येँयाः अर्थात् इन्द्रजात्राको एकसाता

Breaknlinks
Breaknlinks

काठमाडाैँमा येँयाः अर्थात् इन्द्रजात्रा यंलाथ्व (भाद्र शुक्ल) द्वादशीदेखि आश्विन कृष्ण चर्तुर्थी आठ दिनसम्म काठमाडाैँ रुपमा मनाइने येँयाःलाई नेवाः समुदायको विशेष पहिचान भएको चाँडको रुपमा मानिंदै आएको छ। येँयाःमा नेवार समुदायले आ–आफ्ना घरमा समेबजि खाने र टोलछिमेकमा पनि समेबजि बाँड्ने चलन छ। येँयाःको बेला नेवाः समुदायको बस्तिमा विशेष गरेर गणेशको मन्दिर अगाडि कलात्मक रुपले समेबजि, मिठाई, फलफूल सजाएर प्रदर्शन गरिन्छ।

यो पर्वमा विशेषगरी गणेश र इन्द्र देवताको पूजा गरेर भजनकृतन गरिन्छ भने भैरव र कुमारीको पनि पूजा गरिन्छ। भजनकृतन सकेपछि भक्तजन र टोलका सबैमिलेर समेबजि बाँडेर रमाइलो गरी खाने परम्परा छ। यस दिन विशेष गरेर समेबजि दान दिनु भनेको पञ्चतत्व दान दिनु सरह मानिन्छ। त्यसैले इन्द्रजात्राको दिन पञ्चतत्वले निर्माण भएको शरीरमा पञ्चतत्व सन्तुलित गरेर राख्ने उद्देश्यले समेबजि खाने र अरुलाई पनि बाँड्ने गरिन्छ। टोलटोलमा र छिमेकमा गएर 'ला छकू वयेक समेबजि' अर्थात् (मासु एकटुक्रा आउने गरि समेबजि) भनेर लय मिलाएर देउसी र भैलो जस्तै समेबजि माग्न जाने चलन छ। समेबजि भन्नाले चिउरा, कालो भट्मास, अदुवा, बोडी, तोरीको साग, आलु, छ्वयेला, बारा, आदिको परिकार हो।

यो चाडको मुख्य आकर्षण भनेको काठमाडाैँको जिवित देवी कुमारीको रथ तानेर गरिने जात्रा हो। कुमारीको रथको अघि–अघि गणेश र भैरबको पनि रथ तानेर जात्रा गरिन्छ। कुमारीको रक्षकको रुपमा गणेश र भैरबको स्थापना गरेको भन्ने भनाई छ। येँयाः जात्राभरी टोलटोलमा समेबजिको साथै हाथु हायेकेगु भनेर भैरबको मूर्तिमा रक्सी र जाँड चढाइ प्रसादको रुपमा ग्रहण गरिन्छ। त्यस्तै गरेर घर घरमा दलूचा अर्थात् झ्यालबाहिर झुण्ड्याउने दियोमा पुजा गरिन्छ भने यसदिन विशेष गरेर स्वर्गका राजा देवराज इन्द्रलाई सहकालको देवताको रुपमा पुजा गरिन्छ। येँयाः जात्रालाई काठमाण्डाैँ उपत्यकाका विभिन्न शहरहरु, पाटन, भक्तपुर, थिमि, टोखा, हरिसिद्धिको साथै उपत्यका बाहिर सिक्किम र अमेरिकामा पनि धुमधामसँग मनाउँदै आएको छ। बैदेशिक रोजगारका लागि वा अरु विभिन्न कारणले नेपाल बाहिर रहेका नेवार समुदायबीच पनि यो चाँड उल्लासमय वातारवरणमा मनाउन थालिएको लामो समय भएको छैन।

इन्द्रजात्रा यंलाथ्व चर्तुदशीको दिनबाट सुरु भएपनि यंलाथ्व (भाद्र शुक्ल) द्वितियाको शुभसाइत अनुसार बिहान यःसिं अर्थात् इन्द्रध्वज ठड्याउनको लागि नालाको जंगलमा वन यात्रा जान्छन्। त्यस रात रुखको पूजा गरेर रुखलाई काटेर घाउ गरिन्छ भने भोलिपल्ट बिहान वृक्षकटान गरिन्छ। वृक्षकटान गरेपछि त्यहाँबाट तानेर भोटाहितिमा यःसिं राख्न ल्याइन्छ। भोटाहितिमा यःसिं राखेको चारदिनपछि काया अष्टमीका दिन विधिवत रुपमा यःसिं गाड्ने ठाउँमा राजपुरोहितले होम गरी पूजा गर्छन्। सार्दूलजंग गुल्म गुरुजु पल्टन र पन्चेबाजागाजासहित यःसिंलाई पूजा गरेर भोताहितिबाट हनुमान ढोकाको कालभैरब अगाडिसम्म तानेर ल्याइन्छ। ३२ हात लामो यःसिं हनुमान ढोकामा ल्याएर येँयाः जात्रा सुरु भयो भन्ने प्रमाणसहित साइत हेरेर यंलाथ्व द्वादशीको दिन यःसिं ठड्याइन्छ। यःसिं ठड्याएपछि गुरुजु पल्टनले तोप पनि पड्काउँछ। त्यसको तल हात्तिमा बसेको सुनको यःमाद्यः अर्थात् देवराज इन्द्रलाई राखि होम गरेर दिनदिनै विहान पूजा गरिन्छ। यस दिनदेखि येँयाः जात्रा धुमधामले मनाइन्छ। यसै दिन बौद्धधर्मालम्बीका भक्तजनहरुले भने दिवंगत भएका आफन्तको सम्झनामा 'उपाकू वनेगु' भनी धूपदिप, कपूर, पाला, दियोबत्ति बालेर दिवंगत आत्माको चीर शान्तिको लागि नामसंगीति स्तोत्र पाठ गरी नगर परिक्रमा गर्न जाने प्रचलन छ। त्यसैले यो चाँडलाई विशेष गरेर दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाउने चाँडको रुपमा पनि चिनिन्छ।

त्यही दिन बेलुकी हनुमानढोकामा विभिन्न देवदेवीहरुको नाच नचाइन्छ भने दशअवतार, दीप्याखं, लाखे नाच, मजिपा लाखे, कुम्हो नाच, भक्तपुरको माकः प्याखं, महांकाल नाच, हल्चोकको सवभक्कु भनेर चिनिने आकाशभैरव गण नाच, किलागलबाट पुलुकिसि नाच र दीप्याखं आदि देवदेवताहरुको नाच काठमाडाैँ ठाउँ–ठाउँमा नचाइन्छ। यःसिं ठड्याएको पर्सिपल्ट यंलाथ्व चर्तुदशीको दिन क्वःने अर्थात् शहरको तल्लो क्षेत्रतिरबाट कुमारीको रथ तान्छ। यही दिनलाई इन्द्रजात्रा भनेर भन्ने गरिएको छ, भने यसदिन मरुटोल अर्थात् बसन्तपुरबाट रथ तानेर काठमाडाैँकाे जैसीदेवल, ज्याबहाल, लगन, ब्रम्हटोल, कोहिटी, चिकंमुगल हुँदै भिमसेनथान लगायतका विभिन्न ठाउँको परिक्रममा पछि बसन्तपुरमै ल्याएर त्यसदिनको जात्रा टुंग्याइन्छ। यसदिन राष्ट्र प्रमुखले जात्रा अवलोकन गर्ने चलन छ।

