थाइल्याण्ड–बर्मा जोड्ने ‘मृत्यु रेल्वे’ जुन बनाउँदा ९० हजार बढी मजदुरको मृत्यु 

Photo - google/ Getty/ iStock

दोस्रो विश्वयुद्धताका थाइल्याण्डको वाङ–पोङ–माईदेखि बर्माको थानफ्यूज्यासम्म निर्माण गरिएको रेलमार्ग। थाइल्याण्ड–बर्मा रेलमार्ग रोचक र ‘क्रूर’ ढंगले निर्माण गरिएको थियो। 

‘मृत्यु रेल्वे’ उपनामले चिनिने यो मार्ग निर्माणका क्रममा मजदुरहरूले भोग्नुपरेको कठिनाइ सोच्न पनि सकिँदैन।

उक्त रेलमार्ग निर्माणका बेला जापानी शासकले हजारौँ युद्धबन्दीहरू र एसियाली नागरिकलाई बलजफ्ती काममा लगाएका थिए। रेलमार्ग निर्माणका क्रममा मृत्यु भएका ती हजारौँ श्रमजीवी सपूतहरू खप्नै नसक्ने दुःखका कारण मरेका हुन्। त्यसै कारण थाइल्याण्ड–बर्मा रेलमार्गलाई ‘मृत्यु रेल्वे’ भनिएको हो।

दोस्रो विश्वयुद्धमा पश्चिमी थाइल्याण्ड हुँदै बर्मासम्म हतियार सार्न र भारतमा राज गरिरहेको ब्रिटिश शासकविरूद्ध जुध्न जापानले यो रेलमार्गको परिकल्पना गरेको तथ्य कञ्चनबुरीको सङ्ग्रहालयमा उल्लिखित छ।

रेलमार्गको कथाः

दोस्रो विश्वयुद्धको क्रममा जापानी साम्राज्यले सिंगापुरदेखि बर्मा (म्यान्मार) सम्म एकछत्त राज चलाउथ्योँ।

हिन्द महासागर, अण्डमानदेखि बङ्गालको खाडीसम्म ब्रिटिश सुरक्षाफौज तैनाथपछि जापानले सुरक्षित स्थान बर्मा नै ठान्यो। त्यो बेला थाइल्याण्डको राजधानी बैंककदेखि हू हिन र दक्षिणी भेगसम्म रेलमार्ग बनिसकेको थियो।

जापानीहरूलाई पश्चिम हुँदै बर्मासम्म पुग्ने रेलमार्ग चाहियो। नभन्दै उनीहरू कञ्चनबुरी रेलमार्ग बनाउनतर्फ लागे।

थाइल्याण्डदेखि बर्मासम्म निर्माण गरिएको रेलमार्गको दूरी चार सय १५ किलोमीटर छ। सन् १९४२ ताका दुवैतर्फमा निर्माण कार्य थालिएको मार्ग १५ महिनाभित्रै सम्पन्न गरिएको थियो।

सन् १९४२ मा ६० हजार ब्रिटिश सेनाले सिङ्गापुरमा जापानसँग आत्मसमर्पण गरेका थिए। ती सेनालाई जापानी शासकले युद्धबन्दी बनाउँदै रेलमार्ग निर्माणमा लगाए।

मार्ग निर्माण गर्न कम्तिमा ती ६० हजार युद्धबन्दी र थाइल्याण्ड, चीन, इण्डोनेसिया, बर्मा, मलेसिया (तामिल) र सिंगापुरका एक लाख ८० हजार सर्वसाधारण जबरजस्ती खटाइयो। रेलमार्गका लागि काम गर्ने मानिस  अमानवीय ढंगले जबर्जस्ती यस क्षेत्रमा पुर्‍याइएको थियो।

जापानी सेनाको ‘क्रूर’ दमनका बीच उनीहरू रेलमार्गको कठिन काम गर्न बाध्य भएका थिए। जापानी शासकले युद्धबन्दी र मजदुरहरूमाथि स–साना कुराहरूमा कठोर कारबाही गर्थें।

