
श्याम राना मगर
राजीव गुरुङ उर्फ दीपक मनाङे प्रायः चर्चा नै रूचाउँछन्। उनी अहिले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत हुन्। उटपट्याङ अभिव्यक्ति दिएर आम–सञ्चारमाध्यममा छाइरहन्छन्, मनाङे।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्न ‘गेम चेञ्जर’को भुमिका खेलेका उनलाई गुण्डागर्दी गरेर अकुत सम्पत्ति कमाएको पनि बेलाबेला आरोप लाग्छ। मनाङेले ०७० सालमा सम्पत्ति शुद्धिकरणको मुद्दासमेत खेपिसकेका छन्। यद्यपि, उनी भने आफ्नो नाममा सम्पत्ति त के, उल्टै डेढ करोड ऋण देखाउँछन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा मन्त्री मनाङेले डेढ करोड रुपैयाँ ऋणमा रहेको विवरण पेश गरेका छन्। जेठ २९ मा गठबन्धन सरकारबाट मन्त्री बनेका मनाङेले मन्त्री बनेको झण्डै ४ महिनापछि सम्पत्ति विवरण पेश गरेका हुन्।
मन्त्री पदको शपथ लिएको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान रहे पनि उनले झण्डै ४ महिना लगाएर सम्पत्ति विवरण बुझाएका छन्।
सम्पत्ति विवरण बुझाउन किन ढलाई? एक कार्यक्रममा पत्रकारहरुले राखेको प्रश्नमा मनाङेले सम्पत्ति के–कति छ, त्यो आफूलाई थाहै नभएको बताएका थिए। त्यतिबेला केटाहरुलाई सापटी दिएको र आउन बाँकी रहेकाले यति सम्पत्ति छ भनेर खोज्न समय लागेको समेत बताउर्थे।
मनाङेले लिएको ६ करोड १० लाख ऋण मध्ये ४ करोड ७० लाख चुक्ता गरिसकेका छन्। ७३ सालमा कर्म गुरुङसँग ४० लाख रुपैयाँ ऋण लिएको मनाङेले बुझाएको विवरणमा उल्लेख छ। यसैगरी रमेश रानासँग ७७ सालमा ४० लाख रुपैयाँ, मनाङ फलफूल सप्लायर्ससँग ०७३ सालमा ६० लाख ऋण लिएको मनाङेले सम्पति विवरणमा उल्लेख छ।
टीका भण्डारीसँग दुई करोड ३५ लाख रुपैयाँ ऋण लिएर ७१ सालमा तिरेको र ०७२ सालमा टासी गुरुङसँग २ करोड ३५ लाख रुपैयाँ ऋण लिएर चुक्ता गरेको विवरण मनाङेले उल्लेख गरेका छन्। विवरणअनुसार मनाङे १ करोड ४० लाख रुपैयाँ ऋणमा देखिएका छन्।
उनले अर्कैको नाममा जग्गा र आफू ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन्। अर्को व्यक्तिको नाममा बैनापट्टा गरेको संयुक्त लगानीमा जग्गा र कृषि फर्म रहेको विवरण उनले बुझाएका हुन्। प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं २९ धर्मस्थलीमा कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन्। प्रतिआना जग्गा ९ लाख रुपैयाँमा किनेको उल्लेख छ।
मालती महातारासँग संयुक्त लगानीमा चन्द्रागिरी–२ मा ३ रोपनी जग्गा रहेको विवरणमा छ। पदमपोखरी मकवानपुरमा उक रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको विवरणमा छ।
०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेले बताएका छन्। २०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट सुन प्राप्ति गरेको मनाङेले सम्पत्ति स्रोतमा उल्लेख गरेका छन्।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश–सरकारले सङ्कट खेपिरहेका बखत दुई–दुईपटक मन्त्री बनेका उनी कांग्रेस–माओवादी–समाजवादी–एकीकृत समाजवादी गठबन्धन बनाउन मुख्य भुमिका खेल्ने मध्ये एक हुन्। मनाङबाट स्वतन्त्र सांसदका रुपमा प्रदेश सभामा निर्वाचित मनाङेलाई आफ्नो पक्षमा लिन सत्तापक्ष र प्रतिपक्ष दुवैले जोड लगाएका थिए। अन्ततः उनी बाम–लोकतान्त्रिक धारमै उभिए।
गत भदौ ९ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ९ जना मन्त्रीले सम्पत्ति विवरण बुझाए पनि बुझाएका थिएनन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा कोरोना संक्रमण भएकाले सम्पत्ति विवरण बुझाउन सकेनन्। उनले मुख्यमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाउँदै आफ्नो नाममा सहकारीमा जम्मा १० हजार रुपैयाँ बचत रहेको देखाएका छन्। बागलुङबाट निर्वाचित उनले ताराखोला ५ मा पैतृक सम्पत्ति रहे पनि कति भने खुलाएका छैनन्।
अब नवनियुक्त बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले सम्पत्ति विवरण भने अहिलेसम्म बुझाएका छैनन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया