मेलम्चीमा बाढीकाे वितन्डा: सातको मृत्यु, कैयौँ बेपत्ता

बिएल संवाददाता

सिन्धुपाल्चोक

मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रका कैयौँ मानिसहरू बेपत्ता भएका छन् भने सात जनाको मृत्यु भएको छ।

मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५० जना बेपत्ता भएको र मेलम्ची खानेपानी ड्याम समाप्त गरेको एमाले नेता तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले बताएका छन्।

मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्‍याएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताएका छन्।

खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएको उनले बताए। तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्रीमा बाढी पहिराेले क्षत–विक्षत बनाएको छ।

नकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पुल समेत बगेको छ। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको मन्त्री शेरबहादुर तामाङले सामाजिक सञ्जालमार्फत् जनाएका छन्।

पछिल्लो समयमा हेलम्बु र मेलम्चीमा पानीको सतह बढेको भन्दै मानिसहरूलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरिएको स्थानीय प्रशासनले जनाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी पोखरेलले अहिलेसम्मको विश्लेषणले हेलम्बुमा बढी क्षति पुगेको आङ्कलन गरिएको बताए।

उनले भने, "रातिनै मानिसहरू बाढीबाट बाँच्न विभिन्न सुरक्षित स्थलतर्फ जाने क्रम रहेको र ती मध्ये कतिपय मानिसहरू बिहानीसम्म सम्पर्कमा आइसकेको अवस्था छ। अहिलेसम्म सात जनाले ज्यान गुमाएका छन् र चारवटा पुल अनि केही झेलुङ्गे पुलमा झति पुगेको छ।"

प्रकाशित मिति: : 2021-06-16 08:30:00

प्रतिकृया दिनुहोस्