मार्ग निर्माणका क्रममा कम्तिमा ९० हजारभन्दा बढी मजदुरले ज्यान गुमाए। जसमा हैजा, आउँ, भोकमरी, मलेरिया र थकानबाट १९ हजार कामदारको मृत्यु भएको तथ्याङ्क छ। त्यसै कारण पनि थाइल्याण्ड–बर्मा जोड्ने कञ्चनबुरी मार्गलाई ‘मृत्यु रेल्वे’ भनिन्छ।

क्वाई नदीमाथि कलात्मक पुल:

दोस्रो विश्वयुद्धको इतिहासबारे चासो राख्ने र घुमफिर गर्नेहरूका लागि कञ्चनबुरी, क्वाई नदीको पुल रोचक लाग्छ।

ऐतिहासिक पर्यटकीय नगरी कञ्चनबुरी, क्वाई नदीको तट, नाम–टोक, हिलफायर पास हुँदै बर्माको एप्लोन पुल, लोन्सीदेखि थानफ्यूज्यासम्मको ग्रामीण भेगका दृश्यहरू आश्चर्यजनक मानिन्छन्।

यस प्रान्तको सबैभन्दा प्रख्यात स्थल क्वाई नदी छेउको रेलमार्ग हो। यहाँ सबैभन्दा बढी पर्यटक र इतिहासका अध्येताहरू दोस्रो विश्वयुद्धताका निर्माण गरिएका संरचना र ‘मृत्यु रेल्वे’ को पत्यक्ष अध्ययन गर्न पुग्ने गरेका छन्।

जङ्गलवरिपरिका रहस्यमयी ठुल्ठूला गुफा, युद्धले जन्माएको कहालीलाग्दो कथा सुन्न र वातावरणसँग रमाउन थ्रुपै वाह्य तथा आन्तरिक पर्यटकहरू बाह्रैमास बैंककदेखि नाम–टोकसम्म पुग्छन्। 

छोटो मार्गको प्रयोग गरी क्षणभरमै बैंकक–कञ्चनबुरी घुम्न सकिन्छ। प्रायः विदेशी पर्यटक क्वाई नदीमाथि कलात्मक ढङ्गले निर्माण गरिएको ‘रेल्वे पुल’ अवलोकन गर्न गर्छन्।

क्वाई नदीमाथि विश्वयुद्धको चटारो र प्रविधिको अभावै–अभावका बीच भव्य पुल बनेको छ। पुल चौबीसै घण्टा खुल्ला नभए पनि रेल सेवा बन्द भएको बेला पुलमाथिको रेल्वेमार्गमै पुगी रमाउन मिल्छ। जहाँ पर्यटकलाई एक–एक गरी पालो दिन सुरक्षाकर्मी तैनाथ हुन्छन्।

‘मृत्यु रेल्वे’ को थुप्रै ठाउँहरू यस्ता छन्, जहाँ हजारौँ कामदारहरूलाई मृत्यु स्वीकार्न बाध्य पारिएका थिए। दोस्रो विश्वयुद्धताका तामझामका साथ बनाइएको ‘रेल्वे मार्ग’ पछिल्लो समय अध्ययन र अवलोकनका लागि प्रख्यात छ। 

कञ्चनबुरीबाट नाम–टोकसम्मको रेल यात्रामा पर्यकटहरू खूब रमाउँछन्। घना जङ्गल (ऐरावन राष्ट्रिय निकुञ्ज) बीच एकातर्फ क्वाई नदी, अर्कोतर्फ चट्टान छेउको डरलाग्दो र रहर लाग्दो यात्रा। जहाँ नदी किनारमा काठै–काठले बनाइएको ‘रेल्वे पुल’ छ। 

पर्यटकका लागि सबैभन्दा आर्कषक अर्को संरचना नामटोकस्थित क्वाई नदीमाथि बनेको काठे पुल हो। झट्ट हेर्दा यो कसरी बनाउन संभव भयो होलाझैँ लाग्छ। अत्यन्त कठिन लाग्छ यो संरचना निर्माण। तर, जापानी शासकको सत्तास्वार्थका लागि कठोर यातनाबीच युद्धबन्दी र मजदुरहरूले ज्यानै फालेर काम सम्पन्न गरेका थिए।

प्रकाशित मिति: : 2021-07-19 05:47:00

प्रतिकृया दिनुहोस्