निर्भीकजंग रायमाझी
खरो र प्रष्ट वक्ता रेशम विरहीका पछिल्लो आठ महीनायता दुई पुस्तक प्रकाशित भए । गत मंसीरमा प्रकाशित ‘सत्ता र स्वप्नदोष’ निबन्धसंग्रह र वैशाखमा आएको ‘सातौं बादशाहको रातो कोट’ (लामो कविता) दुवैले राजनीतिक विसंगतिलाई निशाना बनाएका छन् ।
यसअघि विरहीका एक उपन्यास, एक निबन्ध संग्रह र कविताका ६ थान संग्रह प्रकाशित छन् । साहित्यसँगै उनी पाँच दशक पत्रकारितामा सक्रिय रहे । त्यसक्रममा समाजसँगको साक्षात्कारबाट प्राप्त अनुभव विरहीको सृजनाको मियो हो । उनी पाखण्ड र ढोंग विरुद्ध खरा छन्, आफ्ना कमजोरीहरू पनि स्वीकार्दै अग्रगमनको पक्ष लिन्छन् ।
जीवनका अधिकांश समय नेपालगञ्ज, चितवन र काठमाडौंमा बिताएका विरहीसँग उनका पछिल्ला कृतिहरूमाथि केन्द्रित रहेर गरिएको कुराकानी :
‘सातौं बादशाहको रातो कोट’ को मुख्य निशाना सत्ताधारीहरू नै हुन् ?
हो । सातौं भनेर अहिलेको सत्तालाई भन्न खोजेको हुँ । पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्मका मुख्य-मुख्य राजनीतिक परिवर्तनपछि बनेका सत्तामध्ये अहिलेको सातौं हो ।
नेपालको सत्ता जनताको पक्षमा कहिल्यै भएन । हामीले तानाशाह वा बादशाह जस्ता लाग्ने सत्ताधारीहरू मात्र पायौं । पृथ्वीनारायण शाहले नेपाल विस्तार गरे, तर त्यस अतिरिक्त जनताको लागि केही गरेनन् । उनीपछिको राणा शासन, बहुदल, पञ्चायत, फेरि बहुदल र २०६२/६३ पछिको सत्ताको मूल स्वरूप हेर्दा सबै बादशाह जस्तो लाग्छन् । यही कुरालाई प्रतीकात्मक ढंगले कविता मार्फत उठाएको हुँ ।