सिद्धार्थ बैंकको चरम लापरवाही: ‘डेट एक्सपायर’ एटीएमबाट यसरी निस्क्यो ३४ लाख रुपैयाँ 

Breaknlinks
Breaknlinks

असार १६ गते ‘डेट एक्सपायर’ भएको एटीएम कार्ड बोकेर बेलायती सेनाका सिपाही ५७ वर्षीय जगतबहादुर गुरुङ काठमाडौंको चावाहिलमा रहेको सिद्धार्थ बैंकको एटीएम बुथमा छिरे।

एटीएम कार्डको मिति सकिएको कुरा जगतलाई राम्रैसँग थाहा थियो। र, पनि उनी त्यो मिति सकिएको कार्ड लिएर पैसा झिक्न एटीएम छिरे।

जगतले त्यही मिति सकिएको एटीएमबाट सुरुमा ३० हजार रकम झिके। फेरि उनले अर्को पटक पनि उत्तिकै रकम झिके। र, लागे कालोपुलको आफ्नो कोठातिर।

फेरि भोलिपल्ट उनी रकम निकाल्ने त्यही ‘डेट एक्सपायर’ कार्ड लिएर एटीएम बुथ पसे। ‘डेट एक्सपायर’ कार्डबाट निर्वाध रकम भनेजति आउन थालेपछि उनको धन्दा नै भयो, एटीएम रित्तिनेगरी रकम निकाल्ने। 

उनले कालोपुलमै रहेको एटीएम बुथबाट धमाधम रकम निकाले। असार १६ देखि २० गतेसम्म उनले लगातार रकम झिकिरहे। 

उनले ४ दिनको अवधिमा ३४ लाख ३५ हजार रकम निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जगतले लगातार रकम झिक्न थालेपछि चावाहिल र कालोपुलको एटीएम बुथ नै दिनहुँ रित्तिन थाले। अनि बल्ल बंैकलाई शंका लाग्यो। 

शंका लागेपछि बैंकले सीसी टिभीका साथै बंैकको ‘ट्रान्जिक्शन’ हेर्यो। र, २० गते बैंकले प्रहरीलाई खबर गर्यो।  प्रहरीले खबर पाएको २ घण्टामै बेलायती सेनाका रिटाएर गुरुङलाई कालोपुल कोठाबाट पक्राउ गर्‍याे। 

काठमाडौं प्रहरीको टोलीले उनलाई कोठाबाटै पक्राउ गरेको हो। सोलुखुम्बुका गुरुङ केही वर्षयता नेपालमै बस्दै आएका थिए।

प्रहरीले त्यसरी एटीएमबाट निकालेको रकममध्ये २१ लाख त उनको कोठाबाटै बरामदसमेत गर्यो। १० लाख ५० हजार भने उनले चावाहिलको गोमा गणेश नामक सहकारीमा राखेको पाइएको छ। 

गलफ्रेन्डको नाममा रकम जम्मा  

गुरुङले एटीएमबाट निकालेको रकममध्ये १० लाख ५० हजार प्रेमिका सावीत्री गुरुङको नाममा राखे। 

प्रहरीका अनुसार उनी कालोपुलमै करिब २ वर्षदेखि ३० वर्षीया युवतीसँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए। 

‘डेट एक्सपायर’ कार्डबाट त्यति धेरै रकम निस्किएपछि जगतको भुँईमा खुट्टा नै भएन। त्यसैले उनले १० लाख ५० हजार प्रेमिकाको नाममा राखे। 
२–३ लाखको किनमेल गरे भने बाँकी पैसा उनले कोठामै थन्काएर ढुक्कले बसे। 

बैंकको चरम लापरवाही

४ दिनसम्म लागातार ‘डेट एक्सपायर’ भएको एटीएमबाट रकम निस्कदासमेत सिदार्थ बंैकलाई कुनै सुइको समेत भएन। 

एटीएम कार्डमा एक्कासी रकम सकिएपछि बैंकले बल्ल सिसीटीभी हेर्यो र झस्क्यो। त्यसपछि बल्ल प्रहरीलाई खबर गर्यो। डेट एक्सपायर भएको कार्डबाट यति धेरै रकम निस्कनू, त्यो पनि ४ दिनसम्म मेसो नपाउनू बैंकको सानो भूल हैन। 

तर बैंकले भने प्राविधिक समस्याको कारण देखाउँदै जगतले नियतवश त्यसो गरेको दावीसहित कारवाही गर्न प्रहरीमा जाहेरी दिएको छ। 

डेट एक्सपायर भएको थाहा थियो: गुरुङ

पक्राउ परेका जगतले कार्ड एक्सपायर भएको थाहा पाएको प्रहरीसँग स्वीकारेका छन्। 

एक्सपायर भएको थाहा पाएपछि त्यसलाई नवीकरण गर्न बेलायतको लोइड बैकलाई  ‘रिक्वेस्ट’ पठाएको बताएका छन्।

पक्राउ परेका जगत र सावीत्रीलाई काठमाडौं प्रहरीले थुनामा राखेर आवश्यक अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिङले बताए। 

प्रकाशित मिति: : 2021-07-05 18:33:00

प्रतिकृया दिनुहोस्