मेयर-उपमेयरबीचकाे लफडा प्रकरणः मेयर सेजुवालकाे प्रश्न- 'केकाे लागि रोइलो भइरहेकाे छ ?' (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले मेयर र उपमेउरका आ-आफ्नै जिम्मेवारी भएकोले विवाद गर्नु पर्ने कुनै कारण नभएको बताएकी छन्।

आइतबार बिहान भएकाे पत्रकार भेटभाटका क्रममा आफूहरुबीच संस्थागत रुपमा केही मत-मतान्तर रहेपछि व्यक्तिगत रुपमा कुनै विवाद नभएको बताएकी हुन्।

'सबै मिलेर इतिहास रच्ने बेलामा किचलाे रहेकाे भन्ने खालका समाचार आउँदा म अचम्मित छु,' उनले भनिन्, 'नगरपालिका संस्कार र सभ्यता देखाउने् ठाउँ हाे। कहाँबाट कस्ता खालका अभिव्यक्ति आइरहेका छन्, त्यो मलाइ पनि थाहा छैन।'

उनले आफूलाई व्यक्तिगत रुपमा लगाइएका सबै आराेपहरु झुटा भएकाे बताएकी छन्। उनले सामान्य विषयमा विवाद भए पनि सहमति र छलफलका माध्यमबाट समाधानकाे उपाय खाेज्ने बताइन्।

'संस्थागत रुपमा देखिएका मत-मतान्तरमा नगरकार्यपालिका र सभामार्फत हल गर्न सकिन्छ। मेरो स्तरबाट कुनै विवाद देख्दिन। कहाँ विवाद छ? छलफल गरौँ। समाधानको उपाय खजाैं,' उनले भनिन्, 'नगरपालिकामा उठेको विषय संस्थागत र नीतिगत हाे। विकास निर्माणमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकता र हातेमालो गरेर अघि बढाैं।'

नगरप्रमुख सेजुवालले मेयर र उपमेयरबीचको विवादका विषयमा सत्यतथ्य बुझेर मात्र समाचार संकलन गर्न पत्रकारलाई आग्रह गरेकी छन्। उनले भनिन्, 'पत्रकार र पत्रिका कसैको मुखपत्र बन्नुहुन्न भन्ने मेराे बुझाई छ।'

शुक्रबार उपमेयर अप्सरादेवी न्याैपालेले पत्रकार सम्मेलन गरेर मेयर सेजुवालले कराेडाैंका आयाेजना नियमविपरीत सफ्टवेयरमा 'इन्ट्री' गराएकाे, आफूले याेजना अनुगमन नगरे पनि भुक्तानी दिएकाे, सार्वजनिक सुनुवाइ नगरिएको, नगरसभासमेत मनाेमानी ढंगबाट चलाएकाे  लगायतका आराेप लगाएकी थिइन्।

यता मेयर सेजुवालले भने बजेट, नीति तगा कार्यक्रम असार ३१ गते पारीत भइसकेको बताइन्। उनले उपमेयरले माग गरेजस्ताे बजेटका लागि विशेष नगरसभा बस्न नसकिने भन्दै बहुमतले पारीत गरेको बजेट सबैको लागि मान्य हुनेमा जोड दिइन्।

'नियम अनुसार असार १० गतेका दिन बोलाइएको नगरसभाको बैठकमा उपमेयरलगायतका नगरसभाका केही सदस्यहरु अनुपस्थित भएकाले असार ३१ गतेका दिन बहुमत सदस्यको उपस्थितमा नीति, कार्यक्रम र बजेट पारित गरिएको हाे,' उनले भनिन्, 'नगरसभाका कुल ५५ जना सदस्य रहेकाे मध्ये एक जनाको मृत्यु भइसकेको र दुइ जना जिल्ला समन्वय समितिमा गएको हुनाले बाँकी ५२ जना सदस्य छन्। जसमध्ये २९ जना सहभागि भएपछि  बजेट नीति तथा कार्यक्रम बहुमतले पारित भयाे।'

उपमेयरले नगरसभा हुन नदिनको लागि भाजो हालेको हुनाले नगरपालिकालाई अनिर्णयको बन्दी हुनबाट राेक्न बहुमत सदस्यको उपस्थितमा विधि पूर्वक नीति, कार्यक्रम र बजेट पास गरिएको उनले बताइन्। उनका अनुसार नगरपालिका भित्रका कर्मचारीहरु कामविहिन भएका थिए। उनीहरुलाई काम जरुरी थियाे।

