रजस्वला बदलिँदो बहस

गोरखापत्र

राधा चालिसे

आज ऋषिपञ्चमी। तिथि अनुसार भाद्र शुक्ल पञ्चमी। हिन्दु धर्ममा आस्था र विश्वास राख्ने महिलाहरू विभिन्न स्थानमा रहेका सप्तऋषिका मन्दिरमा एक्लै वा समूहमा आबद्ध भएर अरुन्धतीसहित सप्तऋषिको पूजाअर्चना गर्दैछन्। यस दिन सप्तऋषिको पूजा गरेमा रजश्वला (महिनावारी) हुँदाको समयमा जानेर वा नजानेर भएका छुवाछूतको दोषबाट मुक्त हुन सकिन्छ भन्ने विश्वास रहिआएको छ। अर्को अर्थमा भन्दा महिनावारी हुँदा छुवाछूत गरेको पापकट्टीका रूपमा पनि यस पर्वलाई मनाउने गरिएको छ। यद्यपि यो पर्वलाई यतिमा मात्र सीमित नराखी चरित्रदेवीका रूपमा रहेकी अरुन्धतीबाट धेरै कुरा सिक्न सकिने यसका मर्मज्ञहरूको मत पनि छ।

सामान्यतया स्वस्थ बालिका १० वर्ष पुगेपछि कुनै पनि समयमा रजस्वला हुन्छिन्। बालिका १० देखि १५ वर्ष हुँदा पहिलो पटक रजस्वला हुनु स्वास्थ्यको दृष्टिकोणमा राम्रो मानिन्छ। अझ डा. सुषमा लामाका अनुसार त उमेर पुगेपछि गर्भधारण गर्न सक्षम भएको सङ्केत पनि हो यो। रजस्वला नै नहुने व्यक्तिले सन्तान उत्पादन गर्न वा वंश विस्तार गर्न सक्दैनन्। हो यही रजस्वलासँग जोडेर ऋषिपञ्चमी पर्व मनाइन्छ। यसबारे विभिन्न प्रसङ्ग पुराणहरूमा उल्लेख गरिएको पनि पाइन्छ। अहिलेको समयमा यस्ता विषयको पछि लाग्न नहुने भन्दै यसको विरोध गर्नेहरू पनि छन्।

रजस्वला हुनु पाप हो ?
‘महिला रजस्वला हुनु नितान्त प्राकृतिक विषय हो’, सहप्राध्यापक डा. प्रियम्वदा काफ्ले भन्नुहुन्छ, ‘महिला रजस्वला हुन्छिन् र त सन्तान उत्पादन गर्न सक्षम हुन्छिन्। वंश अगाडि बढाउन सक्छिन्। त्यसैले रजस्वला हुनु न त कुनै लाजमर्दो विषय हो न त कुनै पापको प्रसङ्ग हो।’ हिन्दु धर्मशास्त्रले रजस्वलाको चार दिन (कतै पाँच दिन, पश्चिम नेपालतिर सात दिनसम्म) महिलाले भातभान्छा छुन हुँदैन। पूजापाठ र धार्मिक कार्यमा सहभागी हुन हुँदैन । यज्ञोपवीत अर्थात् जनै धारण गरेका पुरुष दाजुभाइ, छोरा, पति वा अन्य कोहीलाई छुन हुँदैन भनेर बन्देज लगाएको छ। यो बन्देज विशेषगरी ब्राह्मण र क्षेत्री परिवारमा रहिआएको छ।

अझ नेपालका सुदूरपश्चिम क्षेत्रमा त महिनावारी भएको पाँचदेखि सात दिनसम्म घरदेखि पर छुट्टै वासस्थान बनाएर राख्ने चलन छ। जसलाई छाउपडी भनिन्छ । यस्तो अवस्थामा घरभित्र बस्न, बस्तुभाउ छुन मात्र होइन, नुन र दहीदूधजस्ता पोसिला खानेकुरा खानसमेत हुँदैन। यस्तो सामाजिक र पारिवारिक व्यवहारले महिलालाई सकारात्मक विभेदका साथै पीडित पनि बनाएको भन्दै त्यसको उन्मूलनका लागि पछिल्ला केही वर्षदेखि निकै ठूलो अभियान चल्दै आएको छ। चर्को टीकाटिप्पणी र विरोध पनि हुने गरेको हो।

प्रकाशित मिति: : 2021-09-11 15:24:00

प्रतिकृया दिनुहोस्