पर्यटकले भरिभराउ बन्दिपुर (तस्वीरहरू)

तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छन्। दसैँ बिदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँ सञ्चालित होटल भरिभराउ भएको हो।

कोरोना कहरका कारण प्रभावित भएका यहाँका होटल व्यवसायी आन्तरिक पर्यटकको चहलपहल बढेपछि आशावादी देखिएका छन्। कोरोना कहरका कारण दुई वर्षदेखि बन्दिपुरको पर्यटन प्रभावित भएको थियो। दसैँको फूलपातीदेखि बन्दिपुरमा आन्तरिक पर्यटनमा वृद्धि भएको बन्दिपुर पर्यटन विकास समितिका सचिव बसन्त पौडेलले जानकारी दिए।

'दसैँ बिदाका कारण बन्दिपुरमा यतिबेला आन्तरिक पर्यटकको भीडभाड छ,' उनले भने,'होटल पनि भरिभराउ छन्।' कोरोनाका कारण सुस्ताएको बन्दिपुरको होटल व्यवसायीमा अहिले आशा पलाएको पौडेलले बताए। 'दुई वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ,' उनले भने, 'यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ।' उनका अनुसार फूलपातीको दिनदेखि दैनिक सयाैँ पर्यटक बन्दिपुर आएका छन्।

बन्दिपुरका होटल व्यवसायीले छुट प्याकेजसमेत ल्याउने तयारी गरेका छन्। बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी छ। बटन्दीपुरमा होटल सङ्घसँग आवद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन्। ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन्।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ। भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ।

कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। १८औँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए। बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ। बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ।

प्रकाशित मिति: : 2021-10-19 13:18:00

प्रतिकृया दिनुहोस्