त्यसको भोलिपल्ट थःने अर्थात् शहरको माथिल्लो क्षेत्रबाट कुमारीको रथ यात्रा गरिन्छ। त्यसदिन बसन्तपुरबाट रथजात्रा शुरु गरेर प्याफल, यट्खा, नरदेवी, थाय्मदु, भेडासिंग, असनबाट केलटोल इन्द्रचोक हुँदै बसन्तपुर पुगेपछि जात्रा सम्पन्न हुन्छ।  त्यसपछि सबभन्दा पछिको दिन यँलागा चौथी अर्थात् भाद्र कृष्ण चौथीको दिन नानीचायाः भनेर रथ मरुटोलबाट प्याफल हुँदै किलागलबाट इन्द्रचोकतिर तानेर जात्रा सम्पन्न गरिन्छ। यसरी रथ जात्रा गरिंदा रथको  अगाडि–अगाडि लाखे नाच र पुलकिसि नाच ल्याउँछ। त्यसपछि गणेशको रथ र भैरबको रथ तानेर ल्याउँछन् भने सबभन्दा पछि कुमारीको रथ तानेर ल्याउँछ। नानीचायाःको दिन बेलुकी यःसिं ढालेर येँयाः जात्रा सम्पन्न भएको घोषणा गरिन्छ। त्यसपछि इन्द्रध्वज अर्थात् यःसिंलाई टेकू दोभानमा लगेर बिसर्जन गरिन्छ।

वि.सं. १७४१ देखि येँया यंलागा तृतियासम्म मनाउने भनेर उल्लेख गरेको पाइन्छ भने प्राचीनकालमा चार दिनसम्म मनाइने यस चाँडलाई मध्यकालमा आठ दिनसम्म मनाउने गरेको पाइन्छ। मल्लकालको अन्तसम्ममा आइपुग्दा राजा जयप्रकाश मल्लले येँयाःको दिन कुमारीको रथ तान्ने परम्परा सुरु गरेको हो। कुमारीको रथ तान्ने परम्परा सुरु भएपछि यस चाँड अझ धुमधामले मनाउँन थालियो।

इन्द्रजात्राको बारेमा एउटा किम्बदन्ति यसप्रकार छः

स्वर्गका राजा देवराज इन्द्रको आमाले बसुन्धरा देवीको व्रत बस्नको लागि नभइनहुने पारिजातको फूल ल्याउन आज्ञा हुन्छ। आमाको आज्ञा शिरोपर गरी इन्द्र फूल खोज्न जान्छ। स्वर्गको सबै ठाउँमा पारिजतको फूल खोज्दा पनि नपाएपछि आखिर पृथ्वीलोकमा मात्र पारिजात फूल पाइन्छ भन्ने कुरा थाहा पाएर इन्द्र, पृथ्वीलोकमा आए। काठमाडाैँको मरु टोलको बगैंचामा पारिजात फूल फुलिरहेको देखेपछि इन्द्रले चुपचाप फूल टिप्न थाले। रातको समयमा इन्द्रलाई फूल टिप्दै गरेको बगैंचाको मालीले देखेपछि चोर भनेर समाति डोरीले बाँडेर राखेछन्।

