिब ५००४ मिटरमा अवस्थित यो इम्जा ताल सगरमाथा राष्ट्रिय निकुन्ज भित्र पर्दछ, जुन् सन् १९७९ मा विश्व सम्पदाकाे सूचीमा सूचीकृत भएकाे थियाे। छुकुङ भ्यालीमा पर्ने इम्जा ताल निकै सुन्दर छ र पर्यटकहरुको मुख्य आकर्षणको केन्द्र पनि हो।

यो ताल पुग्न लुक्लादेखि पैदलयात्रामा करिब हप्तादिन लाग्छ। सगरमाथा आधार शिविरको ट्रेकमा पर्ने दिङवोचेबाट पूर्वतिर  देब्रे करिब दुई घण्टामा छुकुङ पुगिन्छ।  त्यहाँबाट करिब २.५ घण्टा पैदलयात्रा गरेर इम्जा ताल पुगिन्छ।

तालको देब्रेतिर आइलेण्ड पिक वेस क्याम्प छ। खुम्वुवासीले इम्जा ताललाई पवित्र स्थल मान्ने गर्छन्। खुम्वु क्षेत्रभर काटमार गर्न प्रतिबन्धित छ।

दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै वैशाख १६ गतेदेखि सरकारले निषेधाज्ञा जारी गर्यो। रसुवा ट्रेकका डाइरेक्टरसमेत रहेका युवा पर्यटनकर्मी गगनराज न्यौपाने यसपल्ट अस्ट्रलियन पर्यटक एमिलाई एभरेष्ट वेस क्याम्प ट्रेक घुमाउन लगेका थिए। कोरोना महामारीको बीचमै उनी दोस्रो पटक पुनःएभरेष्ट वेस क्याम्प पुगेका हुन्।

यहीँ क्रममा उनी पर्यटकसहित काठमाण्डाैं-लुक्ला हुँदै पदयात्रा सुरु गरेको १०औ दिनमा उनका टोली इम्जा ताल पुगेका थिए।

५००४ मिटर अग्लाे त्याे भूगाेलमा पुग्दा दंग नपर्ने सायदै भेटिएलान्।

चिसो मौसम। शान्त र सुनसान वातावरण। चारैतिर सेताम्मे हिमाल। हिउँ जमेको ताल। हिमालमा ठोकिएर फर्केको चिसो हावामा उनी केहीबेर प्रकृतिको अनुपम दृश्यमा हराउन थाले।

'हिमालको काखमा पुग्दाको आनन्द शब्दमा वयान गर्न सकिदैन, केवल स्पर्श र अनुभव मात्रै गर्न सकिन्छ,' उनले भने। उनी केहीबेर मन्त्रमुग्ध भएर कल्पनाको दुनियाँमा डुब्छन्। त्यहाँको दृश्य एक निपूण चित्रकारले कोरेको विशाल क्यानभास जस्तो। पहिलाको भ्रमणमा हिमाली हाँस पनि तालमा देखिन्थ्यो, यसपल्ट ताल जमेर होला, हाँस देखिएन।

'हेरेर कहिल्यै नथाकिने, सधैँ यतै बसौझैंं लाग्ने, त्यहाँ पुग्दा सबै थकाइ बिर्सिए' उनले आफ्नो अनुभव सुनाए। कल्पनाको दुनियाँबाट झल्यास्स व्युँझन्छन्।  एमि (पर्यटक) रमाउँदै फोटो खिच्दै थिइन्। उनी पनि भटाभट तस्विरहरु कैद गर्ने थाले।

अहो, कस्तो स्वर्गिय आनन्द, अनुपम अनुभूति !

देब्रेतिर आँखा अगाडि लहरै आमाडाव्लाम, वरुन्चे, आम्फुलाप्चा लगाएत दर्जनौ हिमाल टलक्क टल्केका थिए। ती दृश्यहरूमा धित मरून्जेल रमाए, उनीहरू।

फर्किने तरखर गर्दै थिए। विस्तारै वादलले विशाल हिमालहरु च्यादरले ढाकेझैं छोप्दै गयो। 'हामी छुकुङतिर ओरालो लाग्याै। मन मस्तिकमा इम्जा ताल र सेरोफेरो कैद गर्यौ।  एकदिन अगाडि छुकुङ रि को हिँडाइले एमि केही थकित देखिए पनि इम्जा ताल भ्रमण गरेकोमा मक्ख परेको थिइन्। एकाएक फुर्तिलो भइन्।', उनी उत्साहित हुँदै बिएल नेपाली सेवासँग अनुभव साटे।

बेलैमा छुकुङ फर्किन पर्छ, उनी मन-मनै सोच्छन्। सगरमाथा आधार शिविरको यात्रा अझै २ दिनको हिँडाइ बाँकी नै थियो।छेस्कामका सहयोगी कमल कुलुङ विगत ३ वर्षदेखि ट्रेकिङ गएका थिएनन्। कोरोना महामारीले काम धन्दा बन्द भयो। लामो समयको अन्तरालपछि ट्रेकमा जान पाउदा उनी पनि खुशी थिए। यस्तो महमारीको बेला काम पाउदा उनी फुरूगं थिए। अब गाउँ गएर आलु, मकै, कोदो रोपेर खेतीपातीमा फर्किने उनले सुनाए।

यो हिडेन भ्यालीको रुपमा चिनिन्छ। प्राय ट्रेकर्स दिङवोचेबाट सोझै सगरमाथा आधार शिविरतिर उक्लिन्छन्। २ दिन जति छुट्याएर अनुपम इम्जा ताल(५००४ मि) र छुकुङ रि (५५५०मि) घुम्दा यात्रा अझै सार्थक हुने पर्यटनकर्मी न्यौपानेको पर्यटकलाई सुझाव छ। त्यसको साथै लेक लाग्नबाट जोगिनसमेत सहयोग पुर्‍याउने अनुभवी पर्यटनकर्मी न्यौपाने वताउँछन्।

यहाँबाट ल्होत्से, लहोत्से सार, आइलेन्ड पिक, आमा डाव्लाम, आमा लाप्चा, वरुन्चे लगाएत हिमालहरु आँखै अगाडि देखिन्छ। पर्यटकहरु यही पदमार्ग हुँदै आमा लाप्चा, ल्होत्से र आइलेण्ड पिक आरोहणको लागि जाने गर्दछन्।

इम्जा ताल कसरी पुग्ने ?

काठमाण्डाैं -लुक्ला (३५ मिनेट हवाइयात्रा)। एभरेष्ट वेस क्याम्प ट्रेकको पदमार्गमा पर्ने दिङवोचेबाट साइड ट्रेक छुकुङ हुँदै जान आउन एक दिन (लुक्लावाट करिब हप्ता दिन )। दिङवोचेवाट अगाडि आधार शिविर करिब २ दिन।

प्रकाशित मिति: : 2021-05-29 19:39:00

प्रतिकृया दिनुहोस्