शुक्रबार, २० नोभेम्बर २०२६

अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
• • •

सुरुवातमा प्रदीप बाेहरा साथीहरूको करकाप र गलत संगतका कारण चुरोट पिउन थाले। 

सुरु–सुरुमा चुरोटको धुवाँमा रमाउने उनलाई यो सामान्य बानीले एक दिन लतको रूप लिन्छ भन्ने कल्पनासमेत थिएन। 

तर समय बित्दै जाँदा चुरोटप्रतिको उनको निर्भरता बढ्दै गयो र उनी बिस्तारै दुर्व्यसनको दलदलमा फस्दै गए।

उनको परिवारमा कसैले पनि चुरोट सेवन गर्दैनथे। उनका बुबा प्रहरी सेवामा थिए। उनी पनि बुबाकै पाइला पछ्याउँदै प्रहरी बन्ने सपना देख्थे। तर गलत संगत र कुलतले उनको जीवनले सोच्दै नसोचेको मोड लिन पुग्यो।

दिन प्रतिदिन चुरोट सेवन गर्ने क्रम बढ्दै गयो। घरपरिवारले पटक–पटक सम्झाउँथे, चुरोट नखान आग्रह गर्थे, तर उनले कसैको कुरा सुनेनन्।

चुरोट खान नपाउँदा उनी आफ्नै परिवारसँग झर्किने र रिसाउने गर्थे। उनको बदलिँदो व्यवहारका कारण साथीहरू पनि बिस्तारै टाढिँदै गए।

आफू गलत बाटोमा हिँडिरहेको छु भन्ने महसुस उनलाई नभएको होइन। मनमा पछुतो र ग्लानि हुन्थ्यो। 

यो लतबाट बाहिर निस्कनुपर्छ भन्ने सोच पनि आउँथ्यो। तर लतको प्रभाव यति गहिरो भइसकेको थियो कि चाहेर पनि उनी आफूलाई नियन्त्रण गर्न र त्यसबाट बाहिर निस्कन सकिरहेका थिएनन्।

लतले उनलाई यति कमजोर बनाइसकेको थियो कि त्यसको आवश्यकता पूरा गर्न उनी जे पनि गर्न तयार हुन्थे।

कुलत पूरा गर्नकै लागि उनी काम गर्न थाले। तर खल्तीमा पैसा हुनेबित्तिकै उनले काम छाड्थे। 

कमाएको पैसा आवश्यकतामा खर्च गर्नुको सट्टा फेरि त्यही लत पूरा गर्न खर्च गर्थे। यसरी उनको व्यवहारले परिवारमा थप पीडा र निराशा निम्त्याउँदै गयो।

छोराको बानी र व्यवहारका कारण परिवारले अनेकौँ दुःख र तनाव सहनुपर्‍यो। उनलाई सम्झाउँदा, बुझाउँदा र उनको व्यवहार सहँदासहँदै उनकी आमाको स्वास्थ्यसमेत बिग्रिँदै गयो। 

अवस्था यतिसम्म नाजुक बन्यो कि आमा आफैँ बिरामी परिन्। अहिले पनि उनी पूर्ण रूपमा स्वस्थ हुन सकेकी छैनन्। 

तर अहिले प्रदीप विगतको जीवनमा फर्किन चाहँदैनन्। आफ्नो गल्ती स्वीकार गर्दै जीवनलाई नयाँ दिशामा अघि बढाउन चाहन्छन्। 

आफ्नो कुलतका कारण परिवारले भोग्नुपरेको पीडा कम गर्नु र आफूलाई असल बाटोमा अघि बढाउनु नै अहिले उनको मुख्य उद्देश्य बनेको छ।

कुनै समय आफैँ लागुऔषध दुर्व्यसनको चपेटामा परेका उनी अहिले आफूजस्तै गलत बाटोमा अघि बढिरहेका युवाहरूलाई सचेत गराउन चाहन्छन्। 

आफूले भोगेको पीडा, गुमाएको अमूल्य समय र परिवारलाई दिएको दुःखलाई जीवनको ठूलो पाठका रूपमा लिँदै उनी युवापुस्तामाझ लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने अभियानमा जुटिरहेका छन्।


धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...

करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…

कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…

पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...

सडकले हुर्काएको विकास...

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!