धेरै समय बित्दा पनि आफ्नो छोरा इन्द्र नफर्केको देखेर आमाले कागलाई खबर लिन पठाएछ। काग पनि नफर्केपछि कुकुरलाई पठाएछ। कुकुर पनि नफर्केपछि इन्द्रको आमा आफै आएर छोरालाई खोज्न पृथ्वीलोकमा पुग्छन्। त्यहाँ आफ्नो छोरा इन्द्रलाई चोर भनेर डोरीले बाँधेर राखेको देखेपछि इन्द्रको आमाले छोरालाई मुक्त गर्न मालीलाई अनुरोध गरे। त्यसपछि यहाँका मानिसहरुले त्यसरी चोरको रुपमा बाँधेर राखेका मान्छे स्वर्गलोकका देवराज इन्द्र पो रहेछ भनेर थाहापाएपछि उनको राम्रोसँग पुजा गरेर बिदा गरेछन्। तर यहाँका मानिसहरु पनि स्वर्गमा जाने भनेर देवराज इन्द्र र उनका आमाको पछि–पछि लागे। यो देखेर इन्द्रले मरेपछिमात्र स्वर्गमा जान पाइन्छ जिउँदै जान नमिल्ने कुरा बताए। तैपनि यहाँका मानिसहरुले नछोडेपछि इन्द्रले कुहिरो छोडिदिएछन्। कुहिरोले गर्दा सबै ठाउँ धमिलो हुन थाल्यो। कुहिरोले गर्दा कहिंकतै केही नदेखेपछि मानिसहरुलाई छलेर इन्द्र र इन्द्रकी आमा मात्र स्वर्गतिर लाग्छन्। यही किम्बदन्तिलाई आधार मानेर इन्द्रजात्रामा इन्द्रलाई बाँधि राखेको मूर्तिहरु राख्ने गरिन्छ भने इन्द्रको बाहन एरावत सेतो हात्ति मानेर पुलुकिसि पनि ल्याउने चलन चलेको जनश्रुति छ। त्यही कुहिरोको कारण इन्द्रजात्राको भोलिपल्टदेखि जाडो महिना सुरु भयो भन्ने संकेतसहित कुहिरो आउने र असारमा रोपेको धान पनि पाक्ने जनविश्वास छ।

यंलाथ्व चतुर्दशीको दिन कुमारी रथ तानेर जात्रा गरेपछि मरुटोलको मरुफल्चाबाट दागीं निस्कन्छ। दागीं अर्थात् इन्द्रको आमाले इन्द्र स्वर्गमा नफर्केपछि इन्द्रलाई खोज्न आएको प्रतिक स्वरुप दुईजना मानिसले हात समातेर विशेष पहिरन र मुकुण्डो लगाएको दागींलाई कुमारी तान्ने बाटो भएर दागीं निकाल्ने चलन छ। दागींको अघि–अघि बाजागाजा धिमे भुस्या धुँन्या ल्याइन्छ भने दागींको पछि–पछि त्यसवर्ष दिवंगत भएका आफन्तहरु वा दिवंगत भएकालाई दागबत्ति दिएका छोराछोरी वा नजिकका नातेदारहरुले गुता बीवः अर्थात् नौथरिको अन्नहरु छर्दै परिक्रमा गर्ने चलन छ। यसरी दागीं पछि पछि जानको लागि विहान नुवाइधुवाई गरेर केही नखाइकन चोखिनुपर्ने नियम छ। यस्तो गरेमा दिवंगत आत्मा स्वर्गबास हुनुको साथै सुखावति भुवनको वास हुन्छ भन्ने धार्मिक विश्वास छ।

दागीं अर्थात् इन्द्रको आमाले छोरालाई खोज्न पृथ्वीलोकमा आए जस्तै ईन्द्रको बुबा पनि एक प्रकारको विशेष दियो बालेर आफ्नो छोरोलाई खोज्न आएको प्रतिकको रुपमा बौमत ल्याउने चलन पनि अद्यापि चलिरहेको छ। बौमत भनेर नागको प्रतिक स्वरुप लामो बाँस वा नर्कटमा गोबरको माथि दियो बालेर शहर परिक्रमा गराइने चलन छ। यसरी बौ अर्थात् बुबा र मतको अर्थ बत्ति वा दियो बुबाले बालेको दियो, भनेर बौमत ल्याउने चलन चलेको बताईन्छ। यस्तो गर्नुको कारण राति अँध्यारो हुनेभएकोले दियो बालेर इन्द्रको बुबाले इन्द्रलाई खोज्न आएको प्रतिक सरह बौमत ल्याएको भन्ने भनाई छ। दागीं र बौमत हेरेर यँकिदँ अर्थात् इन्द्रदहमा गएर पूजा गरेपछि मात्र यात्रापूर्ण हुन्छ भन्ने धार्मिक विश्वास छ। त्यसैले यसदिन राति इन्द्रदहमा जाने भक्तजनहरुको पनि घुँइचो लाग्छ।

प्रकाशित मिति: : 2021-09-23 13:20:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