माधव नेपालले सपथ कार्यक्रममै पुगेर देउवालाई बधाई दिएपछि ओली रुष्ट, आज स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।

हिजो (मंगलबार) बस्ने भनिएको बैठक स्थगित भएको थियो। आज बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक मिति र समय तय गर्ने बताइएको छ।

त्यसो त एमाले एकता जोगाउन गठित कार्यदलले १० बुँदे सहमतिको मस्यौदा तयार पारे पनि निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष वरिष्ठ नेता माधव नेपाल पक्षसँग रुष्ट बनेको देखिएको छ।

सर्वोच्चले फैसला जारी गरेकै दिन नेता नेपालले विपक्षी गठबन्धनको बैठकमा आफूहरु गठबन्धनबाट बाहिरिने जानकारी गराएका थिए। तर उनले गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवासँगै हात बढाएपछि ओली पक्ष रुष्ट बनेको हो।

एकताको संघारमा पुगिसकेको एमाले विवाद फेरि बिग्रन थालेको छ। तत्कालको लागि दुई शीर्ष नेताहरु ओली र नेपालबीच संवादको वातावरण नभएको एमाले स्रोतले नै जानकारी दिएको छ।

सर्वोच्चको परमादेशमा संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। उनले राष्ट्रपतिबाट सपथ पनि लिइसकेका छन्। अब उनले ३० दिन भित्र संसदमा विश्वासको मत लिनुपर्छ।

स्रोतले दिएको जानकारी अनुसार नेपाल पक्ष देउवालाई विश्वासको मत दिलाउने प्रतिबद्धताका साथ अघि बढिरहेको छ। जसबाट ओली पक्ष रुष्ट बन्न पुगेको हो। देउवाले विश्वासको मत नपाए प्रतिनिधिसभा स्वतः विघटन हुनेछ र देश चुनावमा जानेछ।

ओली पक्ष एमाले एकता कायम गरेर नेपाल पक्षसँग मिल्न चाहन्छ। एकतामा बसेपछि नेपाल पक्षले देउवालाई विश्वासको मत दिन पाउने छैन। र देश चुनावमा जानेछ, जुन ओलीको चाहना पनि हो।

तर, नेपालले देउवाको सपथ कार्यक्रममै गएर सबैभन्दा पहिले हात मिलाउँदै बधाई दिएपछि संघारमा पुगेको एमाले एकता पनि केही बिथोलिएको छ।

प्रकाशित मिति: : 2021-07-14 09:49:00

प्रतिकृया दिनुहोस्