मङ्गलबार, १७ नोभेम्बर २०२६

धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु)

काठमाडाैं
• • •

झापाका रमेशले कहिल्यै सोचेका थिएनन् कि एउटा सामान्य रहरले सुरु भएको यात्रा अन्ततः लागुऔषधको गहिरो लत, परिवारबाट तिरस्कार, जेल जीवन र आत्महत्यासम्मको सोचमा पुर्‍याउनेछ। तर, जीवनले उनलाई फेरि एउटा मौका दियो। अहिले उनी विगत बदल्दै परिवारको विश्वास जित्ने यात्रामा छन्।


क्रिश्चियन परिवारमा जन्मिएका रमेश सानैदेखि संस्कारी र अनुशासित थिए। ठुलालाई सम्मान गर्ने र सानालाई माया गर्ने उनको स्वभाव थियो। पढाइमा पनि उनी अब्बल थिए। भविष्यमा केही बन्ने सपना बोकेर उनी आफ्नो बाटो तय गर्दै थिए।

तर, समय सधैं एउटै रहँदैन। गलत संगतमा परेपछि उनको जीवन विस्तारै बदलिन थाल्यो। 

कुलतमा फसेका साथीहरूको संगत र उनीहरूको करकापमा रमेशले पनि सुरुमा रहरमै नशालु पदार्थ प्रयोग गर्न थाले।

तर, त्यो रहर कहिले बानी बन्यो र बानी कहिले लतमा परिणत भयो भन्ने कुरा उनी आफैंले थाहा पाएनन्।

जब लागुऔषधबिना उनको शरीरले काम गर्न छाड्यो, तब मात्र उनले महसुस गरे—उनी सामान्य प्रयोगकर्ता होइन, लागुऔषधको गहिरो दलदलमा डुबिसकेका रहेछन्।

त्यसपछि उनको जीवनको ओरालो यात्रा सुरु भयो

लागुऔषध सेवनका लागि उनी दिनहुँजसो परिवारसँग झगडा गर्न थाले। बिस्तारै परिवारसँगको सम्बन्ध टुट्दै गयो। 

भविष्यका सपना अधुरै रहे, पढाइ बीचमै छाड्नुपर्‍यो। उनको दैनिकीमा अब एउटै कुरा बाँकी रह्यो—लागुऔषधको खोजी, सेवन र त्यसकै वरिपरि घुम्ने जीवन।

परिवारसँगको बढ्दो दूरी र आफ्नै जीवनप्रतिको निराशाले रमेशलाई झन् कमजोर बनाउँदै लग्यो। 

पीडा र पश्चात्तापका क्षणमा उनले कैयौँपटक आफ्नो जीवन अन्त्य गर्ने प्रयास पनि गरे। तर, हरेक पटक उनी बाँचिरहे।

सायद जीवनले उनलाई अर्को अवसर दिइरहेको थियो—आफ्ना गल्ती सच्याउने र फेरि नयाँ सुरुवात गर्ने।

'मेरो कोही पनि छैन, म एक्लो छु भन्ने महसुसले धेरै पटक मर्न खोजेँ। मलाई थाहा थियो, मैले गलत गरिरहेको छु। तर, चाहेर पनि लागुऔषध छोड्न सकिरहेको थिइनँ,' विगत सम्झिँदै रमेश भन्छन्।

000

सन् २०१६ मा लागुऔषधकै कारण रमेश प्रहरी चौकीसम्म पुगे। त्यो घटनाले उनलाई केही समयका लागि झस्कायो। 

जीवन बिग्रँदै गएको महसुस भए पनि उनी कुलतबाट पूर्ण रूपमा बाहिर आउन सकेका थिएनन्। 

त्यसपछि उनको मनमा एउटा सोच पलायो—सायद ठाउँ परिवर्तन गरे जीवन पनि परिवर्तन होला। यही सोचले उनलाई विदेश जाने निर्णयतर्फ डोर्‍यायो।

