राजादेखि मन्त्रीसम्म आशिर्वाद थाप्न पुग्ने डाेल्पाकाे त्रिपुरासुन्दरी अर्थात् मन्दिर जन्माउने मन्दिर [भिडियाेसहित]

रामचन्द्र न्यौपाने

त्रिपुराकोट(डोल्पा)

मन्दिरको चारैतिर होचो र समथर भू–भाग। चारैतिरबाट बगिरहेको स्वच्छ र विशाल नदी।

मध्य भागमा उठेको जमिन। त्यसैमा अडिएको विशाल संरचना। मन्दिरबाट तल हेर्दा आँखै घुमाउने डरलाग्दो भीर देखिन्छ। प्राचिन संरचनाको वरिपरी चार वटा विशाल ध्वजावाहक काठका लिङ्गा ठड्याईएका छन्।

यहाँबाट देखिने नागबेली आकारको ठूलो भेरी नदी, मन्दिरको पारीपट्टी देखिने हिँउले सिँगारिएका मुकुटेश्वर, कागमारालगायतका प्रसिद्ध हिमाल, आँखैमा टाँसीएजस्तो देखिने सोत्तर उम्रेका उराठ नाङ्गा डाँडापाखा। मन्दिरसँगै एउटा उब्जाउयोग्य विशाल फाँट जोडिएको छ। बतासको बेजोड वेगसँगै लहलह झुल्ने धानका बालाहरु देख्दा कसको पो मन नलोभिएला र ?

यस क्षेत्रमा मकै, गँहु, जौँ लगाएतका अन्नबालीहरु राम्रै उब्जाउ हुन्छन्। तर, पछिल्लो समय उब्जाउयोग्य जमिन मासेर यस क्षेत्रमा घरहरु बन्न थालेका छन्। रङ्गीचङ्गी जस्ताको पाताले छाएका घरहरु प्रशस्त रुपमा देख्न सकिन्छ। डोल्पाको त्रिपुरासुन्दरी मन्दिरको बाहिरी संरचना र यहाँबाट देखिने दृश्यहरु यस्तै यस्तै छन्। सुन्दर। लोभलाग्दा। आकर्षक र लालायीत। मन्दिरसम्म पुग्दा पर्यटकलाई लोभ्याउने विशेषताहरु पनि प्रशस्त छन्।

उक्त मन्दिरको आकार नेपालका प्रायःमन्दिरहरुभन्दा भिन्न शैलीकाे छ। मन्दिर अवस्थित रहेको भू–गोल अनौठो छ। मन्दिरबाट देखिने गाँउबस्ती, हिमाल, पहाड र नदीनालाको दृश्य पूजा आरधनापछि भक्तजनको मुख्य रोजाईमा पर्ने गरेको मन्दिरका पुजारीहरु बताउँछन्।

मन्दिरमा दर्शन गरिसकेपछि भक्तजनहरुलाई तस्बिर खिचाउन भ्याई नभ्याई हुने गरेको पुजारी निर्मल प्रसाद उपाध्यायले बताए। चारैतिर होचो भू–भाग र बिचको अग्लो टाकुरामा मन्दिर भएकाले त्यहाँबाट देखिने मनमोहक दृश्य अवलोकनकालागि मात्रै वर्षेनी हजारौँं भक्तजनहरु आउने गरेको उनको भनाई छ।

मन्दिरमा पूजाआजा गर्नेहरुको पनि दैनिक घुँईचो लाग्ने गर्दछ। मन्दिरको व्यवस्थापन सुधार हुँदै गएपछि पहिलेको भन्दा अहिले भक्तजनहरुको चाप बढ्न थालेको उनले बताए। नेपाल मात्र नभई भारतमा समेत प्रसिद्ध उक्त मन्दिर ठूलो शक्तिपिठको रुपमा चिनिन्छ। उक्त मन्दिर निर्माणकालागि भारत सरकारले समेत तीन करोड ३३ लाख सहयोग गरेको थियो ।

त्रिपुरासुन्दरी मन्दिर पूजाआजाकोलागि मात्रै नभई र मन्दिरबाट देखिने अनौठो मनमोहक दृष्य अवलोकनकालागि पनि प्रसिद्ध छ। मन्दिर पुग्ने भक्तजनहरु आफ्ना फोटोको पछाडि नागबेली आकारको ठूलोभेरी नदी, हिँउले सेताम्य हिमाल, समथर फाँट अनि विशाल तथा नाङ्गा डाँडाकाँडालाई क्यामेरामा कैद गर्न आतुर हुन्छन्।

