शुक्रबार, ११ सेप्टेम्बर २०२६

शंकरको प्रतिवेदनमा एमालेको हारको कारणः पैसावाला र गलत छवि भएकालाई टिकट

News Image
• • •

नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार पारेको छुट्टाछुट्टै प्रतिवेदन पेस भएको छ।

केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकमा संयोजक थापाले दुवै प्रतिवेदन पेस गरे।

कार्यदलका सदस्यसचिव रहेका पार्टी महासचिव शङ्कर पोखरेलले पार्टी पुनर्गठनबारे तल्लो तहका नेता एवं कार्यकर्ताहरूले दिएका सुझावलाई पनि छलफलको विषय बनाएका छन्।

कार्यदललाई बुझाइएको सुझाव प्रतिवेदनमा पार्टी पुनर्गठन, निर्वाचनमा पराजयका कारण, पार्टी सञ्चालनका समस्याजस्ता महत्त्वपूर्ण विषयहरूमा सबै प्रदेशहरूको करिब उस्तै मत पाइएको छ। जेनजी आन्दोलनलाई प्रतिगमन भन्नु तर २१ फागुनको निर्वाचनमा भाग लिनु नमिल्दो विषय भएको निष्कर्षमा सबैजसो प्रदेश सहमत छन्।

त्यस्तै पार्टी पुनर्गठनको पक्षमा मिश्रित मत आएको छ। अधिकांशले यथास्थितिमा पार्टी चल्न नसक्ने सुझावसहित अध्यक्ष केपी ओलीको सम्मानपूर्ण बहिर्गमन र नयाँ पुस्तालाई स्वागत गर्नुपर्ने सुझाव दिएका छन्।

बागमती प्रदेशले ओलीको बहिर्गमन हुनपर्ने र तत्काल आवश्यक नरहेको मिश्रित मत दिएको छ। मधेस प्रदेशले नेतृत्व परिवर्तन बारे स्पष्ट मत दिएको छैन। तर बाँकी सबै प्रदेशले ओलीले बिदा लिनुपर्ने सुझाव दिएका छन्। 

लुम्बिनी प्रदेशले भनेको छ, ‘अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत पदभन्दा पार्टीको दीर्घकालीन भविष्यलाई केन्द्रमा राखेर नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्दै अभिभावकीय वा संरक्षकको भूमिकामा रहनुपर्ने। साथै दोस्रो पुस्ताका नेताहरूले पनि नैतिक जिम्मेवारी लिन तयार हुनुपर्ने।’

ओलीकै गृह प्रदेश कोशीले पनि नैतिक जिम्मेवारी लिएर नेतृत्वले बिदा लिनुपर्ने सुझाव राखेको छ। प्रतिवेदनमा लेखिएको छ, ‘आवश्यक परे नेतृत्वले स्वयं जिम्मेवारी छाड्न/बिदा लिन तयार रहनुपर्ने भन्ने धारणा (केही सहभागीहरूको)।’

प्रतिवेदनमा निर्वाचनमा पराजयको कारणबारे पनि खुलाइएको छ। बागमती प्रदेशको समीक्षामा तल्ला कमिटी र कार्यकर्ताको सुझाव बेवास्ता गरी माथिबाट टिकट दिने प्रवृत्ति, जनताले नपत्याएका र पटक पटक अवसर पाएकाहरूलाई उम्मेदवार बनाउने प्रवृत्तिले पार्टी पराजय भएको निष्कर्ष निकालिएको छ।

त्यस्तै पैसावाला र गलत छवि भएकालाई टिकट बाँड्नु निर्वाचनमा पराजयको कारण भएको निष्कर्ष प्रतिवेदनमा समावेश छ।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!