केही समयपछि उनी रोजगारीको खोजीमा दुबई पुगे। उनले त्यहाँ वेइटरकाे काम गर्न थाले। 

तर, उनको मनमा एउटा अहंकार थियो, 'अरूले खाएको जुठो उठाउने काम मेरो होइन।' 

यही सोचका कारण उनी त्यो काम छाड्न चाहन्थे। तर, अर्को विकल्प पनि थिएन। 

यही क्रममा एक दिन दुबईमा उनको भेट आफ्नै गाउँका एक पुराना साथीसँग भयो। ती साथी लागुऔषधको नशामा लठ्ठ थिए।

विदेशमा परिवार र आफन्तबाट टाढा रहेका रमेशले जब आफ्नै चिनजानको व्यक्तिलाई त्यस्तो अवस्थामा देखे, उनकाे मनमा जिज्ञासा उठ्याे, ‘यति टाढा आएर पनि उसले कसरी लागुऔषध प्रयोग गरिरहेको छ?’ 

तर, त्यो जिज्ञासा विस्तारै फेरि पुरानै चाहनामा बदलियो। केही समयअघिसम्म छोड्न खोजेको कुलतले उनलाई फेरि तान्न थाल्यो।

साथीलाई हेर्दै उनको मनमा आयो–‘मलाई पनि चाहियो।’
त्यसपछि लागुऔषध पाउनका लागि उनी जे गर्न पनि तयार हुने अवस्थामा पुगे।

आफ्नो चाहना उनले साथीसँग सुनाए। साथीले पनि उनलाई सहयोग गर्ने भन्दै एउटा कामको प्रस्ताव राखे।

तर काम सामान्य थिएन—त्यो थियो लागुऔषध कारोबारमा संलग्न हुने। 

रमेशलाई गाडीमार्फत लागुऔषध एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने जिम्मा दिइयो। यही कामबाट उनले लागुऔषध सेवन गर्दै पैसा जुटाउन थाले।

करिब ६–७ महिनासम्म उनले यही काम गरिरहे। यस अवधिमा उनले ठूलो रकम कमाए। उनको बैंक खातामा ७५ लाख दिरामभन्दा बढी रकम जम्मा भइसकेको थियो।

अब उनको मनमा नेपाल फर्किएर घर–जग्गा किन्ने, परिवारलाई सुख दिने र नयाँ जीवन सुरु गर्ने सपना पलाइसकेकाे थियाे। 

उनी आफूले कमाएकाे पैसा नेपाल पठाइदिने तरखरमा थिए। तर, उनकाे जीवनमा साेच्दै नसाेचेकाे घटना भइदियाे। 

एकरात उनी गहिराे निन्द्रामा सुतिरहेका बेला यूएईका सुरक्षाकर्मीहरू राेशकाे कोठामा प्रवेश गरे। केही बुझ्न नपाउँदै उनलाई पक्राउ गरियो र सीआईडी कार्यालय पुर्‍याइयो।

त्यहाँ पुगेपछि रमेशले अनुसन्धानका क्रममा जीवनमै कहिल्यै नसोचेको पीडा र यातना सहनुपर्‍यो। ती दिनहरू सम्झिँदा आज पनि उनको मन झस्किन्छ।

त्यसपछि यूएई सरकारले उनको खातामा रहेको सबै रकम जफत गर्‍यो।गर्‍यो। केही समयअघिसम्म करोडौंको सपना देखिरहेका रमेश एकैछिनमा शून्यमा झरे। 

त्यो समय उनका लागि निकै पीडादायी थियो। आँसु झार्नुबाहेक उनीसँग अर्को विकल्प थिएन। न परिवारसँग सम्पर्क थियो, न भविष्यबारे कुनै आशा।