अझ नयाँ वर्ष, दशैँ, तिहारलगायतका विशेष चाडपर्वहरुमा त फोटो खिच्नसमेत पालो पर्खनु पर्दछ।

प्राचिन शैलीमा निमार्ण गरिएको उक्त मन्दिर देशका प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ ब्यक्तित्वहरुको प्रमुख गन्तब्य स्थल बन्न थालेको छ। पछिल्लो एक वर्षयता मात्रै त्रिपुरा सुन्दरीमा नेपाली सेनाको प्रमुख, राजदूतदेखि प्रधानमन्त्रीसम्मले दर्शन गरिसकेका छन्। पञ्चायत कालमा पनि राजाहरु दर्शनकालागि यहाँ आउने गरेको स्थानीय ज्येष्ठ नागरिकहरु बताउँछन्।

पूर्वराजा महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्रदेखि गुरु शंकराचार्य, पुरीनाथ बाबालगायतका प्रसिद्ध साधु तथा महाजनहरुको प्रमुख रोजाई बन्न पुगेको छ, त्रिपुरा सुन्दरी मन्दिर। दुर्गम तथा विकट जिल्लामा अवस्थित ठूलो शक्तिपिठ भएकाले अझ यसको महत्व दुनियाँले थाहा पाउन नसकेको पुजारी रबी प्रसाद न्यौपानेले बताए।

'यस मन्दिर नेपालमै त्रिपुरासुन्दरी देवीका मन्दिरहरुमध्ये प्रमुख शक्तिपिठ हो, त्रिपुरासुन्दरी देवीहरुको उत्पतिस्थल, सती देवीको कन्ड्याउलो पतन भएको ठाँउ र दशमहाविद्यासमेत उत्पति भएकाले यस मन्दिरको महत्व अनौँठो छ', उनले भने।

उचित प्रचारप्रसार हुन नसक्दा धार्मिक तथा पर्यटकीय सम्भावना बोकेर पनि यस मन्दिर ओझेलमा परेको छ। मन्दिरको तलपट्टि खाली समथर जमिन भएकाले प्रायशः भिआईपीहरु हेलिकोप्टरमा आएर त्रिपुरासुन्दरी देवीको पूजाआजा गर्ने गर्दछन्। गत चैत्र ३० गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्रिपुरा सुन्दरीमा पुजाआजा गरे। त्रिपुरा सुन्दरी मन्दिरमा पहिलो पटक वहालवाला प्रधानमन्त्रीको रुपमा ओलीले त्रिपुरासुन्दरी मन्दिरमा पुगेर पूजाआजा गरेको पुजारीहरुले जानकारी दिए।

ठूला व्यक्तित्वहरुले दर्शन गर्दा मन्दिरको प्रचारप्रसारमा सघाउ पुग्ने पुजारीहरुको विश्वास छ। त्यस्तै, गत चैत्र २९ मा पनि तीन भारतीय पूर्व राजदूतहरुले पनि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन गरेका थिए। पन्ध्रदिने डोल्पा पदयात्रा बनाएका नेपालकालागि भारतीय पूर्व राजदूतहरुले पहिलो गन्तब्य त्रिपुरासुन्दरी बनाएका थिए।

पूर्व राजदूत रणजीत राय, श्यामसरण, देव मुखर्जीसमेत डोल्पा पुगेका थिए।

डोल्पासम्म पुग्ने हवाई र सडक यातायातको विकास भए मात्र पनि डोल्पाले धार्मिक पर्यटन विकासमा फड्को मार्ने राजदूतहरुले टिप्पणी गरेका थिए।

यस्तो छ त्रिपुरा सुन्दरी मन्दिरको इतिहास

इ.सं १११४ सालमा स्थापना भएको बताइने यस मन्दिर भौगोलिक रुपमा पनि पृथक छ। यस मन्दिरको पश्चिममा ताम्राबणि नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरबि गंगालगायतका प्रसिद्ध तिर्थस्थलहरु रहेका छन् भने बिचको टाकुरामा यस मन्दिर अवस्थित छ। परापूर्वकालमा डोल्पाको त्रिपुराकोट गा.बि.स.को कोटगढीमा बिक्रम शाही महाराजको दरबार थियो। शाहीले यसै कोटगढीका १४ घर बिष्टलाई आफ्ना काजीका रुपमा राखेका थिए।

अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो। त्यस दरबार नजिकै एउटा धान कुटने ओखल पनि थियो। ओखलमा धान कुटने गरिन्थ्यो। धान कुट्दै जाँदा एकाएक यस ओखलमा अनौठा क्रियाकलापहरु देखिन थाले। धान कुट्न जाँदा कहिले चार पाथी धान कुट्दा आठ पाथी चामल हुने र कहिले दुई पाथी धान कुट्दा दुई माना चामल हुने गर्दथ्यो। यस्ता अचम्मका संयोगहरु देखिन थालेपछि यो कुरा मन्त्री बिष्टका कजेनीहरुले आफ्ना काजी बिष्टहरुलाई बताए। काजीहरुले यो कुरा थाहा पाएपछि आफना राजा बिक्रम शाहीलाई सुनाए।

शाहिले यस्तो अचम्मको कुरा थाहा पाएपछि तत्काल आफ्ना प्रजाहरुलाई बोलाएर यो ओखल उत्खनन् गर्ने सल्लाह गरे। ओखलको मुनी के रहेछ भन्ने अनौठो कुरा हेर्न राजा र प्रजा आतुर देखिन्थे। सल्लाह भए अनुसार भोलिपल्ट बिहानैदेखि सबै गाँउलेहरु बोलाएर त्यो ओखल उत्खनन गर्न लगाइयो।

ओखल उत्खनन् लागि सयौँ मान्छेहरु लगाईयो। उत्खननको काम बिहानैबाट सुरु गरेर बेलुकीसम्म पनि सकिएन। सबै थाकेका थिए। बाँकी रहेको काम भोली पुरागर्ने शर्तमा सम्पूर्ण टोली घर फर्किए।

भोली बिहानै सबेरै सबैजना बाँकी रहेको ओखल उत्खनन गर्न जाँदा त फेरि ओखल जस्ताको त्यस्तै देखियो। मानौ, त्यहाँ केही गरिएकै थिएन।

यो कुरा राजाले थाहा पाएपछि विभिन्न गाँउबस्तीहरुबाट हजारौँ मान्छे बोलाएर रातदिन लगाएर ओखल उत्खनन गर्न लगाए। लगातार दुई दिनसम्म काम गर्दा त्यो ओखल उत्खनन भयो। त्यो अचम्मको ओखलभित्र अनौँठा दृष्यहरु देखिए। ओखल तलपट्टी तामाको ओेदानमाथि घ्यूको कराईमाथि तामाको थालीमाथि षट्कोण यन्त्र र त्यसमाथि पनि कुँडेस र त्यसभित्र नवदुर्गा भगवतीका नौ बहिनीका स्वरुपहरु देखिए। खन्दैगर्दा बाउसोको टुपो तामाको षट्कोणलिखित यन्त्रमा लाग्यो। खन्ने काजी बेहोस भए। पुतलीरुपी देवीहरु उडेर विभिन्न ठाँउमा बिराजमान भए।

देवीको रुप लिएका पुततीहरु बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडिको रणसैनी त्रिपुरेश्री, बाजुराको बडीमालिकालागायतका नामले प्रसिद्ध छन्। बाँकी चार बहिनी देवी बाला, त्रिपुरा, सुन्दरी, डोल्पाको त्रिपुरासुन्दरीमा बिराजमान छन्। बिराजमान चारवटा देवी महाकाली, महालक्ष्मि, महा सरस्वतिका नामले डोल्पामा प्रसिद्ध छन्।

त्रिपुरासुन्दरीबाट पुतलीको रुपमा उडेका देवीहरु देशका विभिन्न ठाँउमा रहेका मन्दिरमा स्थापना भए। यसैबीच त्रिपुरासुन्दरीलाई मन्दिर जन्माउने मन्दिरको रुपमा पनि चिनिन्छ। परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरीका पुजारीले पूजाआजा गर्दै आएका छन्।

बहादुर शाहको टोली चकित

नेपालका बाइसे चौबिसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाको शहरतार गाँउ पुग्यो। डोल्पाको नौ राज्य एकीकरण गर्न आउँदा डोल्पाको सहरतारा गा.बि.स.को बाँदर फडका भन्ने खोलामा पुल आईपुग्यो। त्यहाँ एउटा खोला थियो। खोलामा पुल थिएन। असार श्रावणको बर्षातले खोलाको पानी बढेर तर्नै नसकिने थियो।