मेयर सेजुवालले गएको पुस २ गतेकाे दिन नगर कार्यपालिकाले गरेको निर्णय सुनाउँदै पाँच लाख रुपैयाँसम्मका योजनाहरुको अनुगमन वडाध्यक्षबाट गराउने र त्यो भन्दा माथीका योजनाहरुको अनुगमन नगरपालिकाबाट गर्ने सहमति भएको बताइन्।

'सार्वजनिक सुनुवाई मेयरले गर्ने होइन। म सार्वजनिक सुनुवाई गर्नबाट भागेको होइन,' उनले भनिन्, 'यो काम कर्मचारीले गर्नुपर्छ। मैले कर्मचारीलाई सार्वजनिक सुनुवाई नगर्नको लागि रोकछेक गरेकाे हाे भने कारबाही भाेग्न तयार छु।'

नगरपालिकाका निमित्त प्रमुख प्रशासयिक अधिकृत क्षेत्रवहादुर बुढाथापाले सार्वजनिक सुनुवाई गर्ने विषयमा छलफल भइरहेको बताए।

'प्रमुख प्रशाकीय अधिकृत फेरबदलले गर्दा भनेकै समयमा सार्वजनिक सुनुवाई हुन सेकेकाे छैन,' उनले भने, ' 'नगरपालिका भित्रको आन्तरिक विवाद र किचलोले गर्दा समग्र नगरपालिकाको विकासमा अवरोध भएको छ। एकले अर्कालाई हिलो छ्याप्ने र दोषारोपण गर्ने कार्यले नगरपालिका हित भएको छैन।'

मेयर सेजुवालले आरोपको लागि आरोप लगाउनु उपयुक्त नभएको भन्दै केका लागि रोइलो भएकाे हाे, आफूलाई थाहा नभएकाे बताइन्। 'चित्त नबुझेको कुरा नगरसभामा आएर राख्नुपर्छ। नोटअफ डिसेन्ट लेख्न सकिन्छ। त्यो अधिकार सबैलाई छ। तर, नगरसभाका बहुमत सदस्यले गरेको निर्णय मान्दिन। नगरसभा भएको छैन। मनोपाेली भयाे लगायतका आराेपमा कुनै तुक छैन,' उनले भनिन्।

चन्दननाथ नगरपालिका वडा न. ५ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अर्जुनसिंह कठायतले नगरपालिकालाई व्यक्तिगत हिसाबले संचालन गर्न खोजिए स्वीकार्य नहुने बताए। उपमेरले योजना अनुगमन गर्दा आफू निकटकाहरुको समयमै अनुगमन गरि भुक्तानिका लागि पहल गरेको र आफूनिटक नभएकाहरुको योजना अनुगमन नगर्ने गरेको आरोप लगाए।

'जनप्रतिनिधि पूर्वाग्राहि हुन मिल्दैन। उपमेयरले योजना अनुगमनमा विभेद गर्नु भएको छ। उपमेयरको मन नलागेको योजनामा अनुगमन हुँदैन,' उनले भने, 'पत्रकार पनि पार्टीका मुख पत्र बनेका कारण सत्यतथ्य कुरा बाहिर नआइ सतही कुरा मात्र आएकाे हाे।'

नगरकार्यपालिकाले विकास निर्माणको रकममा मेयर र उपमेयरलाई ६०/४० को भाग लगाई दिनु गलत भएको कठायतले बताए। 'चुनाव जितेर आउनु भएका दुबै जनाले जनताका बीचमा गरेको बाचा पुरा गरुन भन्नको लागि नगरकार्यपालिकाको बैठकले ६०/४० को भाग लगाई दिएको हाे। तर त्यही अहिले आएर घाँडाे भएकाे छ,' उनले भने।

त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष जगदिस चौलागाईले मेयर र उपमेयरले गर्दा नगरपालिका अनिर्णयको बन्दि भएको बताए। 'बहुमत सदस्यले गरेको निर्णय अवैधानिक भयो। मान्दैन भन्नु कतिको जायज छ?,' उनले भने, 'यसमा चित्त दुखाई गर्नु पर्ने ठाउँ छैन्। केहि पत्रकारले व्यक्तिगत रुपमा रिसिबि साट्न खाेजेका छन्।'


मेयर र उपमेयरबीच लफडा: करोडौं रकमका नक्कली आयोजना 'इन्ट्री' गराइयाे

प्रकाशित मिति: : 2021-08-01 18:50:00

प्रतिकृया दिनुहोस्