तर, समय सधैं एउटै रहँदैन।

करिब साढे २ वर्ष जेल जीवन बिताएपछि रमेशको जीवनमा एउटा अप्रत्याशित मोड आयो।

एक बिहान उनी सुतिरहेको बेला जेलबाट आममाफी पाउने कैदीहरूको सूची सार्वजनिक भयो। त्यही सूचीमा उनको नाम पनि परेको खबर आयो।

त्यतिबेला रमादानको समय चलिरहेको थियो। कम उमेरका केही कैदीहरूलाई आममाफी दिइएको थियो।

आफ्नो नाम सुनेपछि रमेश खुसी भए। तर, त्यो खुसीसँगै उनको मनमा अर्को पीडा पनि थियो। उनीसँगै जेल परेका पाँच जना साथीहरू भने अझै जेलमै थिए।

जेलबाट बाहिर निकाल्दा समेत उनको हातमा हतकडी थियो। अन्ततः दूतावास पुगेपछि मात्र उनको हातको हतकडी खोलियो।

दुबईबाट उनी जसोतसो नेपाल फर्किए।

तर, फर्किँदा उनीसँग न पैसा थियो, न कुनै सहारा।

त्रिभुवन विमानस्थलमा पुगेपछि उनले एक अपरिचित व्यक्तिसँग सहयोग मागे। त्यही व्यक्तिको सहयोगले उनी आफ्नो घरसम्म पुग्न सके।

तर, घर फर्किएपछि पनि उनको संघर्ष सकिएन।

परिवारले उनलाई सहजै स्वीकार गर्न सकेन। किनकि उनले पटकपटक परिवारको विश्वास तोडिसकेका थिए।

जसको मायामा उनी हुर्किएका थिए, त्यही परिवारबाट टाढिएको महसुस गर्नु उनका लागि अर्को ठूलो पीडा थियो।

यसअघि बाआमाले रमेशलाई कैयौंपटक सुधार केन्द्रमा राखेका थिए। तर, उपचारपछि पनि उनी पटकपटक रिलाप्स (पुनः कुलतमा फर्किने अवस्था) हुँदै आएका थिए। यहीकारण पनि परिवारसँग रमेशकाे सम्बन्ध बिग्रदै गएकाे थियाे। 

यसपटक भने उनले आफ्नो विगतलाई गहिरिएर हेर्न थाले। आफ्नो कारणले परिवारले भोगेको पीडा सम्झिए।

अनि उनले महसुस गरे—उनको जीवन बिगार्ने सबैभन्दा ठूलो कारण लागुऔषध नै रहेछ।

त्यसपछि रमेशले आफूलाई बदल्ने निर्णय गरे।

तर, गुमेको विश्वास फर्काउनु सजिलो थिएन। विगतका गल्तीका कारण उनलाई फेरि विश्वास गर्ने मानिसहरू निकै कम थिए।

परिवारसँग त उनको बोलचालसमेत बन्द भइसकेको थियो।

तर, श्रीमतीले भने अन्तिम पटक उनलाई विश्वास गरिन्।

श्रीमतीले रमेशलाई बूढानीलकण्ठस्थित ज्योति फाउन्डेसन सुधार केन्द्रमा राखिन्।

अहिले रमेशको यो १४औँ उपचार यात्रा चलिरहेको छ। 

यसपटक उनी विगत दोहोर्‍याउन होइन, आफूलाई पूर्ण रूपमा बदल्न चाहन्छन्।

‘यही मेरो अन्तिम उपचार हो। यदि यसपटक पनि असफल भएँ भने मेरो जीवन सकिन्छ,’ उनी भन्छन्, ‘अब म कुलतको त्यो अन्धकारमा फर्किन चाहन्नँ। फेरि आफ्नो परिवारको विश्वास जित्नेछु।’


करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…

कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…

पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...

सडकले हुर्काएको विकास...

किन बारम्बार ‘रिलाप्स’ हुन्छन् दुर्व्यसनी..?

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!