खोला तर्न नसक्दा बहादुर शाहको टोली खोलावारी नै रोकियो। डोल्पामा भएका नौ वटा टुक्रेराज्य एकीकरण गर्ने उक्त टोलीको लक्ष्य थियो। खोलामा पुल लगाएर पार गर्ने बहादुर शाहको टोलीले लक्ष्य बनायो। लक्ष्य अनुरुप काठहरु जम्मा गरेर पुल लगाउन तयार भयो शाहको टोली। तर खोलमा कसैगरी पुल लाग्न सकेन। अन्ततः मुस्ताङ हुँदै डोल्पा पुगेको बहादुर शाहको टोली एकीकरण नगरेर नै फर्किने निश्चित भयो। बहादुर शाहको टोलीले धार्मिक विश्वास खोतल्न थाल्यो।

त्यहाँका स्थानीयसँग तपाईहरुले कुन देवता मान्नुहुन्छ भनेर सोधे।

स्थानीयहरुले त्रिपुराकोट भन्ने ठाँउमा त्रिपुरासुन्दरी देवी रहँदै आएको र आफूहरुले पनि उनलाई पूजा गर्दै आएको बताए। त्यसपछि बहादुर शाहले पनि पुल लागाउन र आफ्नो एकीकरण सफल होस् भन्दै देवीको प्राथना गरे। उनले भनेका थिए, हे भगवती यो खोलामा पुल लागोस्, हाम्रो डोल्पा एकीकरणको काम सफल होस्। हामी हजुरलाई यस ठाँउमा पर्ने खानी र बैजिबाडा गाँउ त्रिपुरासुन्दरीको गुठिका रुपमा चढायौँ। त्यसपछि, साँच्चिकै पुल लागेको पुरानो विश्वास छ।

खानी र बैजीवाडा गाँउ नयाँ संरचना अनुसार काईके गाँउपालिकामा पर्दछन्। सतीदेवीको अङ्ग पतन भएको ठाँउ त्रिपुरासुन्दरी। यस मन्दिरमा सत्य युगमा श्री महादेवले हिमालय पर्वतकी पुत्री सत्यदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा सती देवीको कन्डयालो (ढाड) पतन भएको कुरा हिन्दुहरुको प्रशिद्ध धर्मग्रन्थ श्री स्वस्थानीमा उल्लेख गरीएको छ। त्यसैले यस पवित्र भूमिलाई नेपालकै प्रशिद्ध शक्ति पिठको रुपमा मान्ने गरिन्छ।

यस मन्दिरको महत्वलाई हिन्दु धर्मका विभिन्न धर्मग्रन्थमा उल्लेख गरीएको र यदि जो कसैले यस मन्दिरमा आएर दर्शनमात्र गरे भुक्ति र मुक्ति मिल्ने पुजारी देवी कृष्ण उपाध्यायले बताए।

उनले आफू अहिलेसम्म घुमेका मन्दिरहरुमध्ये यस मन्दिरको भौगोलिक अवस्था पृथक रहेको र यस मन्दिरमा भाकल गरेको सम्पुर्ण कुरा पुग्ने भएकाले देशका उच्च पदस्थ ब्यक्तित्वहरु पूजाआजाको लागि आउने गरेको बताए।

यस मन्दिरमा सत्य देवीको कन्डयाउलो पतन हुँदाको बखतमा यस स्थानमा बर्षाका देवता मेघ बर्षा आएर विभिन्न आरधना गरेर देवीकोे पूजाआजा गरेकाले इश्वरी प्रसन्न भएर यस क्षेत्रमा महा खडेरी परेकोबेला पानी पार्न सफल होस् भनि बरदान दिएकाले यस क्षेत्रमा महाखडेरी परेपछि सम्पूर्ण गाँउबासी आएर पूजाआजा गरे पानी पर्ने जनविश्वास रहेको छ। यसै बखतमा भैरबेश्वर महादेब पनि उत्पति भएको मन्दिर पनि यहाँ रहेको छ।डोल्पामा खडेरी परेको बेला सम्पूर्ण गाँउबासी आएर विधिविधानका साथ पूजाआजा गरे पानी पर्ने डोल्पालीको विश्वास छ।

डोल्पा जानको लागि नेपालगञ्ज विमानस्थलबाट जुफाल विमानस्थलका लागि जहाज चढ्न सकिन्छ। त्यस्तै पैदल यात्राबाट पनि डोल्पा पुग्न सकिन्छ।

प्रकाशित मिति: : 2021-10-17 15:00:00

प्रतिकृया दिनुहोस्

    व्यापक प्रचारप्रसार हुनुपर्छ । सबै खाले पत्रपत्रिकामा पुर्याउनुपर्छ।

    • 2 बर्ष अगाडि
    • राज कुमार के.सी.